Friday, March 13, 2026
15.1 C
Kathmandu
spot_img
Homeनिर्वाचन गतिबिधीराष्ट्रियसभा चुनावः गण्डकीमा २२१ मतदाताद्वारा मतदान

राष्ट्रियसभा चुनावः गण्डकीमा २२१ मतदाताद्वारा मतदान

spot_img

लेखनाथ, आइतबार, ११ माघ २०८२ । राष्ट्रिय सभा निर्वाचनअन्तर्गत गण्डकी प्रदेशमा मतदान जारी छ। आइतबार दिउँसो २ बजेसम्म दुई सय २१ जनाले मतदान गर्नुभएको छ। प्रदेश निर्वाचन कार्यालय गण्डकीका सूचना अधिकारी रुद्र न्यौपाने स्थानीय तहमा एक सय ६५ र प्रदेशसभा सदस्यमध्ये ५६ जनाले मत हालिसक्नुभएको जानकारी दिनुभयो ।

“मतदान जारी छ। ५६ प्रदेशसभा सदस्य र स्थानीय तहका एक सय ६५ जनाले मतदान गरिसक्नुभएको छ,” उहाँले भन्नुभयो। अब तीन प्रदेशसभा सदस्य र पाँच पालिकाका प्रमुख/उपप्रमुखले मतदान गर्न बाँकी छ ।

प्रदेश निर्वाचन कार्यालय परिसर गण्डकी परिसरमै आइतबार बिहान ९ बजेबाट सुरु भएको मतदान दिउँसो ३ बजेसम्म चल्नेछ। पालिका प्रमुख÷उपप्रमुख र प्रदेशसभा सदस्यका लागि फरक फरक मतदान केन्द्रको व्यवस्था गरिएको छ। मतदान सकिएलगत्तै मतगणना थाल्ने तयारी छ ।

बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली पुर्पक्षका लागि जेलमा रहेकाले मतदान गर्न पाउने अवस्था छैन भने मनाङ एक क्षेत्र रिक्त छ। राप्रपाले भने मतदानमा भाग नलिने निर्णय गरेको छ। गण्डकीमा राप्रपाका दुई प्रदेशसभा सदस्य हुनुहुन्छ ।

गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने तत्कालीन नेकपा (माओवादी केन्द्र)का सांसद नारायणकाजी श्रेष्ठ र नेकपा (एमाले)की भगवती न्यौपानेको पदावधि सकिन लाग्दा यहाँ निर्वाचन भएको हो । गण्डकीमा सत्ता साझेदारी गरिरहेका नेकपा (एमाले) र नेपाली कांग्रेसले चुनावी गठबन्धन गरी संयुक्त रुपमा उम्मेदवार उठाएका छन् भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र जनमोर्चा अलग अलग रुपमा प्रतिस्पर्धामा छन् ।

एमालेबाट महिला क्लस्टरमा सम्झना देवकोटाको उम्मेदवारी परेको छ। एमाले कांग्रेस गठबन्धनका तर्फबाट कांग्रेसले खुलामा प्राडा जगत् तिमिल्सिनालाई अघि सारेको छ। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले महिला क्लस्टरबाट नेकपाकी गोमा लुइँटेल घिमिरे र खुलाबाट कपिल लामालाई मैदानमा उतारेको छ।

राष्ट्रिय जनमोर्चाका खुलामा शङ्करप्रसाद बराल र महिलामा लक्ष्मी बाँस्कोटा उम्मेदवार छन् ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img