काठमाडौँ, शुक्रबार, २३ साउन २०८२ । विगतका वर्षहरू जस्तै यस वर्षमा पनि गाईभैँसीमा लाग्ने लम्पी स्किन रोगको संक्रमण देशव्यापी रूपमा फैलिँदै गएको छ । हालसम्म छवटा प्रदेशका २९ जिल्लामा लम्पी स्किनको संक्रमण फैलिइसकेको छ । पशु सेवा विभागका अनुसार लम्पी स्किनबाट देशभरि आठ सय ४६ पशुचौपाया मरिसकेका छन् भने २७ हजार चार सय २५ पशुचौपाया संक्रमित भएका छन् । लम्पी स्किन कोशी, बागमती, लुम्बिनी, मधेस, कर्णाली र गण्डकी प्रदेशमा फैलिएको हो ।
तथापि सबैभन्दा बढी कोशी प्रदेशमा फैलिएको हो । ६ असारदेखि २० साउनसम्म कोशीका ११ जिल्लामा फैलिएको संक्रमणबाट २२ हजार एक सय २२ पशु संक्रमित भएका र छ सय ३७ पशु मरेका विभागले जनाएको छ । लम्पी स्किन संक्रमण मधेसका आठ जिल्ला, बागमतीका पाँच जिल्ला, लुम्बिनीका तीन जिल्ला, गण्डकी र कर्णालीका एक/एक जिल्लामा फैलिएको छ । मधेसमा चार हजार चार सय ९२ पशु संक्रमित भएका छन् भने एक सय ७९ पशु मरेका छन् ।
बागमतीमा लम्पी स्किन रोगबाट ३० पशु मरेका र सात सय ९३ पशु संक्रमित रहेका छन् भने लुम्बिनीमा १६ र गण्डकीमा सात पशु संक्रमित छन् । विभागका अनुसार हालसम्म छवटा प्रदेशमा पाँच लाख ६१ हजार सात सय ५१ पशुलाई लम्पी स्किनविरुद्धको खोप लगाइएको छ । २०८१/८२ मा विभागले लम्पी स्किनविरुद्ध १४ लाख ६० हजार डोज खोप खरिद गरेको थियो ।
दुइ वर्षअघि ७७ जिल्लाका १५ लाख १९ हजार सात सय ७९ पशुमा लम्पी स्किन संक्रमण देखिएको थियो । लम्पी स्किनका कारण ७४ अर्ब ६७ करोडको आर्थिक क्षति भएको थियो । पशु चिकित्सा परिषद्को अध्ययनअनुसार एउटा स्वस्थ पशुमा संक्रमण भए ४९ हजार एक सय ३५ रुपैयाँ बराबर आर्थिक क्षति हुन्छ ।
नेपालमा ३१ लाख हाराहारीमा गाई र ४७ लाख भैँसी छन् । पशु चिकित्सकका लम्पी स्किन संक्रमण हुँदा गाईभैँसीमा ज्वरो आउने, झोक्राउने, कम खाने, दूध उत्पादन घट्ने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, ओठ, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिकमात्रामा तरल पदार्थ बग्ने, र्याल काढ्ने, लिम्फनोडहरू सुनिने र अन्त्यमा मृत्यु हुनेजस्ता लक्षण देखा पर्छ ।
विभागले लम्पी स्किनविरुद्ध गाईभैँसीलाई अनिवार्य रूपमा खोग लगाउन आहृवान गर्दै गोठ तथा फार्म परिसरमा नियमित सरसफाइ गरी सफा र सुग्घर राखी लामखुट्टे, झिंगा, किर्ना, भुसुना किराको संख्यालाई नियन्त्रण गर्न, गोठभित्र वा बाहिर ब्लिचिङ पाउडर, फर्मालिन, ग्लुटरअल्डिहाइडलगायतका रसायन प्रयोग गरी निःसंक्रमण गर्न, रोगको शंका लागेका पशुलाई बथानबाट छुट्याएर अलग्गै राख्ने व्यवस्था मिलाउन आग्रह गरेको छ । त्यस्तै, मरेका पशुलाई राम्रोसँग खाडलमा गाड्न, रोग देखा परेको क्षेत्रबाट गाईभैंसी ओसारपसार नगर्न, पशु ओसारपसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी स्वास्थ्य प्रमाणपत्र लिएरमात्र मुख्य प्रवेशद्वार तथा खोर बाहिर निःसंक्रमणमा प्रयोग हुने रसायनसहितको फुटबाथको व्यवस्था गर्न, नयाँ पशु गोठमा भिœयाउँदा बथानमा नमिसाई कम्तीमा २८ दिन छुट्टै राखी रोगको लक्षण नदिएमात्रै बथानमा मिसाउन पनि आग्रह गरेको छ ।
पशु चिकित्सकका अनुसार लम्पी स्किन पक्सभाइरिडिइ जातअन्तर्गतको क्याप्रिपक्स भाइरसका कारण पशुमा अत्यधिक संक्रमण गराउने सीमाविहीन रोग हो । जसले पशुको मृत्युका साथै दूध र मासु उत्पादनमा ह्रास ल्याउने, गर्भ तुहाउने, बाँझोपना ल्याउने, छालाको गुणस्तर घटाउने गर्छ । भैँसीको तुलनामा गाई, गोरु तथा बाच्छाबाच्छीमा बढी देखा पर्छ । विशेषगरी राजमार्ग तथा सहायक राजमार्गमा अवस्थित गाईवस्तु तथा खुला चौरमा चरिचरन गर्ने गाईवस्तुमा बढी देखा पर्ने गरेको छ ।









