Monday, February 23, 2026
10.1 C
Kathmandu
spot_img
Homeराजनीतिप्रेम खत्रीको घोषणा पत्र : धार्चे र चुमनुब्रीलाई स्वायत्त क्षेत्र घोषणाको पहल

प्रेम खत्रीको घोषणा पत्र : धार्चे र चुमनुब्रीलाई स्वायत्त क्षेत्र घोषणाको पहल

spot_img

गोरखा, आइतबार, १० फागुन २०८२ । नेपाली काङ्ग्रेसको तर्फबाट गोरखा–१ का उम्मेदवार प्रेमकुमार खत्रीले आफूले चुनाव जिते बूढीगण्डकी जलविद्युत आयोजना अघि बढाउने तथा चुमनुब्रीको निषेधित क्षेत्र हटाउन पहल गर्ने अठोट गरेका छन् । यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका उम्मेद्वार खत्रीले शनिबार घोषणापत्र जारी गर्दै यदि आफू सांसद हुन सकेमा सांसदको हैसियतमा पाउने सरकारी सेवा सुविधामा त्यति नै थप गरी समाजसेवामा लगाउने पनि उल्लेख गरेका छन् ।

बूढीगण्डकी जलविद्युत आयोजना अन्तरगत पुनर्वास, पुनस्र्थापना, ऐलानी दर्ता छुट, सुकुम्बासी व्यवस्थापन, मूआब्जा प्राप्तिमा देखिएका समस्या समाधान र लगानीको सुनिश्चितताका लागि नेतृत्वदायी पहल गर्ने उनले बताए । यस्तै, बूढीगण्डकी आयोजना निर्माण र निर्माण पश्चात सृजना हुने अवसरहरुमा स्थानीयलाई अवसर दिलाउन सक्रिय भूमिका खेल्दै उक्त क्षेत्रमा निर्माण भएका र हुने अन्य आयोजनामा स्थानीयको स्वामित्व, रोजगारी लगायतमा प्राथमिकता दिन पहल गर्ने उनको भनाइ छ ।

आफ्नो निर्वाचन क्षेत्रमै सचिवालय स्थापना गरी नागरिकका गुनासा, समस्यालाई नजिकबाट सम्बोधन गर्ने र हरेक सुखदुखमा साथ दिने उनले उद्घोष गरेका छन् । आफूले सम्पादन गरेका सम्पूर्ण काम र योजनाका विवरण डिजिटल माध्यमबाट सार्वजनिक गरी पूर्ण सुशासनको प्रत्याभूति दिलाउने योजना उनको छ ।

संसदमा विधेयक प्रस्तुत गर्नुअघि स्थानीय सरोकारवाला र नागरिक अगुवाहरूसँग अनिवार्य परामर्श गर्ने उनको प्रतिबद्धता पत्रमा उल्लेख छ । उत्तरी गोरखाको भौगोलिक अवस्थालाई मध्यनजर गर्दै चुमनुब्री र धार्चेलाई विशेष क्षेत्र घोषणा गर्न प्रदेश सरकारले गरेको सिफारिसलाई कार्यान्वयन गराउन पहल गर्ने उनले बताएका छन् । संविधानले व्यवस्था गरेबमोजिम स्वायत्त, विशेष वा संरक्षित क्षेत्रको निर्माण तथा घोषणाका लागि आवश्यक पहल गर्ने उनको भनाई छ ।

महिला, दलित, जनजाति, अल्पसंख्यक र अपाङ्गता भएका व्यक्तिको सीप संरक्षण र पुस्तान्तरणमार्फत स्थानीय स्तरमै स्वरोजगारका अवसर सिर्जना गर्ने, जेनजी, युवाहरूको नेतृत्व विकास, अध्ययन र खेलकुदका लागि नियमित सहयोग र सहकार्य गर्दै महिला समूह र युवा क्लबहरूको संस्थागत सशक्तिकरणमा विशेष सहयोग पु¥याउने पनि उनको योजना छ ।

गोरखा दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा स्थायी रूपमा सूचीकृत गराउन ठोस पहल र लगानी सुनिश्चितताका लागि पहल गर्ने, गोरखकाली, मनकामना, विभिन्न गुम्बा, मस्जिद, चर्च र सच्चाई केन्द्रहरूको संरक्षण गर्दै लखन थापा र भीमसेन थापा जस्ता वीरहरूको इतिहासलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने प्रतिवद्धता उनको छ ।

त्यस्तै मनास्लु क्षेत्रमा हाल कायम निषेधित सेवाहरूको हटाउन समन्वय गर्ने, चुम भ्यालीलाई विशेष सांस्कृतिक तथा कृषि गाउँ घोषणा गर्ने, सामागाउँ र चुम भ्यालीमा अन्तर्राष्ट्रिय स्तरको मेडिटेशन सेण्टर स्थापना गर्ने, युवाहरूलाई कुक, ट्रेकिङ गाइड, बारिस्टा र होटल व्यवस्थापनको उच्चस्तरीय तालिम दिई रोजगारीको ग्यारेन्टी गर्ने पनि घोषणा गरेका छन् ।

युवाहरूको क्षमता विकासका लागि संघीय तहबाटै नवप्रवर्तन कार्यक्रम ल्याई गोरखाकै स्रोत–साधन प्रयोग गर्ने, सामुदायिक विद्यालयहरूमा सुविधासम्पन्न आइसिटी ल्याब र डिजिटल कक्षाकोठा निर्माण गरी शिक्षालाई प्रविधिसँग जोड्ने, आवासीय विद्यालयहरुलाई व्यवस्थित र सुविधायुक्त बनाउन जोड दिने पनि उल्लेख गरेका छन् ।

गोरखामा छुट्टै प्राविधिक तथा व्यावसायिक शिक्षालय स्थापनाका लागि पहल गर्दै युवाहरूलाई सीपमूलक शिक्षा र रोजगारीसँग जोड्ने, दुर्गम क्षेत्रमा नियमित घुम्ती शिविर र टेलिमेडिसिन सेवामार्फत विशेषज्ञ सेवा पुर्याउने, स्थानीय स्तरका स्वास्थ्य चौकीमा सुविधासम्पन्न ल्याव स्थापना गर्ने खत्रीले घोषणा गरेका छन् ।

कृषिलाई व्यवसायिकरण यान्त्रिकरण गर्दै युवालाई प्रोत्साहन गर्ने, कफी, जडीबुटी, सुन्तला, अदुवा, कागती र दुग्धजन्य उत्पादनमा जोड दिने, गोरखामा रहेका फलाम, तामा लगायत बहुमूल्य खनिज पदार्थहरूको वैज्ञानिक अध्ययन र उत्खननका लागि राष्ट्रिय नीति निर्माणमा विशेष पहल गर्ने र प्राकृतिक स्रोतहरूलाई गोरखाको समृद्धिको आधार बनाउने उनको उद्घोष छ ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img