September 8, 2024
राजनीति समाचार

हामीले ल्याएको व्यवस्थामाथिको आक्रमण सहेर बस्दैनौँ : क्षितिज थेबे

काठमाडौँ, शनिबार, २ मङ्सिर २०८० । राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेबेले प्रतिपक्षमा हुँदा पनि सत्ताधारी र व्यवस्था विरोधीको आक्रमण एमालेमाथि नै भइरहेको भन्दै अब सहेर नबस्ने चेतावनी दिएका छन् । शनिवार एमाले केन्द्रीय कार्यालय च्यासलमा आयोजित विशेष भेलालाई सम्बोधन गर्दै अध्यक्ष थेबेले अबको आन्दोलन प्रमुख प्रतिपक्ष कस्तो हुन्छ भनेर देखाउने खालको हुने दाबी समेत गरे ।

थेबेले भने- हाम्रो पार्टी अध्यक्ष र हाम्रा नेताहरुविरुद्ध सामाजिक सञ्जाल वा अन्य ठाउँबाट आइलाग्नेहरुविरुद्ध जाइलाग्छौँ । जिम्मेवार प्रतिपक्ष भनेको जसले जे भने पनि सहेर बस्ने होइन । हाम्रो देश,हामीले लडेर ल्याएको व्यवस्था र हाम्रो नेतृत्वमाथिका कुनै पनि आक्रमण र आरोप सहन सक्दैनौँ । मंसिर ७ को प्रदर्शन यसैका लागि हो ।

अध्यक्ष थेबेले एमाले कमजोर बनाएपछि अहिलेको व्यवस्था कमजोर बनाउन सकिन्छ भनेर केही व्यक्ति र शक्तिहरू एमाले नेताहरूको चरित्रहत्यामा उत्रिएको आरोप समेत लगाए । उनले महँगी, भ्रष्टाचार र सरकारको नालायकीविरुद्ध सिंहदरबारलाई थर्काउने गरी आन्दोलन हुने बताए ।

थेबेका अनुसार मंसिर ७ को प्रदर्शन माइतीघरबाट शुरु हुनेछ । भित्री र बाहिरी घेरामा ३ हजार स्वयंसेवक खटिने समेत उनले जानकारी दिए ।

Leave a Reply