गोरखा, सोमबार, ५ माघ २०८२ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी गोरखाले सिफारिस गरेको नामलाई पार्टी केन्द्रले औपचारिक रूपमा अनुमोदन गरेको छ । पार्टीको निर्णयअनुसार गोरखा क्षेत्र नं. १ मा हरिराज अधिकारी ‘कुमार’ र गोरखा क्षेत्र नं. २ मा लेखनाथ न्यौपानेलाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाइने भएको छ ।
अधिकारी पुर्ब सांसद समेत हुनुहुन्छ । गोरखामा पार्टी संगठनले विभिन्न तहको छलफल र सिफारिस प्रक्रियापछि अगाडि सारेका यी नामलाई केन्द्रले अनुमोदन गरेसँगै अब औपचारिक चुनावी तयारी तीव्र बनाउने नेपाली कम्युनिस्ट पार्टी गोरखाले जनाएको छ । यही माघ ६ गते उम्मेदवार मनोनयन दर्ता हुने कार्यक्रम रहेकाले दुवै क्षेत्रका उम्मेदवारले घर–घर पुगेर जनतासँग प्रत्यक्ष संवाद र विश्वास जित्ने अभियानलाई तीव्रता दिने तयारी गरेका छन् ।
प्रतिनिधिसभालाई कानुन, नीति र नियम बनाउने सर्वोच्च विधायिकाको रूपमा व्याख्या गर्दै पार्टीले गोरखाबाट जितेका प्रतिनिधि जनताको पक्षमा नीतिनिर्माण, सामाजिक न्याय, समानुपातिक विकास र सुशासन स्थापनाका लागि सक्रिय रहने प्रतिबद्धता जन गरेको छ। गोरखाका सबै लोकतान्त्रिक एवं परिवर्तन चाहने मतदातालाई तारा चुनाव चिन्हमा मतदान गरी नेपाली कम्युनिस्ट पार्टीलाई विजयी गराई प्रतिनिधिसभामा सबल र जनपक्षीय आवाज सुनिश्चित गर्न अपिल गरिएको छ ।









