गोरखा, बुधबार, ७ माघ २०८२ । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि गोरखा क्षेत्र नम्बर २ मा १४ जनाको उमेद्वारी परेको छ । गोरखा नगरपालिका–८ स्थित निर्वाचन अधिकृतको कार्यालयमा हिजो भएको मनोनयन दर्ताका क्रममा १२ वटा राजनीतिक दल र दुईजनाको स्वतन्त्र व्यक्तिको उमेद्वारी परेको निर्वाचन कार्यालयका सूचना अधिकारी सरोज भण्डारीले जानकारी दिनुभयो ।
क्षेत्र नम्बर २ मा प्रगतीशिल लोकतान्त्रिक पार्टी (प्रलोपा) का तर्फबाट पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले उमेद्वारी दिनुभएको छ । त्यस्तै नेपाल काग्रेसबाट प्रकाशचन्द्र दवाडी, नेकपा एमालेबाट मिलन गुरुङ , नेपाली कम्युनिष्ट पार्टीबाट लेखनाथ न्यौपानेको उमेद्वारी परेको उहाँले बताउनुभयो ।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाका) तर्फबाट महामन्त्री कबिन्द्र वुर्लाकोटी, मजदुर किसान पार्टीका तर्फबाट रामशरण बुढाथोकी, नेसनल रिपल्किन नेपालका प्रसाद गुरुङ र मंगोल नेशनल अर्गनाइजेसनबाट सोमबहादुर गुरुङले उमेद्वारी दिनु भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट टेकबहादुर प्रधान, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कुलबहादुर बस्नेत, उज्जालो नेपाल पार्टीबाट बलराम तामाङ, आमजनता पार्टीबाट कल्पना कुमाल परेको छ भने हरि पोखरेल र डा. चुडाप्रसाद ढकालको स्वतन्त्र उमेद्वारी परेको उहाँले बताउनुभयो ।









