Tuesday, February 10, 2026
11.1 C
Kathmandu
spot_img
Homeनिर्वाचन गतिबिधीललितपुरका तीन क्षेत्रमा रोचक भिडन्त

ललितपुरका तीन क्षेत्रमा रोचक भिडन्त

spot_img

ललितपुर, सोमबार, २६ माघ २०८२ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ललितपुरका तीनवटै निर्वाचन क्षेत्रमा गरी कुल ७४ जनाले उत्साहजनक रूपमा उम्मेदवारी दर्ता गराएका छन् ।

कुल उम्मेदवारमध्ये ललितपुर क्षेत्र नं १ मा सबैभन्दा बढी २८ जनाको उम्मेदवारी परेको छ, जसमा १२ जना स्वतन्त्र र १६ जना विभिन्न राजनीतिक दलका प्रतिनिधि रहेका छन्। यस क्षेत्रमा २५ जना पुरुष र ३ जना महिला चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

ललितपुर क्षेत्र नं २ मा २३ जनाले उम्मेदवारी दर्ता गराएका छन्, जसमध्ये १६ जना राजनीतिक दलका र ७ जना स्वतन्त्र उम्मेदवार रहेका छन्। यस क्षेत्रमा महिला उम्मेदवारको सङ्ख्या २ रहेको छ। त्यसैगरी, ललितपुर क्षेत्र नं ३ मा पनि २३ जनाकै उम्मेदवारी दर्ता भएको छ ।

यस क्षेत्रमा १६ जना दलगत र ७ जना स्वतन्त्र उम्मेदवार मैदानमा छन् भने महिला उम्मेदवारको सङ्ख्या ५ रहेको छ। समग्र जिल्लाको तथ्याङ्क हेर्दा महिला उम्मेदवारीको सङ्ख्या पुरुषको तुलनामा निकै कम देखिएको ।

निर्वाचन क्षेत्रअनुसार प्रमुख दलहरूबीच निकै रोचक र कडा प्रतिस्पर्धा हुने देखिएको छ । क्षेत्र नं १ मा नेपाली कांग्रेसका उदय शमशेर राणा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बुद्धरत्न महर्जन र नेपाल कम्युनिष्ट पार्टीका सुनिल महर्जनबीच मुख्य भिडन्त हुने आँकलन गरिएको छ ।

क्षेत्र नं २ मा निवर्तमान सञ्चारमन्त्री जगदीश खरेल सहित नेपाल कम्युनिष्ट पार्टीका राजेन्द्र अमात्य र कांग्रेसका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

त्यस्तै, क्षेत्र नं ३ मा रास्वपाकी डा. तोसिमा कार्की, कांग्रेसका जीतेन्द्र श्रेष्ठ र नेपाल कम्युनिष्ट पार्टीका राजकाजी महर्जनले उम्मेदवारी दर्ता गराएसँगै चुनावी नतिजा कसको पक्षमा जान्छ भन्ने चासो बढेको छ।

ललितपुर–३ बाट तत्कालीन समय पोखरेलले नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघका संस्थापक सदस्य तथा जनआन्दोलनका नेता मार्शलजुलुम शाक्यलाई पराजित गरेका थिए । शाक्य तिनै थिए, जो २०१७ सालमा तत्कालीन राजा महेन्द्रले जननिर्वाचित सरकार अपदस्थ गरी शासनसत्ता आफ्नो हातमा लिँदा त्यसको विरोध गर्दै पहिलो पटक सडकमा निस्किएका थिए ।

काठमाडौंको रैथाने शाक्य परिवारमा जन्मिएका उनी २०१७ सालपछि सात वर्ष जेल परे। हाल उनी दिवंगत भइसकेका छन् ।

उक्त निर्वाचनमा पोखरेललाई नेकपा एमालेले समर्थन गरेको थियो। उनले १९ हजार ७४९ मत ल्याएर निर्वाचित भए भने निकट प्रतिस्पर्धी मार्शलजुलुम शाक्यले १५ हजार ८४२ मत ल्याए ।

निर्वाचित पोखरेलले त्यति बेला संसदलाई बहसको थलो बनाएका थिए भन्ने चर्चा अहिले पनि नेपाली राजनीतिमा हुन्छ ।

यसपालि फागुन २१ को निर्वाचनमा लीलामणि पोखरेल प्रतिस्पर्धामा छैनन्। हाल उनी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा छन् ।

यो निर्वाचन क्षेत्रका अरू रोचक राजनीतिक घटनाक्रम पनि छन् ।

२०५१ सालको मध्यावधि निर्वाचनमा एमालेले यहाँ आफ्नै उम्मेदवार अघि सारेको थियो। त्यति बेला एमालेले ललितपुरका तीनवटै निर्वाचन क्षेत्र जितेको थियो। ललितपुर–२ बाट रघुजी पन्त १५ हजार ७३३ मतसहित निर्वाचित भएका थिए। उनका निकट प्रतिस्पर्धी कांग्रेसका ओमकार श्रेष्ठले १३ हजार ६६० मत ल्याएका थिए। श्रेष्ठ कांग्रेसका पाका नेता हुन्। उनी अहिले पनि राजनीतिमा सक्रिय छन् ।

पुस अन्तिम साता कांग्रेसको विशेष महाधिवेशन हुँदा पनि ओमकार सक्रिय सहभागी भएका थिए। उनी २०१४ सालको कांग्रेसको पहिलो विशेष महाधिवेशनका प्रतिनिधि समेत हुन्। २०५१ को निर्वाचनपछि भने उनी संसदीय प्रतिस्पर्धामा देखिएनन् ।

संयुक्त जनमोर्चाले उक्त निर्वाचनमा दिलबहादुर श्रेष्ठलाई उम्मेदवार बनाएको थियो। उनले ४ हजार ५२६ मत ल्याए ।

२०५६ सालको आमनिर्वाचनमा एमालेका रघुजी पन्त नै यस क्षेत्रबाट निर्वाचित भए। उनले १५ हजार ५७० मत ल्याउँदा निकट प्रतिस्पर्धी कांग्रेसकी कमला मास्केले १२ हजार २४० र संयुक्त जनमोर्चाकी शशी श्रेष्ठ पोखरेलले ५ हजार ९४२ मत ल्याइन्। शशी लीलामणि पोखरेलकी पत्नी हुन्। उनी राजनीतिमा अहिले पनि क्रियाशील छिन् ।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा यस क्षेत्रबाट नेकपा माओवादी विजयी भयो। माओवादी नेता पम्फा भुसाल १८ हजार ९३० मतसहित सभासद निर्वाचित भइन् भने एमालेका रघुजी पन्त १० हजार ६३२ मत ल्याएर दोस्रो भए। कांग्रेसका मोहनश्याम पौडेलले १० हजार २५१ मत ल्याएका थिए ।

२०७० को दोस्रो संविधानसभा निर्वाचनमा यस क्षेत्रबाट नेपाली कांग्रेसका मदनबहादुर अमात्य निर्वाचित भए। ललितपुरमा २०१५ सालदेखि कांग्रेसले जित निकाल्न सकेको थिएन। २०७० को निर्वाचनमा भने तीनवटै क्षेत्रमा विजयी भयो ।

अमात्यले २३ हजार ५६६ मत ल्याउँदा एमालेका रघुजी पन्तले झन्डै आधा १२ हजार ३०८ मत ल्याए। तत्कालीन एकीकृत माओवादीका दिनेश महर्जनले ११ हजार ४४१ मत ल्याएका थिए ।

२०७४ को निर्वाचनमा यस क्षेत्रमा माओवादीले पुनरागमन गर्‍यो। पम्फा भुसाल दोहोर्‍याएर सांसद निर्वाचित भइन्। उनले २४ हजार ३६ मत ल्याएर सांसद जित्दा कांग्रेसका मदन अमात्यले २२ हजार ३२८ मत ल्याए ।

प्रदेशसभातर्फ १ नम्बरमा माओवादी केन्द्रका राजकाजी महर्जनले २४ हजार ६२६ मतसहित प्रदेशसभा सदस्य जिते। प्रदेश २ मा एमालेका जीवन खड्का ११ हजार ७०१ मतसहित निर्वाचित भए ।

२०७९ सालको निर्वाचनमा आएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की डा. तोसिमा कार्की शानदार मतसहित निर्वाचित भइन्। पेसाले चिकित्सक कार्कीले कुल सदर मतको करिब ५४ प्रतिशत प्राप्त गरेकी थिइन्। उनले ३१ हजार १३६ मत ल्याएर चुनाव जितिन् ।

उनका निकट प्रतिस्पर्धी नेकपा एमालेका अमृत खड्काले १२ हजार ९६३ मत ल्याए। माओवादी केन्द्रकी पम्फा भुसालले ८ हजार ७६९ मत ल्याइन्। कांग्रेसले यहाँ उम्मेदवार उठाएको थिएन, भुसाललाई नै सघाएको थियो ।

यसपटक एमाले, कांग्रेस, माओवादी केन्द्र तीनै पार्टीले नयाँ उम्मेदवार अघि सारेका छन्। एमाले २०५६ सालदेखि यहाँ जितविहीन छ। यद्यपि २०७४ मा एमाले र माओवादी केन्द्रले गठबन्धन गरेरै चुनाव जितेका थिए ।

कांग्रेसले पनि २०७० पछि नतिजा आफ्नो पक्षमा पार्न सकेको छैन। कांग्रेसले यसपटक पुल्चोकका जितेन्द्रकुमार श्रेष्ठलाई उम्मेदवार बनाएको छ। उनी कांग्रेसका ललितपुर जिल्ला सभापति हुन्। यसअघि अबुर्ध रोग निवारण संस्थामा क्रियाशील थिए ।

श्रेष्ठ २०७९ सालको प्रदेशसभा निर्वाचनमा पनि उम्मेदवार थिए। तर एमालेका प्रेमभक्त महर्जनसँग पराजित भए। महर्जनले ९ हजार ५८ मत ल्याउँदा श्रेष्ठले ८ हजार ३० मत ल्याएका थिए ।

नेपाली कम्युनिस्ट पार्टीले राजकाजी महर्जनलाई उम्मेदवार बनाएको छ। महर्जन २०६४ को पहिलो संविधानसभा निर्वाचनमा ललितपुर–२ बाट सभासद निर्वाचित भएका थिए। २०५८ सालमा पाटनको स्ववियू उपसभापति निर्वाचित महर्जन २०७४ सालमा ललितपुर–३ (१) बाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए। २०७९ सालमा उनी प्रदेशसभा सदस्यमै पराजित भए ।

गत निर्वाचनमा राजकाजी महर्जन एमालेका रघुनाथ महर्जनसँग प्रदेशसभामा पराजित भएका हुन्। रघुनाथले ९ हजार ७६६ मत ल्याउँदा राजकाजीले ९ हजार ८० मत ल्याएका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीले भने डा. तोसिमा कार्कीलाई नै उम्मेदवार बनाएको छ। अघिल्लो पटक पुराना पार्टीबाट मनग्गे मत तान्न सफल उनी यसपटक आफ्नो पार्टीप्रति बढ्दो आकर्षणका कारण जित दोहोर्‍याउने अभिलाषामा देखिन्छिन् ।

त्यसका पछाडि केही कारण छन् —

रास्वपाले यहाँ अघिल्लो पटक प्रतिनिधिसभामा समानुपातिकतर्फ पहिलो मत प्राप्त गरेको थियो। रास्वपा १६ हजार ६५० मतसहित ललितपुर–३ मा पहिलो बनेको थियो भने एमालेले १२ हजार २९७ मत ल्याएको थियो। कांग्रेसको ८ हजार २४७ र राप्रपाको ८ हजार ७८९ मत थियो। माओवादी केन्द्रको ६ हजार ५३१ मत थियो ।

प्रदेशसभातर्फ भने एमाले पहिलो थियो। उसले १४ हजार ५०४, राप्रपाले १४ हजार ४६७, कांग्रेसले ९ हजार ३९१ र माओवादीले ७ हजार ५१६ मत ल्याएका थिए ।

यसरी हेर्दा पनि अघिल्लो पटक कार्कीले कांग्रेस, एमाले, राप्रपा र माओवादी केन्द्रको परम्परागत भोट मनग्गे तानेकी थिइन्। अघिल्लो पटक कांग्रेसको उम्मेदवार नहुँदाको लाभ पनि उनलाई भयो ।

ललितपुर–३ बाट राप्रपाले सविनकुमार खड्का, उज्यालो नेपाल पार्टीले विजय पन्त, श्रम संस्कृति पार्टीले ऋतुवर्तन राईलाई उम्मेदवार बनाएको छ ।

कुल १ लाख २ हजार ४३७ मतदाता रहेको यस क्षेत्रमा ३९ स्थल र ११४ केन्द्र छन्। सघन सहरी बसोबास रहेको यस क्षेत्रमा ललितपुर महानगरपालिकाका २० वटा वडा समेटिएका छन्। गोदावरी नगरपालिकाको १२ र १४ गरी दुइटा वडा पर्छन् ।

स्थानीय तह निर्वाचनको विश्लेषण गर्दा गएको चुनावमा गोदावरी नगरपालिका, ललितपुर महानगरपालिकाको मेयर नेपाली कांग्रेस र उपमेयर एमालेले जितेको थियो ।

कुल २२ वडामध्ये एमालेले ८, कांग्रेसले ७, माओवादीले ३ र एकीकृत समाजवादी र स्वतन्त्रले समान २–२ वटा वडा जितेका थिए। गोदावरी नगरपालिकाका १२ र १४ नम्बर वडा र ललितपुर महानगरपालिकाका ४, १०, १४, २०, २८ नम्बर वडा कांग्रेसले जितेको थियो।

एमालेले ललितपुर महानगरको ५, १५, १८, २२, २३, २४, २५ र २९ नम्बर वडा अध्यक्ष जितेको थियो। माओवादी केन्द्रले २१, २६ र २७ नम्बर वडा जितेको थियो। स्वतन्त्रले १ र १३, एकीकृत समाजवादीले २ र ३ नम्बर वडा जितेको थियो।

प्रदेश र स्थानीय तहमा राम्रो नतिजा ल्याए पनि प्रतिनिधिसभातर्फको परिणाम एमालेलाई बिर्सन लायक बनिरहेको छ ।

यसपटक एमालेले झम्सीखेल निवासी सन्दन थापा मगरलाई उम्मेदवार बनाएको छ। विद्यार्थी, युवा आन्दोलन हुँदै पार्टीमा प्रवेश गरेका थापामगर नयाँ अनुहार हुन्। स्थानीयबीच भिजेका अनुहार पनि हुन्। उनी एमालेको पार्टी संगठन, विगतका कामहरूको प्रभावका आधारमा परिणाम आफ्नो पक्षमा पार्न खोजेको देखिन्छ ।

ललितपुर–३ सँग कुनै बेला संयुक्त जनमोर्चा नेपालको साइनो थियो। प्रजातन्त्र बहाली लगत्तै भएको निर्वाचनमा त्यस क्षेत्रबाट तत्कालीन संयुक्त जनमोर्चाका लीलामणि पोखरेल विजयी भएका थिए ।

पोखरेल त्यति बेला नेकपा (एकता केन्द्र–मसाल) का जाज्वल्यमान नेता थिए। त्यसको चुनावी मोर्चा जनमोर्चा नेपाल थियो भने अन्य वाम घटकसँग मिलेर संयुक्त जनमोर्चा तयार भएको थियो ।

चुनावका लागि गठन भएको उक्त मोर्चाले २०४८ सालको आम निर्वाचनमा २०५ मध्ये ९ स्थान जितेको थियो ।

कृष्णबहादुर महरा (रोल्पा–२), अमिक शेरचन (चितवन–३), खड्गबहादुर बूढा (रूकुम), बर्मन बूढा (रोल्पा–१), कमल चौलागाईं (रामेछाप–२), छक्कबहादुर लामा (हुम्ला), विष्णुबहादुर वाइबा (सिराहा–५) र कमानसिंह लामा (काभ्रेपलाञ्चोक–१) विजयी भएका थिए ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img