Tuesday, March 10, 2026
22.1 C
Kathmandu
spot_img
Homeपालिका विशेषचुमनुब्री गाउँपालिकालाई पर्यटक शुल्कबाट ८० लाख ९० हजार आम्दानी

चुमनुब्री गाउँपालिकालाई पर्यटक शुल्कबाट ८० लाख ९० हजार आम्दानी

spot_img

गोरखा, मंगलबार, १६ मङ्सिर २०८२ । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाले मनासलु संरक्षण क्षेत्र (एमक्याप) आउने स्वदेशी तथा विदेशी पर्यटकहरुबाट ८० लाख ९० हजार रुपैँया राजस्व संकलन गरेको छ । पालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को साउनदेखि कात्तिकसम्ममा उक्त रकम संकलन गरेको जनाएको छ ।

साउन यता ७ हजार ९ सय विदेशी र ९५० जना स्वदेशी पर्यटकले मनासलु क्षेत्र भ्रमण गरेको पालिकाको प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले बताए । ‘पालिकाको आर्थिक ऐन २०८१ अनुसार प्रतिव्यक्ति विदेशीसँग १ हजार र स्वदेशीसँग २ सय रुपैयाँ राजस्व उठाउने निर्णय गरेका थियौँ’, उनले भने, ‘सोही अनुसार गत आर्थिक वर्ष २०८१/८२ को भदौ महिनाबाट शुल्क उठाउन सुरु गरेका हौँ ।’ पर्यटन शुल्क बापत पालिकाले गत आर्थिक वर्ष एक करोड १९ लाख रुपैँया संकलन गरेको उनले जानकारी दिए ।

सो रकम पालिकाले पर्यटन पूर्वधार निर्माणमा खर्च गरेको लामिछाने बताउँछन् । उनी भन्छन्, ‘गत आर्थिक वर्ष संकलन भएको रकममा पालिकाले थप दुईकरोड ३० लाख रुपैँया बिनियोजन गरेर पर्यटक पूर्वधार निर्माणअन्तरगतको पदमार्ग निर्माण तथा स्तरोन्नती, झोलुङ्गे पुल निर्माण, विभिन्न ठाउँमा काठे पुल निर्माण, धार्मिक गुम्बाहरु मर्मत सुधार, मनासलु क्षेत्रमा फोहोर मैला व्यवस्थापन लगायतका क्षेत्रहरुमा काम गरेका छौँ ।’ पर्यटकहरुबाट संकलन गरिएको रकम पर्यटन क्षेत्रमै खर्च गरिएको प्रमुख प्रशासकीय अधिकृत लामिछानेको भनाइ छ ।

एमक्याप क्षेत्रमा जाने पर्यटकसँग सम्बन्धिन संरक्षण तथा निकुञ्ज ऐनबमोजिम राष्ट्रिय प्रकृति संरक्षण कोष तथा अध्यागमन विभागले शुल्क उठाउँदै आएको छ । आफ्नो अधिकार क्षेत्रभित्र पनि शुल्क उठाउन नपाउँदा अपेक्षित कर संकलन गर्न नसकिएको र कोषले पनि उठेको शुल्क बाँडफाँट नगरेको पालिकाको गुनासो थियो । पालिकाले उठाएको पदयात्रा शुल्कबाट समग्र चुमनुब्री तथा मनास्लु संरक्षण क्षेत्रको वातावरण संरक्षण एवं पर्यटन क्षेत्र प्रवद्र्धनमा लगानी गरिने भन्दै पालिकाले पर्यटन शुल्क संकलन सुरु गरेको हो ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img