काठमाडौँ, बुधबार, ७ माघ २०८२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ देशभरका १६४ निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ । मनाङ निर्वाचन क्षेत्रको उम्मेदवारी भने अहिलेसम्म दर्ता हुन नसकेको पार्टीले जनाएको छ ।
रास्वपाका नेता तथा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ८ का उम्मेदवार विराजभक्त श्रेष्ठका अनुसार मनाङबाहेक सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता भइसकेको छ। उहाँले मनाङका उम्मेदवार अनिल गुरुङको बाटोमा भएको अलमलका कारण दर्ता छुट्न पुगेको हुनसक्ने बताउनुभयो ।
पार्टीका सहमहामन्त्री तथा दाङ–२ बाट उम्मेदवार विपिनकुमार आचार्यका अनुसार कूल उम्मेदवारमध्ये करिब आठ प्रतिशत महिला उम्मेदवार रहेका छन् ।
महिला उम्मेदवारहरूमा झापा–१ बाट निशा डाँगी, झापा–२ बाट इन्दिरा राना, मोरङ–५ बाट आशा झा, मोरङ–६ बाट रुबिना आचार्य, सुनसरी–१ बाट सरिन (गोमा) तामाङ, कास्की–३ बाट बिना गुरुङ, जुम्ला–१ बाट बिनिता कठायत, हुम्ला–१ बाट टासी लामा, कैलाली–१ बाट कोमल ज्ञवाली, धादिङ–१ बाट आशिका तामाङ, काठमाडौँ–१ बाट रञ्जु दर्शना, ललितपुर–३ बाट तोसिमा कार्की र चितवन–३ बाट सोविता गौतमले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
त्यसैगरी सप्तरी–१ बाट पुष्पा चौधरी, महोत्तरी–४ बाट गौरीकुमारी यादव र सर्लाही–१ बाट नितिमा कार्कीले पनि रास्वपाका तर्फबाट मनोनयन दर्ता गराउनुभएको छ ।









