काठमाडौँ, बिहीबार, १२ कात्तिक २०८३ । छिमेकी मुलुक भारतमा सक्रिय चक्रवात ‘अर्नब’ को प्रभावका कारण नेपालको मौसममा बदली भई वर्षा र हिमपातको सम्भावना बढेको छ ।
चक्रवातको प्रभावसँगै आज बिहानैदेखि काठमाडौं उपत्यकाको आकाश धुम्मिएको छ । आकाशमा बादल लागेसँगै उपत्यकाको मौसममा परिवर्तन देखिएको छ । मौसम बदली हुँदा घाम कम लाग्नुका साथै वर्षा हुने सम्भावना पनि बढेको छ ।
मौसम पूर्वानुमान महाशाखाकाअनुसार चक्रवातको प्रभाव आजदेखि शनिबारसम्म रहने अनुमान छ । विशेषगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । केही स्थानमा भारी वर्षा र हिमपातसमेत हुन सक्ने महाशाखाले जनाएको छ ।
मौसममा हुने प्रतिकूल परिवर्तनका कारण बाढी, पहिरो, हिमपहिरो तथा हवाई र सडक यातायातमा असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्ने पर्यटकलाई मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न र जोखिमयुक्त क्षेत्रमा नजान सुझाव दिइएको छ ।









