गोरखा, बुधबार, ७ माघ २०८२ । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि गोरखा क्षेत्र नम्बर १ मा १३ जनाको उमेद्वारी परेको छ । गोरखा नगरपालिका–६ मा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा हिजो भएको मनोनयन दर्ताका क्रममा १२ वटा दल र एक स्वतन्त्र व्यक्तिको उमेद्वारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी कृष्णमुरारी सिग्देलले जानकारी दिनुभयो ।
उहाँका अनुसार क्षेत्र नम्बर १ मा नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट हरिराज अधिकारी (कुमार) ले उमेद्वारी दर्ता गराउनु भएको छ भने नेकपा एमालेबाट रामचन्द्र लामिछाने, नेपाली काँग्रेसबाट प्रेमकुमार खत्रीको उमेद्वारी परेको छ ।
त्यस्तै यस निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सुधन गुरुङको उमेद्वारी परेको छ भने प्रगतीशिल लोकतान्त्रिक पार्टी (प्रलोपा) गोपालबाबु श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट बिष्णुप्रसाद रिजाल र नेपाल मजुदर किसान पार्टीबाट मनुकमारी श्रेष्ठको उमेद्वारी परेको सूचना अधिकारी सिग्देलले जानकारी दिनुभयो ।
नेशनल रिपब्लिक नेपालबाट आकाश रानामगर, मंगोल नेशनल अर्गनाइजेसनबाट देवबहादुर थापा, संयुक्त नागरिक पार्टीबाट जीतबहादुर घले, उज्यालो नेपाल पार्टीबाट रामकाजी रानामगर उमेद्वारी दिनुभएको सूचना अधिकारी सिग्देलले बताउनुभयो । क्षेत्र नम्बर १ मा कविता भट्टराईको स्वतन्त्र उमेद्वारी समेत परेको उहाँले जानकारी दिनुभयो ।









