September 8, 2024
राजनीति समाचार

थवाङ पुगेर प्रचण्डले भने -नयाँ चरणको क्रान्तिको तयारीमा छौं

रोल्पा, शुक्रबार, २४ कात्तिक २०८० । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले रोल्पा जिल्लाको थवाङ विचार र क्रान्तिको प्रतिक भएको बताएका छन् । शुक्रबार रोल्पा जिल्लाको थवाङ गाउँपालिकास्तरीय पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन् ।

‘६ वर्षपछि हाम्रो आधारक्षेत्र थवाङ आउन पाउँदा मलाई हर्ष र गौरवको अनुभूति हुन्छ । म ४० वर्षअघि पहिलोपटक थवाङ आएको थिएँ । जनयुद्धको तयारी, उठान र सञ्चालन यहि आधार बनाएर गरिएको थियो’ उनले भने, ‘थवाङ विचार र क्रान्तिको प्रतीक हो । यसले विचार दियो, गुणात्मक परिवर्तन दियो । एउटा ऐतिहासिक क्रान्तिको नेतृत्व गरेको छ । जनवादी क्रान्तिको चरणमा थवाङले ऐतिहासिक भूमिका खेल्यो । अब हामी नयाँ चरणको क्रान्तिको तयारीमा छौं ।’

उनले शान्ति प्रक्रियापछि माओवादीहरू विभाजित भएकाले कमजोर भएको भन्दै अहिले क्रमशः एकताको आधार तयार हुँदैछ गएको जिकिर गरे ।

‘आगामी विशेष महाधिवेशनमा हामीले समाजवादको बाटो थप स्पष्ट पार्छौं। त्यहाँ गएर विचारको विकास र संश्लेषण पनि गर्छौं। समाजवादी क्रान्तिको तयारीको चरणमा समाजवादको आधार तयार पार्ने विचार चाहिन्छ,’ प्रधानमन्त्रीले भने,’रोल्पा, रूकुम, सल्यान, जाजरकोट लगायतका जिल्लाहरूले क्रान्तिको अगुवाइ गरे । आजको नयाँ परिस्थितिमा नयाँ ढंगले क्रान्तिको नेतृत्व गर्नुपर्छ । समाजवादी क्रान्तिको लागि थवाङले फेेरि पनि अग्रणी भूमिका खेल्नुपर्छ ।’

‘शान्तिप्रक्रियापछि हामी माओवादीहरू विभाजित भयौं। अहिले क्रमशः एकताको आधार तयार हुँदैछ । विप्लवजीहरू पनि एकता र ध्रुवीकरणको मुद्दामा नजिकै हुनुहुन्छ । हामी छिट्टै एकतावद्ध हुन्छौं,’प्रधानमन्त्रीले भने ।

Leave a Reply