काठमाडौँ, बिहीबार, २४ पौष २०८२ । नेपाल टेलिकमले जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ताका लागि अनलाइनमार्फत ग्राहक विवरण (केवाईसी) अपडेट गर्ने कार्यको परीक्षण सुरु गरेको छ । कम्पनीले सुन्धारास्थित दूरसञ्चार कार्यालयबाट क्यूआर कोड स्क्यान गरी केवाईसी अपडेट गर्न सकिने सेवाको परीक्षण थालेको हो ।
टेलिकमका प्रमुख व्यावसायिक अधिकृत गंगा सागर मातन्छे र बागमती प्रदेशका निर्देशक इन्दल यादवले यो सेवाको संयुक्त रूपमा उद्घाटन गरे । योसँगै ग्राहकले आफ्नो नाम वा अन्य विवरण सच्याउनु परेमा कार्यालयमा उपलब्ध क्यूआर कोड स्क्यान गरी डिजिटल माध्यमबाटै फारम भर्न सक्नेछन् ।
प्रमुख व्यावसायिक अधिकृत मातन्छेले यो सुविधाले टेलिकमको सेवालाई थप ग्राहकमैत्री बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने धारणा राखे । त्यस्तै, बागमती प्रदेशका निर्देशक यादवले प्रविधिको प्रयोगबाट थोरै समयमा धेरै काम सम्पन्न भई कम्पनीको उत्पादकत्व बढ्ने विश्वास लिए ।
दूरसञ्चार कार्यालय सुन्धाराका प्रमुख निर्मल चटौतका अनुसार यस प्रणालीले डिजिटल रूपान्तरण र पेपरलेस कार्यलाई सघाउ पुर्याउनुका साथै डेटा अद्यावधिक गर्ने कार्यलाई छिटो छरितो बनाउनेछ । ग्राहकले क्यूआर कोडमार्फत भरेको विवरणलाई टेलिकमको सिस्टमले प्रमाणित गरेपछि स्वतः अद्यावधिक हुने व्यवस्था मिलाइएको छ ।
सुन्धारा कार्यालयमा गरिएको परीक्षण सफल भएपछि क्रमशः काठमाडौँ उपत्यका र देशभरका अन्य कार्यालयमा विस्तार गरिने टेलिकमले जनाएको छ । कम्पनीका अनुसार निकट भविष्यमै नेपाल टेलिकमको आधिकारिक वेबसाइट र मोबाइल एपमार्फत समेत घरमै बसेर केवाईसी अपडेट गर्न सकिने व्यवस्था गर्ने तयारी भइरहेको छ ।









