गोरखा, बिहीबार, ८ माघ २०८२ । गोरखाको धार्चे गाउँपालिका वडा नं. १ को कार्यालयमा दोभान खोला हाइड्रोपावर कम्पनी लिमिटेड, स्थानीय सरकार तथा सरोकारवालाबीच समन्वयात्मक बैठक सम्पन्न भएको छ।
गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङको अध्यक्षतामा सम्पन्न बैठकमा दोभान खोला हाइड्रोपावरबाट प्रभावित क्षेत्रका विविध विषयमा छलफल गरी आवश्यक निर्णयहरू गरेको हो ।
बैठकमा हाइड्रोपावर निर्माणका क्रममा प्रभावित स्थानीय बासिन्दालाई पूर्वनिर्धारित दरअनुसार मुआब्जा उपलब्ध गराउने, हाइड्रोपावरबाट प्रभावित जग्गा, घर तथा संरचनाको निष्पक्ष मूल्याङ्कन गरी क्षतिपूर्ति वितरण प्रक्रिया अघि बढाइने निर्णय गरिएको अध्यक्ष लक्ष्मण गुरुङले बताउनु भयो ।
धार्चे १ स्थित हुल्चुक सामुदायिक स्वास्थ्य इकाई भवन निर्माणका लागि प्रदेश सरकारको विनियोजित बजेटसँगै गाउँपालिकाको आन्तरिक स्रोत र हाइड्रोपावर कम्पनीको सामाजिक उत्तरदायित्व कार्यक्रम (Community Support Programs) अन्तर्गतको सहयोग उपयोग गरी निर्माण कार्य अघि बढाउने निर्णय गरेको छ । सो भवन निर्माणका लागि आवश्यक समन्वय गाउँपालिकाले गर्ने उहाँले बताउनु भयो ।
त्यसैगरी, हाइड्रोपावर निर्माणका क्रममा आवश्यक जनशक्तिमा स्थानीय बासिन्दालाई प्राथमिकता दिने, स्थानीय सीप र स्रोतको अधिकतम प्रयोग गर्ने तथा रोजगारी सिर्जना र विकासमा जोड दिने निर्णय गरिएको छ । स्थानीय तहको विकासमा सहयोग पुग्ने गरी हाइड्रोपावर कम्पनीले सामाजिक तथा भौतिक पूर्वाधार विकासमा योगदान गर्ने सहमति भएको अध्यक्ष लक्ष्मण गुरुङले बताउनु भयो । साथै, उहाँले दोभान खोला हाइड्रोपावर निर्माण कार्यलाई तोकिएको समयसीमाभित्र सम्पन्न गर्न आवश्यक सहजीकरण गाउँपालिकाबाट गरिने र निर्माण कार्यका क्रममा देखिएका समस्या आपसी समन्वयबाट समाधान गर्ने निर्णय गरेको छ ।
बैठकमा स्थानीय जनप्रतिनिधि, गाउँपालिका पदाधिकारी, हाइड्रोपावर कम्पनीका प्रतिनिधि तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।









