गोरखा, शनिबार, २९ कात्तिक २०८२ । आरुघाट गाउँपालिकास्तरीय पाँचौ राष्ट्रपति रनिङशिल्ड भवानी मावि मान्बुले जितेको छ । पालिकाको शिक्षा शाखाको आयोजनामा भीमोदय माविको खेलमैदानमा यही मंगलबार, बुधबार र बिहिबार सञ्चालित प्रतियोगिता भवानी माविले जितेको हो ।
विभिन्न विधामा भएको खेलमा ८ स्वर्ण, ७ रजत र २ कास्य पदक जित्दै भवानी माविले शिल्ड हात पारेको हो । विजेता भवानी माविले शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
त्यस्तै प्रतियोगितामा नेप्लिज एड्भान्स बोर्डिङ स्कूल आरुघाटले दोस्रो स्थान हाँसिल गरेको छ । नेप्लिज एड्भान्सले ६ स्वर्ण, १ रजत पदक जितेर दोस्रो हुन सफल भएको हो । त्यस्तै भीमोदय मावि आरुघाटले तेस्रो स्थान हात पारेको छ । ४ स्वर्ण, ७ रजत र ४ कास्य पदक जितेर भीमोदय मावि तेस्रो बनेको हो । आरुपोखरीस्थित दरबार माविले सान्त्वना स्थान हासिल गरेको छ । ४ स्वर्णसहित ४ रजत र ५ कास्य जितेर दरबार माविले सान्त्वना स्थान पक्का गरेको हो ।
प्रतियोगितामा पालिका भित्रका १७ वटा माध्यमिक तहका विद्यालयहरुले सहभागिता जनाएका भीमोदय माविका प्रधानाध्यापक मनप्रसाद बञ्जराले जानकारी दिए ।
पदक प्राप्त गर्ने विद्यालयहरुलाई बिहिबार एक कार्यक्रमका बीच पुरस्कार तथा पदक वितरण गरिएको छ । आरुघाट ९ का वडाअध्यक्ष वुद्धिप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न समारोहमा प्रमुख अतिथि गाउँपालिकाका प्रमुख राजु गुरुङले विजयी विद्यालयहरुलाई पदक तथा पुरस्कार प्रदान गरेका थिए । सो कार्यक्रममा प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष राजु गुरुङ, पालिकाका उपप्रमुख कल्पना नेपाली र विजेता विद्यालयका प्रअ काजीराम कार्कीले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।
तीन दिनसम्म संचालन भएको प्रतियोगितामा छात्र र छात्रातर्फ १६ विधाका खेलमा प्रतिस्पर्धा भएको थियो ।









