काठमाडौँ, बुधबार, ६ साउन २०८२ । सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका विभिन्न महत्वपूर्ण निर्णय सार्वजनिक गरेको छ । बैठकले न्यायिक नियुक्तिदेखि कर छुट, अन्तर्राष्ट्रिय विमानस्थल प्रोत्साहन र मिटरब्याज पीडितका माग सम्बोधनसम्मका निर्णय गरेको छ ।
सरकारले नियुक्ति, शुल्क छुट तथा छानबिन समिति गठनसहित ६ वटा महत्त्वपूर्ण निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयबारे शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो ।
बैठकले विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत तुलसीपुरका न्यायाधीश बासुदेव आचार्यलाई तोकेको छ । त्यसैगरी श्रम अदालतको अध्यक्षमा उच्च अदालत सुर्खेतका न्यायाधीश दीपेन्द्र अधिकारीलाई तोक्ने र गुठी संस्थानको प्रशासकमा शैलेन्द्रराज कुँवरलाई नियुक्त गर्ने निर्णय भएको छ ।
पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई प्रोत्साहन गर्न सरकारले विशेष सहुलियतको घोषणा गरेको छ । २०८५ साल भदौ मसान्तसम्म ती विमानस्थलबाट हुने नियमित अन्तर्राष्ट्रिय उडानमा पार्किङ, ल्यान्डिङ र नेभिगेसन शुल्क पूर्ण छुट दिइने भएको छ ।
यस्तै ती दुवै विमानस्थलमा हुने उडानका लागि ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत सहुलियत दिने निर्णयसमेत बैठकले गरेको प्रवक्ता पोखरेलले बताउनु भयो ।
नागरिकलाई राहत दिने उद्देश्यले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता शुल्क पूर्ण रूपमा छुट दिने निर्णय गरिएको छ । प्रवक्ता पोखरेलका अनुसार निर्णय औपचारिक रूपमा पारित भइसकेकाले अब कुनै पनि विद्यालय वा अस्पतालले यो शुल्क लिन पाउने छैनन् ।
यस्तै गणेश नेपालीको आत्मदाह घटनाको सत्यतथ्य पत्ता लगाउन उच्च अदालतका पूर्व न्यायाधीश केशवप्रसाद बास्तोलाको अध्यक्षतामा न्यायिक समिति गठन गरिएको छ ।
मिटरब्याज पीडितको समस्या समाधानका लागि सरकारले यसअघि आन्दोलनरत पक्षसँग भएको सम्झौतालाई अनुमोदन गरेको छ । यो निर्णय लागू भएसँगै मिटरब्याजसँग सम्बन्धित सम्पूर्ण फर्जी लिखत तथा तमसुकहरू बुधबारकै मितिदेखि अवैध घोषणा भएका छन् ।
साहु महाजनका गुनासाहरू आए पनि सरकार पीडितसँग भएको पुरानै समझदारी कार्यान्वयन गर्न प्रतिबद्ध रहेको प्रवक्ता पोखरेलले स्पष्ट पार्नुभयो ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू–
१ विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत तुलसीपुरका न्यायाधीश वासुदेव आचार्यलाई तोक्ने ।
२ श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत सुर्खेतका न्यायाधीश दिपेन्द्र अधिकारीलाई तोक्ने ।
३ गुठी संस्थानको प्रशासक पदमा शैलेन्द्रराज कुँवरलाई नियुक्ति गर्ने ।
४ २०८५ साल भदौ मसान्तसम्मको लागि पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय नियमित हवाई उडानमा पार्किङ, ल्यान्डिङ तथा नेभिगेसन शुल्क पूर्ण रूपमा छुट दिन र ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिन स्वीकृति गर्ने ।
५ अनुचित लेनदेन ९मिटरब्याज० बाट प्रभावित नागरिकको माग सम्बोधन गर्ने सम्बन्धमा गठित समिति र मिटरब्याज विरुद्ध किसान मजदुर आन्दोलनका प्रतिनिधि बीच मिति २०८३र०४र०१ मा भएको सम्झौता अनुमोदन गर्ने , सम्झौतामा उल्लेख भएबमोजिम मिटरब्याजरसँग सम्बन्धित फर्जी लिखतहरू आजकै मितिबाट अवैध घोषणा गर्ने ।
६ गणेश नेपालीको आत्महत्या घटनाको सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन उच्च अदालतका पूर्व न्यायाधीश केशवप्रसाद बाँस्तोलाको अध्यक्षतामा न्यायिक समिति गठन गर्ने ।
७ आर्थिक ऐन २०८३ को दफा १८ को उपदफा १ बमोजिम शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने ।









