गोरखा, मंगलबार, ९ मङ्सिर २०८२ । शहिद लखन गाउँपालिका–७ बुंकोटमा संचालित स्त्री रोग, पाठेघर तथा स्तन क्यान्सर परीक्षण सम्बन्धि नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । हाम्रो सहारा फाउण्डेशनको आयोजना र वडा कार्यालयको समन्वयमा शनिवारबाट सुरु भएको दुई दिने शिविरमा कुल ३ सय १६ जनाले स्वास्थ्य सेवा लिएका छन् ।
आइतवारमात्रै १ सय ६३ जनाको स्वास्थ्य परिक्षण भएको वडाध्यक्ष शरण श्रेष्ठले बताए । जसमध्ये ८२ जनाले आँखा जाँच गराएका थिए । उनीहरुमध्ये ६ जनामा मोतियाविन्दु भएकाले शल्यक्रिया गर्नुपर्ने देखिएको छ । त्यस्तै स्तन क्यान्सर सम्बन्धी भिआइए परिक्षण गर्दा ६ जनामा क्यान्सरको जोखिम देखिएको छ ।
कुल ३८ जनाको भिआइए परीक्षण गरिएको थियो । शिविर अवधिभर स्वास्थ्य परीक्षण गराएकामध्ये १५ जना महिलामा पाठेघरको समस्या देखिएको छ । उनीहरुको गोरखा अस्पतालमा नि:शुल्क शल्यक्रिया हुने बताइएको छ । शिविरको पहिलो दिन शनिवार १ सय ५६ जनाको स्वास्थ्य परीक्षण भएको थियो ।
५७ जना महिलाको स्तन क्यान्सर सम्बन्धि भिआइए परिक्षण गर्दा ६ जनामा क्यान्सरको जोखिम देखिएको थियो । त्यस्तै आँखा जाँच गराएका १ सय ४३ जनामध्ये पाँच जनामा मोतियाविन्दु देखिएको थियो ।









