गोरखा, सोमबार, ११ फागुन २०८२ । यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि गोरखामा दुईवटा अस्थायी मतदान केन्द्र निर्धारण भएका छन् । जिल्ला सदरमुकामस्थित गोरखा नगरपालिका वडा नं ६ मा रहेको कारागार कार्यालयमा अस्थायी मतदान केन्द्र स्थापना हुने जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको छ ।
यस्तै, गोरखा नगरपालिका ६ मा रहेको जिल्ला समन्वय समितिको कार्यालयमा समेत अस्थायी मतदान केन्द्र स्थापना गर्ने निर्णय निर्वाचन आयोगले गरेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी रविलाल सुवेदीले बताए । सुवेदीका अनुसार जिल्लाका अस्थायी मतदाताहरुको सङख्या ३३ सय आठ कायम भएको छ ।
जिल्ला कारागारबाट ३० जना अस्थायी मतदाताहरुले मतदान गर्ने उनले जानकारी दिए । जिल्ला समन्वय समितिको मतदान केन्द्रबाट भने ९५१ जना सरकारी कर्मचारीहरुले मतदान गर्ने सुवेदीले बताएका छन् । ‘गोरखा नगरपालिका वडा नं ६, ७, ८ र ९ मा स्थापित सरकारी कार्यालयमा कार्यरत्त कर्मचारीहरुले जिल्ला समन्वय समितिको अस्थायी मतदान केन्द्रबाट समानुपातिकमा मतदान गर्नेछन्’, उनले भने, ‘निर्वाचनमा नखटिएका र अस्थायी मतदाताको सूचीमा नाम भएका कर्मचारीहरुले मात्र मतदान गर्न पाउने प्रावधान छ ।’
बाँकी कर्मचारीहरुको हकमा भने आफू खटिएको मतदान केन्द्रबाट समानुपातिकमा मतदान गर्न सकिने जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, कर्मचारी र कारागारका कैदीबन्दीलाई मतदान गर्न पाउने व्यवस्थाका लागि अस्थायी मतदान केन्द्र स्थापना गरिएको हो । कर्मचारी, सेना, प्रहरी, कैदीबन्दीले समानुपातिक निर्वाचन प्रणालीमा मात्र मतदान गर्न पाउने व्यवस्था छ । जिल्लाका अस्थायी मतदान केन्द्रमा पुगेर मतदान गर्न पाउनेमा ३० जना कैदीबन्दी सहित तीनहजार ३०८ मतदाता छन् ।
दुई निर्वाचन क्षेत्र रहेको गोरखामा प्रत्यक्ष र समानुपातिक गरी दुवै निर्वाचन प्रणालीमा भाग लिन पाउने स्थायी मतदाताको कूल संख्या दुईलाख २९ हजार ५८ रहेको छ । दुवै निर्वाचन प्रणालीमा भाग लिन पाउने मतदाताका लागि जिल्लाभरि २२५ मतदान स्थल तोकिएको छ ।









