Saturday, February 21, 2026
10.1 C
Kathmandu
spot_img
Homeआईपीएम फलोअप‘निर्वाचन सफल पार्न सञ्चारको विशेष भूमिका’

‘निर्वाचन सफल पार्न सञ्चारको विशेष भूमिका’

spot_img

भरतपुर, आइतबार, ३ फागुन २०८२ । निर्वाचन सफल पार्न सञ्चारमाध्यमको भूमिका विशेष हुने कुरामा सरोकारवालाहरुले जोड दिएका छन् । तीनवटा निर्वाचन क्षेत्र रहेको चितवनका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लाका पत्रकार तथा सञ्चार संस्थाहरुलाई निष्पक्ष सूचना सम्प्रेषण गर्न आग्रह गरेको छ ।

बिहीबार राष्ट्रिय समाचार समिति (रासस) को ६५औँ वार्षिकोत्सवको अवसरमा आयोजित ‘निर्वाचन आचारसंहितामा सञ्चार’ विषयक अन्तक्र्रियामा मुख्य निर्वाचन अधिकृत केदारनाथ पौडेलले निर्वाचनलाई सफलरुपमा सम्पन्न गर्न पत्रकार तथा सञ्चारगृहको भूमिका विशेष हुने बताए । उनले पत्रकार तथा सञ्चारगृहबाट निर्वाचन आचारसंहिताविपरीतका गतिविधि नगर्न आग्रह गरे ।

‘निर्वाचन आचारसंहिताको पूर्ण पालनाको प्रतिबद्धता तथा निष्पक्ष समाचारको अपेक्षा गरेका छौँ’, उनले भने, ‘ निर्वाचन आचारसंहिताको पूर्ण पालना गरिदिँदा समग्र निर्वाचनलाई नै सफल तुल्याउनमा टेवा पुग्छ ।’

कुनै दल या तिनका प्रतिनिधिसँग प्रभावित भएर एकतर्फी सूचना सम्प्रेषण गर्ने, कसैको पक्ष वा विपक्षमा लेख्नेजस्ता गतिविधिमा आफैँ नियन्त्रित हुन आवश्यक रहेको उनले बताए । निर्वाचनलाई प्रभाव पर्ने गरी दुष्प्रचार गर्ने, अपमानजनक विषय समावेश गर्ने मिथ्या सूचना सम्प्रेषण गर्नेजस्ता विषयमा सचेत रहन आवश्यक रहेको उनले बताए । ‘विशेषगरी, सूचनाको स्रोतको गोपनीयता भङ्ग गर्न हुँदैन भन्ने विषयलाई ध्यानमा राख्नुपर्छ’, उनले भने ।

बहिष्कार गर्नेहरुमाथि निगरानी

जिल्ला प्रहरी कार्यालय चितवनले निर्वाचनलक्षित सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउँदै लगेको जनाएको छ । जिल्ला सुरक्षा समितिले निर्वाचन बहिष्कार गर्ने दल तथा संघ/सङ्गठनमाथि पनि निगरानी गरिरहेको प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक गोविन्द पुरीले बताए ।

चितवनका तीनवटै निर्वाचन क्षेत्र गरी १६२ मतदानस्थल तोकिएकोमा २५ वटा अतिसंवेदनशील, ९३ वटा संवेदनशील र बाँकी स्थललाई सामान्यमा वर्गीकरण गरेर सोहीअनुसार सुरक्षा व्यवस्था मिलाइएको उनको भनाइ छ । ‘भरतपुर कारागार र भरतपुर विमानस्थलको सुरक्षा जिम्मा नेपाली सेनाले लिइसकेको छ’, उनले भने, ‘अन्य क्षेत्रलाई पनि आवश्यकता हेरी सुरक्षा व्यवस्था मजबुत बनाउँदै लैजाने छौँ ।’

चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले चितवन जिल्लामा माघ १ गतेदेखि नै पहिलो चरणको सुरक्षा व्यवस्थालाई सहज ढङ्गले पार गरिसकेको बताएका छन् । ‘अब हामीले फागुन ४ गतेपछि दुई भागमा विभाजन गरेर सुरक्षा व्यवस्थाको तयारी गरेका छौँ’, उनले भने । प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार नेपाली सेना र सशस्त्र प्रहरी बलले माघ १ गतेदेखि नै सुरक्षाका लागि आधार बनाएर काम थालिसकेको छ ।

नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष बसन्तराज पराजुलीले निर्वाचनको विषयमा चितवनका पत्रकार तथा समग्र सञ्चार जगत् सचेत रहेको दाबी गरे । तर, पछिल्लो समय पत्रकार तथा सञ्चारगृहविरूद्ध विभिन्न खालका लाञ्छना तथा आरोप लगाउनेहरुको सङ्ख्या बढ्दै गएको भन्दै सञ्चार सुरक्षामा जिल्लाका सबै सुरक्षा निकायले चासो देखाउनुपर्ने बताए ।

रासस चितवनले संस्था स्थापना भएको ६५ वर्षको उपलक्ष्यमा आसन्न निर्वाचनलाई सकारात्मक प्रभाव पर्ने खालको कार्यक्रम आयोजना गरेको रासस चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img