गोरखा, बुधबार, ३० पौष २०८२ । गोरखाको भिमसेनथापा गाउँपालिकाको गाउँसभाको १७ औँ अधिवेशन मंगलबार सम्पन्न भएको छ ।
अधिबेशनबाट आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व, खाद्य अधिकार तथा खाद्य सम्प्रभुता, वातावरण तथा प्राकृतिक स्रोतसम्बन्धी विधेयकसहित आर्थिक वर्ष २०८२÷८३ को बजेट तथा कार्यक्रम संशोधन प्रस्ताव सर्वसम्मतले पारित गरिएको गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिनुभयो । यस्तै आर्थिक ऐन संशोधन विधेयक पनि अधिवेशनबाट पारित भएको उहाँले बताउनुभयो ।
अधिवेशनमा ‘भिमसेनथापा गाउँपालिकाको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक–२०८२’ संस्थागत विकास, सुशासन तथा सेवा प्रवाह समितिका संयोजक गोपाल बि.क.ले सभामा पेस गर्नुभएको थियो । त्यस्तै ‘भिमसेनथापा गाउँपालिकाको खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी विधेयक–२०८२’ आर्थिक विकास समिति संयोजक होमबहादुर बरामुले सभामा पेस गर्नुभएको थियो ।
अधिवेशनमा ‘भिमसेनथापा गाउँपालिकाको वातावरण तथा प्राकृतिक स्रोत सम्बन्धी विधेयक–२०८२’ वन, वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक नारायणप्रसाद भट्टराई, आर्थिक वर्ष २०८२÷८३ को बजेट तथा कार्यक्रम संशोधन प्रस्ताव तथा ‘भिमसेनथापा गाउँपालिका आर्थिक ऐन–२०८२’ को संशोधन विधेयक गाउँपालिका उपाध्यक्ष अमृता देवी भट्ट (वस्ती) ले सभा समक्ष पेस गर्नुभएको थियो ।
अधिवेशनमा उपाध्यक्ष भट्टले पेश गर्नुभएको न्यायिक समितिको अर्धवार्षिक प्रतिवेदन तथा राजस्व परामर्श समितिको अर्धवार्षिक प्रतिवेदन पनि सर्वसम्मत पारित भएको अध्यक्ष बन्जराले जानकारी दिनुभयो । त्यस्तै लेखा समितिका संयोजक रामप्रसाद पाण्डेले लेखा समितिको प्रतिवेदन, सुशासन समितिका संयोजक मालती ढकालले सुशासन समितिको प्रतिवेदन, विधायन समितिका संयोजक होमबहादुर बरामुले विधायन समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको हो ।
सभामा लेखा समिति गठन तथा कार्यसञ्चालन कार्यविधि–२०८२, बेरुजु फछ्र्यौट कार्यविधि–२०८२ र गाउँसभा सचिवालय स्थापना तथा कार्यसञ्चालन कार्यविधि–२०८२ माथि आवश्यक छलफल भई स्वीकृत भएको छ ।









