September 8, 2024
समाचार समाज

ओरेकमा नयाँ नेतृत्व, उपाध्यक्षमा सुनिता दनुवार

काठमाडौँ, आइतबार, १७ मङ्सिर २०८० । महिला पुनर्स्थापना केन्द्र (ओरेक)को ३२ औँ साधारणसभा तथा १६औँ अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार काठमाडौंमा सम्पन्न अधिवेशनले सविता पोखरेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिती सर्वसम्मत चयन गरेको हो ।

समितिको उपाध्यक्षमा सुनिता दनुवार, सचिवमा संगिता अधिकारी, कोषाध्यक्षमा इन्द्रबती नेम्वाङ निर्वाचित भएका छन् । यस्तै, कार्यसमितिको सदस्यमा सरोज गुरुङ, रीताकुमारी शाह, किरणकुमारी शाह, रिक्मा बिश्वकर्मा, निर्मला धिताल, सरिता खड्का र अम्विका रुपाखेती चयन भएका छन् । निर्वाचित कार्यसमिति पदाधिकारीको पदावधि दुई बर्षको हुनेछ ।

यसैगरी, संस्थाले महिला अधिकार स्थापनाका लागि आन्दोलन र संस्थाको अगामी कार्यनीति तय गरेको छ । महिला पुर्नस्थापना केन्द्र (ओरेक)ले आगामी कार्यनीति महिला अधिकार स्थापनाको लागि आन्दोलनलाई अगाडी सारेको छ । अधिवेशनमा आगामी कार्यक्रम प्रस्तुत गर्दै ओरेकले महिला अधिकार स्थापनाको लागि आन्दोलनलाई मुख्य योजनाको रुपमा अगाडि बढाउने नवनिर्वाचित अध्यक्ष पोखरेलले बताईन ।

ओरेकले अगामी योजनामा महिलाको श्रम शरिर र पहिचानको अधिकार सुनिश्चिताको सवालमा अभियानमुलक गतिविधि गर्ने, रुपान्तरित नेतृत्वका लागि युवा महिला तथा अगुवा महिलाको भेला तथा बहसका कार्यक्रम संचालन गर्ने, सरकारसंगको साझेदारी र सहकार्य, महिलाको आर्थिक तथा राजनीतिक सशक्तिकरणका लागि पैरवी, महिला तथा किशोरीको यौन तथा प्रजनन् स्वास्थ्य अधिकारका सवालमा अभियान संचालन गर्नेछ ।

यसैगरी, पर्यावरणीय न्याय र महिलाको नेतृत्वको सवालमा पैरवी गर्ने लगायतका कार्यक्रममा पनि संस्था केन्द्रित रहनेछ ।

Leave a Reply