गोरखा, मंगलबार, २९ पौष २०८२ । गोरखाको सिरानचोक गाउँपालिकाको आयोजनामा न्यायिक समितिका पदाधिकारी तथा मेलमिलापकर्ताहरुका लागि लेखन सीप सम्बन्धी तालिम प्रदान गरिएको छ । तालिममा गाउँस्तरमा देखिने विवादहरु घरेलु झैँझगडा, जग्गा–जमिन र सिमाना विवाद, लेनदेन, सामाजिक तथा पारिवारिक मतभेदलगायतको समाधान प्रक्रियामा लेखन, सहमति निर्माण र निर्णय अभिलेखीकरण बिषयमा सहभागीहरुलाई प्रशिक्षण प्रदान गरिएको हो ।
तालिमका क्रममा विवादका पक्षहरूबीच विश्वास निर्माण गर्ने तरिका, सहमतिको भाषा र संरचना, सहमति लेखनका आधारभूत सीपबारे सहभागीलाई जानकारी गराइएको न्यायिक समितिका सदस्य एवं सिरानचोक गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष जगदिश्वर ढकालले जानकारी दिनुभयो । मेलमिलापकर्ताले कुनै पनि पक्षप्रति पूर्वाग्रह नराख्ने, कानुन विपरीतका निर्णय नगर्ने, दबाब वा प्रभावमा नपर्ने र विवादलाई शान्तिपूर्ण ढंगले समाधान गर्ने बिषयलाई तालिममा विशेष जोड दिइएको उहाँले बताउनुभयो ।
साथै हिंसा, आपराधिक गतिविधि तथा गम्भीर कानुनी मुद्दा मेलमिलापको दायराभित्र नपर्ने भएकाले त्यस्ता विषय सम्बन्धित निकायमा पठाउनुपर्नेबारे पनि तालिममा जानकारी गरिएको हो । तालिमबाट मेलमिलापकर्ताको क्षमता अभिवृद्धि भई गाउँपालिकामा देखिने विवाद समाधान प्रक्रिया थप व्यवस्थित र प्रभावकारी बन्ने अपेक्षा गरिएको छ ।
मेलमिलापकर्ताले आफ्नो भूमिकामा रहँदा गर्न हुने र नहुने व्यवहारबारे स्पष्ट हुनुपर्ने र गोपनीयता कायम गर्नुपर्ने बिषय समेत तालिममा जानकारी गराइएको उहाँको भनाई छ । आइतबार र सोमबार सञ्चालन भएको तालिममा गाउँपालिका न्यायिक समिति संयोजक रिता देवकोटाले यस्ता विवादको प्रकृति बुझेर निरुपण गर्ने सीप अत्यावश्यक रहेको बताउनुभयो । उहाँले गाउँमा शान्ति, सद्भाव र न्याय स्थापना गर्न मेलमिलापकर्ताको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।
उहाँले यस्ता तालिमले न्यायिक समितिको कामलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गर्दै सिकेका सीप व्यवहारमा उतारेर स्थानीय तहमा आउने विवाद छिटो, सहज र न्यायोचित रूपमा समाधान गर्न सबैलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा सिरानचोक गाउँपालिकाका न्यायिक सहजकर्ता तथा अधिवक्ता रजनी गजुरेलले न्यायिक समितिका लागि लेखन सीपसम्बन्धी सहजीकरण गर्नुभएको थियो । सीप लेखन तालिम समापन कार्यक्रम गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।









