काठमाडौँ, बुधबार, १६ पौष २०८२ । भारतले नेपाललाई भारतीय इनर्जी एक्सचेन्ज (आईएक्स) को प्रतिस्पर्धी दरमा ६५४ मेगावाट विद्युत् आयात गर्न दिएको अनुमति नवीकरण गरेको छ। भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले आईएक्सको डे अहेड र रियल टाइम बजारबाट चौबीसै घण्टा (आरटीसी) ६५४ मेगावाट विद्युत् आयात गर्न अनुमति नवीकरण गरेको हो ।
यसअघि दिइएको अनुमतिको म्याद बुधबार सकिँदै थियो। नेपाल विद्युत् प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइनमार्फत ६०० मेगावाट र टनकपुर–महेन्द्रनगर लाइनबाट ५४ मेगावाट गरी कुल ६५४ मेगावाट विद्युत् प्रतिस्पर्धी दरमा आयात गर्न अनुमति पाएको छ।
यो अनुमति १७ पुसदेखि १७ चैतसम्म (१ जनवरीदेखि ३१ मार्च २०२६) का लागि नवीकरण भएको छ। त्यसपछिको १८ चैतदेखि १५ भदौसम्म (१ अप्रिलदेखि ३१ अगस्ट २०२६) को अवधिका लागि भने पछि नवीकरण गरिने प्राधिकरणले जनाएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले मङ्गलबार भारतीय विद्युत् मन्त्रालयका अधिकारीहरूसँग टेलिफोनमा कुरा गरी आरटीसी मोडमा विद्युत् आयात गर्न पाउने गरी अनुमति नवीकरण गरिदिन आग्रह गरेका थिए । उनले यो अनुमतिले हिउँदयाममा विद्युत् माग र आपूर्ति व्यवस्थापन गर्न सहज हुने बताएका छन् ।









