Monday, February 9, 2026
10.1 C
Kathmandu
spot_img
Homeनिर्वाचन गतिबिधीआज राष्ट्रियसभा सदस्य निर्वाचन

आज राष्ट्रियसभा सदस्य निर्वाचन

spot_img

काठमाडौँ, आइतबार, ११ माघ २०८२ । राष्ट्रियसभा सदस्यको निर्वाचन आज (आइतबार) हुँदै छ । निर्वाचन आज बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सातै प्रदेशमा मतदान हुनेछ । निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आवश्यक सम्पूर्ण सामग्री सम्बन्धित निर्वाचन कार्यालयमा पुगिसकेको जानकारी दिनुभएको थियो । ‘तोकिएकै समयअनुसार आइतबार बिहान ९ बजेदेखि मतदान सुरु हुन्छ’, उहाँले भन्नुभयो ।

१९ जना सदस्यको कार्यकाल फागुन २० मा सकिँदै
राष्ट्रियसभाका १९ जना सदस्यको कार्यकाल आगामी फागुन २० गते सकिँदै छ । तीमध्ये एकजना राष्ट्रपतिबाट मनोनीत हुने व्यवस्था छ भने बाँकी १८ सदस्यका लागि निर्वाचन हुन लागेको हो । राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता हुन्छन् । अन्तिम मतदाता नामावलीअनुसार सातै प्रदेशमा ५५० जना प्रदेशसभा सदस्य छन् । यस्तै, ७५३ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी एक हजार ५०६ जना स्थानीय तहका पदाधिकारी मतदाता रहेका छन् ।

मतदान गर्न जाँदा मतदाताले पाँचमध्ये कुनै एक परिचयपत्र अनिवार्य रूपमा साथमा लैजानुपर्ने निर्वाचन आयोगले जनाएको छ । मतदाता परिचयपत्र, प्रदेशसभा सदस्य वा स्थानीय तहका प्रमुख÷उपप्रमुख निर्वाचित हुँदा प्राप्त प्रमाणपत्र, सम्बन्धित पद खुलाइएको परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्रमध्ये कुनै एक देखाएपछि मतदान गर्न पाइनेछ ।

निर्वाचन आयोगका अनुसार १८ पदका लागि ४४ जनाले उम्मेदवारी दिएका छन् । कांग्रेस र एमालेले भागबण्डाका आधारमा क्रमशः नौ र आठ सिटमा उम्मेदवारी दिएका छन् । बाँकी एक सिटमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्मेदवार महन्थ ठाकुरलाई समर्थन गरिएको छ । नेपाली कम्युनिष्ट पार्टीले भने सबै प्रदेशमा एकल उम्मेदवारी दिएको छ ।

प्रदेशगत रूपमा यस्ता छन् उम्मेदवार
प्रदेशगत रूपमा कोसी प्रदेशबाट तीनजना, मधेस प्रदेशबाट चारजना, बागमती र गण्डकी प्रदेशबाट दुई-दुईजना, लुम्बिनी प्रदेशबाट तीनजना तथा कर्णाली र सुदूरपश्चिम प्रदेशबाट दुई-दुईजना राष्ट्रियसभा सदस्य निर्वाचित हुनेछन् । मधेस प्रदेशमा कांग्रेसबाट सुनिलबहादुर थापा तथा एमालेबाट रोशनी मेचे र सोम पोर्तेल उम्मेदवार हुनुहुन्छ । कोसी प्रदेशमा कांग्रेसका धमेन्द्र पासवान र रञ्जित कर्ण तथा एमालेकी रेखा झा उम्मेदवार रहनुभएको छ ।

बागमती प्रदेशमा कांग्रेसबाट गीता देवकोटा र एमालेबाट प्रेम दंगाल उम्मेदवार हुनुहुन्छ । गण्डकी प्रदेशमा कांग्रेसका जगत तिमिल्सिना र एमालेकी सम्झना देवकोटा उम्मेदवार हुनुहुन्छ । लुम्बिनी प्रदेशमा कांग्रेसबाट वासुदेव जंगली र चन्द्रबहादुर केसी तथा एमालेबाट रामकुमारी झाँक्री उम्मेदवार रहनुभएको छ । कर्णाली प्रदेशमा कांग्रेसका ललितजंग शाही र एमालेकी मीना रखाल तथा सुदूरपश्चिम प्रदेशमा कांग्रेसका खम्मबहादुर खाती र एमालेकी लीला भण्डारी उम्मेदवार हुनुहुन्छ ।

सातवटै प्रदेशको राजधानीमा एकैदिन मतदान
निर्वाचन आयोगका अनुसार सातवटै प्रदेशको राजधानीमा एकैदिन मतदान हुनेछ । निर्वाचन आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेका अनुसार १८ पदका लागि हुने निर्वाचनमा १८ प्रकारको मतपत्र छापिएका छन् । निर्वाचित हुने समूहअनुसार सबै पदका लागि अलग-अलग मतपत्र छन् । उम्मेदवारको नामसहितको मतपत्र छापिएका छन् । न्यौपानेका अनुसार पालिकाका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षका लागि तथा प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै रङको मतपत्र छापिएका छन् ।

पालिकाका मतदाताका लागि सेतो पृष्ठभूमिमा रातो मतपत्र तथा प्रदेशसभा सदस्यका लागि सेतो पृष्ठभूमिमा हरियो मतपत्र प्रयोग हुनेछ । राष्ट्रियसभा सदस्य निर्वाचन ऐनले सम्बन्धित प्रदेशका प्रदेशसभा सदस्य र प्रदेशभित्रको गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख सम्मिलित निर्वाचन मण्डलले राष्ट्रियसभा सदस्य पदका लागि मतदान गर्ने व्यवस्था गरेको छ ।

प्रदेशसभा सदस्यको मतभार ५३ र पालिकाका मतदाताको मतभार १९ छ । सम्बन्धित प्रदेशमा प्रदेशसभा सदस्य, पालिका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षले गरेको मतदानलाई मतभारसँग गुणान गरेर आउने जोडफलका आधारमा बढी मतभार ल्याउने उम्मेदवार सम्बन्धित प्रदेशको सम्बन्धित समूहबाट निर्वाचित हुनेछन् ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img