Monday, August 3, 2026
20.6 C
Kathmandu
spot_img
Homeराष्ट्रियराष्ट्रिय विभूति अमरसिंह थापाको स्मृति दिवस, सिरानचोकका पूर्व अध्यक्ष राजु गुरुङ सम्मानित

राष्ट्रिय विभूति अमरसिंह थापाको स्मृति दिवस, सिरानचोकका पूर्व अध्यक्ष राजु गुरुङ सम्मानित

spot_img

काठमाडौँ, आइतबार, १७ साउन २०८३ । विसं १८७३ साउन १६ गते गोसाइँकुण्डमा देह त्याग गर्नुभएका नेपाल एकीकरणमा योगदान गर्नुभएका राष्ट्रिय विभूति अमरसिंह थापाको २१०औँ स्मृति दिवस मनाइएको छ ।

राष्ट्रिय विभूति अमरसिंह थापा प्रतिष्ठानले आज यहाँ आयोजना गरेको कार्यक्रममा विसं १८०० मा नुवाकोट विजय गरेर श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहले शिलान्यास गरेको नेपाल एकीकरण अभियानमा अमरसिंह थापाले पुर्‍याउनुभएको योगदानका विषयमा स्मरण गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सर्वोच्च अदालतका न्यायधीश मेघराज पोखरेलले अमरसिंह थापा इतिहासको असाधारण व्यक्तित्व भएको बताउनुभयो । राष्ट्रनिष्ठा र स्वाभिमानले युक्त थापाले प्रलोभन आउँदा ‘म बाघको बच्चा (डमरु) हुँ, मलाई सिनो खाने कुकुर नसम्झ’ भनी दिनुभएको अभिव्यक्तिले नै उहाँको व्यक्तित्व प्रस्ट हुने बताउनुभयो । सबै नेपालीले अमरसिंहको चरित्र बोक्नुपर्ने समय आएको न्यायधीश पोखरेलले बताउनुभयो । स्वाभिमानबाट बनेको अमरसिंहको इतिहास कसैले मार्न चाहेर नमर्ने पनि उहाँको भनाइ थियो ।

वाग्मती प्रदेशसभा सदस्य एवं प्रदेशका पूर्वमन्त्री दीपेन्द्र श्रेष्ठले कुमाउ, गढवाल, काँगडा लगायतका स्थल अमरसिंहले नेपालमा गाभ्न सफल भएको जानकारी दिनुभयो । यस्ता व्यक्तित्वका नाममा ऐतिहासिक सङ्ग्रहालय निर्माणका लागि प्रदेश सरकारबाट सहयोगको पहल गर्ने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो । अर्का वाग्मती प्रदेशसभा सदस्य उद्धव थापाले धादिङको केवलपुरमा निर्माण भएको बडाकाजी अमरसिंह धामको विकासका लागि वाग्मती प्रदेश सरकाबाट सहयोगका लागि पहल गर्ने बताउनुभयो ।

इतिहास एवं संस्कृति विषयका प्रा डा राजाराम सुवेदीले अन्य बाइसे, चौबिसे राज्यमा नभएको एकीकरणमा मरेका सेनाका परिवारलाई मरवटबापत जग्गा दिने प्रचलनले नै गोरखा राज्यले नेपालको एकीकरण गर्न सफल भएको बताउनुभयो ।

अमरसिंहका विषयमा विद्यावारिधि शोध गर्नुभएका प्रा डा इन्दिरा जोशीले नुवाकोट जितेको २५ वर्षपछि पृथ्वीनारायण शाहले काठमाडौँमा आक्रमण गरेको जानकारी गराउनुहुँदै त्यो युद्धमा अमरसिंह पनि सक्रिय सहभागी हुनुभएको स्मरण गर्नुभयो । अमरसिंहको निडरता र निष्पक्षताको सबै नेपालीले अनुसरण गर्नुपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा गोरखाको सिरानचोक गाउँपालिकाका पूर्व अध्यक्ष राजु गुरुङलाई सम्मान गरिएको थियो । सिरानचोक गाउँपालिकामा वडाकाजी अमरसिह थापाको शालिक स्थापना, गाउँपालिकामा स्मृति दिवसको दिन बिदा दिने प्रचलनको थालनी जस्ता कार्यमा पुर्याउनु भएको योगदानको उच्च कदर गर्दै राष्ट्रिय विभुति अमरसिह थापाको २१० औं स्मृति दिवसको अवसरमा सिरानचोक गाउँपालिकाका निवर्तमान अध्यक्ष अधिवक्ता राजु गुरुङ सम्मनित हुनु भएको हो । गाउँपालिका अध्यक्ष हुँदा उहाँले अमरसिंहको स्मृति दिवस पारेर प्रत्येक वर्ष साउन १६ गते पालिकास्तरमा सार्वजनिक बिदा दिने निर्णय गराउनुभएको थियो ।

सम्मानित भएपछि कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले विसं १८०८ मा गोरखाको सिरान चोकमै अमरसिंह जन्मनुभएको प्रमाण आफूले विभिन्न पुस्तकमा प्राप्त गरेपछि स्मृति दिवसमा पालिकास्तरमा सार्वजनिक बिदा दिने निर्णय गराएको बताउनुभयो । सिरान चोकका डाँडामा पाँच/पाँच किलोमिटरको दूरीमा गढी रहेकाले त्यसको संरक्षणका साथ प्रचारप्रसार पनि गरिनुपर्ने पनि उहाँले बताउनुभयो ।

बडाकाजी अमर सिंह थापाको जन्म स्थान सिरानचोक हो भन्ने कुरा इतिहासको पानामा सिमित भएको थियो जसलाई औपाचारिक रुपमा स्थानीय सरकारको प्रमुख हैसियतले सिरानचोक गाउँपालिकाका पुर्व अध्यक्ष राजु गुरुङले सार्बजनिक गर्नमा महत्वपुर्ण भूमिका निर्वाह गर्नुभयो ।

पालिका पुर्व अध्यक्ष राजु गुरुङको पहलमा नेपाली सेनालाई सिरानचोक कोट संग जोडने कार्यको थालनी भयो । लिगलिगकोट र गोरखा दरबारको इतिहास सगँ सिरानचोकलाइ जोडने गरी लिगलिगको सिरानचोक गोरखा दरबार म्याराथुनको शुरुवात गरिएको थियो । साथै, शक्ति पिठको रुपमा श्रीनाथ बाबा र गोरखानाथको सम्बन्ध अनि श्रीनाथ मण्डलीको धार्मिक महत्वको बाहय प्रचारप्रसारको शुरुवात गरिएको थियो ।

नेपाली सेनाका पूर्वसहायक रथी एवं सैनिक इतिहासविद् डा प्रेमसिंह बस्नेतले पूर्वमा टिस्टादेखि पश्चिममा किल्ला काँगडासम्म नेपालको सीमा विस्तार गर्ने काममा अमरसिंहको महत्त्वपूर्ण भूमिका रहेको स्मरण गर्नुभयो । अमरसिंहले विसं १८२० मा धुलिखेलको युद्धदेखि लडाइँ लड्न सुरु गरेको पनि उहाँले कार्यक्रममा जानकारी गराउनुभयो ।

प्रतिष्ठानका संस्थापक अध्यक्ष बाबुरामसिंह थापाले अमरसिंहले सुगौली सन्धिलाई स्वीकार नगरी त्यही कारणले विसं १८७३ साउन १६ गते गोसाइँकुण्डमा देह त्याग गरेको बताउनुभयो । देशको माया गर्ने अमरसिंह जस्ता व्यक्तित्वलाई भावी पुस्ताले सम्झने माध्यम बनाउनकै लागि प्रतिष्ठान स्थापना गरिएको जानकारी पनि उहाँले गराउनुभयो ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष गणेश थापा, वरिष्ठ उपाध्यक्ष इन्द्रबहादुर कार्की, कवयित्री डा शशी पण्डित, प्रा डा श्रीरामप्रसाद उपाध्यायलगायतले नेपाल एकीकरणको इतिहासमा अमरसिंहले खेल्नुभएको भूमिकाबारे चर्चा गर्नुभएको थियो ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img