Tuesday, February 10, 2026
11.1 C
Kathmandu
spot_img
Homeसंस्कृतिआज तामाङ समुदायले सोनाम ल्होसार मनाउँदै

आज तामाङ समुदायले सोनाम ल्होसार मनाउँदै

spot_img

काठमाडौँ, सोमबार, ५ माघ २०८२ । आज माघ शुक्ल प्रतिपदा, तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक सोनाम ल्होसार मनाउँदै छन् ।

मञ्जुश्री सम्वत् २८६२ ‘ता ल्हो’ (घोडा वर्ग) को अवसरमा विशेष कार्यक्रम गरेर यो पर्व मनाइँदै छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारमा १२ वटा जीवजन्तुका नामबाट ल्हो खोर्लो अर्थात् वर्ष चक्रका आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार यो पर्व मनाउने गरिन्छ ।

भूमिपूजा, कुलपूजा एवं दानदक्षिणा, ढोगभेट, नाचगान, मीठो परिकार बनाएर खाने र शुभकामना आदानप्रदान गरी यो पर्व मनाउने चलन छ । समुदायका सबैजना एकै ठाउँमा भेला भई सामूहिक रूपमा मनाइने यो पर्व मुलुकका विभिन्न भूभागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा लगायतले आ-आफ्नो परम्पराअनुसार मनाउँछन् ।

तामाङ जातिको बाहुल्य रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रूपमा मनाइन्छ । राजधानीको टुँडिखेल, बौद्ध, स्वयम्भू क्षेत्रमा विविध कार्यक्रम आयोजना गरी ल्होसार मनाइँदै छ ।

‘ल्हो’को अर्थ वर्ष वा उमेर र ‘छार’को अर्थ नयाँ हुन्छ । ल्होसारको परम्परा तामाङ समुदायमा चन्द्र पात्रोको पहिलो महिनाको पहिलो दिनदेखि सुरु हुन्छ । यो पर्व नेपाल मात्र नभई चीन, मंगोलिया, जापान, हङकङ, भियतनाम, लाओस, थाइल्याण्ड, ताईवान, मलेसिया, सिंगापुर लगायतका देशका तामाङहरूले पनि धुमधामसँग मनाउने गर्दछन् ।

सोनाम ल्होसारमा तामाङहरूले घर–घर, गुम्बा र सार्वजनिक स्थलहरूमा पूजा, शुभकामना आदानप्रदान, छो प्रसाद वितरण, सामूहिक भोजन र सांस्कृतिक कार्यक्रम गर्दै नयाँ वर्ष स्वागत गर्ने परम्परा छ । ल्होसार तीन प्रकारका हुने गर्दछन् । गुरुङले मनाउने ल्होसारलाई तोल ल्होसार, तामाङ लगायतका जातिले मनाउनेलाई सोनाम ल्होछार, शेर्पा र भोटे जाति लगायतले मनाउने ल्होसारलाई ग्याल्पो ल्होसार भनिन्छ ।

नेपाल तामाङ घेदुङलगायत विभिन्न तामाङ संघसंस्थाको सहभागितामा काठमाडौंको टुँडिखेलमा सोमबार र मंगलबार भव्य तामाङ सांस्कृतिक महोत्सव आयोजना गरिँदै छ ।

राष्ट्रिय सोनाम ल्होसार-२८६२ ता ल्होछार मूल समारोह समितिले पत्रकार सम्मेलन गर्दै महोत्सवको कार्यक्रमको विवरण सार्वजनिक गरेको थियो । महोत्सवमा ताम्बा, बोन्बो र लामाको विशेष सांस्कृतिक झाँकी प्रदर्शन, परम्परागत गीत र नृत्यसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरूको प्रस्तुति हुने आयोजकले जानकारी दिइएको छ ।

महोत्सवमा तामाङ समुदायका परम्परागत खानाका परिकार, भेषभूषा, पुस्तक र अन्य सांस्कृतिक सामग्रीको प्रदर्शनी तथा बिक्रीसमेत हुने जनाइएको छ । आज (सोमबार) प्रधानमन्त्री सुशीला कार्कीसमेत कार्यक्रममा सहभागी हुने आयोजकले जनाएको छ ।

महोत्सवलाई लक्षित गर्दै १०१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । समिति मातहत सांस्कृतिक कार्यक्रम समिति, ताम्बा, लामा, बोन्बो तयारी समिति, स्वयंसेवक तयारी समिति, प्रचारप्रसार समिति, स्वागत सत्कार समिति र मञ्च व्यवस्थापन समिति सञ्चालन हुनेछन् ।

यस अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत अन्य दलका नेताले सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img