September 8, 2024
समाचार समाज

नेपाली कांग्रेसद्वारा ७५ वटा अस्थायी आवास निर्माण

रुकुमपश्चिम, मंगलबार, २६ मङ्सिर २०८० । रुकुमपश्चिममा नेपाली कांग्रेसले ७५ वटा अस्थायी आवास निर्माण गरेको छ । भूकम्प पीडितहरूका लागि निर्माण गरेका आवास कांग्रेसले हस्तान्तरण समेत गरिसकेको छ ।

कांग्रेस रुकुमपश्चिमका प्रवक्ता लालबहादुर ओलीका अनुसार आठबीसकोट नगरपालिका भित्र ५० वटा र सानीभेरी गाउँपालिकामा २५ वटा अस्थायी आवास निर्माण गरिएको हो । आठबीसकोटमा पार्टीका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी र सानीभेरीमा केन्द्रीय सदस्य गुरु बरालको नेतृत्वमा रहेको टोलीले अस्थायी आवास निर्माण सम्पन्न गरेको हो ।

आठविसकोट नगरपालिकाको वडा नम्बर ११, १२, १३ र १४ मा निर्माण भएका ५० वटा र सानीभेरी गाउँपालिकाको वडा नम्बर १, ३, ४, ५, ७ , ८ र ११ मा निर्माण भएका २५ वटा अस्थायी आवास लाभग्राहीलाई हस्तान्तरण गरिएको प्रवक्ता ओलीले जानकारी दिनुभयो ।

कांग्रेसले रुकुमपश्चिममा पाँच सय वटा अस्थायी आवास निर्माणको योजना बनाएको जिल्ला पार्टी सभापति प्रेम प्रकाश ओलीले बताउनुभयो । उहाँका अनुसार टहरा निर्माणका लागि विभिन्न व्यक्तिहरूले जस्तापाता किन्न सहयोग गरेका छन् । अस्थायी आवास निर्माणको काम जारी रहेको सभापति ओलीले उल्लेख गर्नुभयो ।

Leave a Reply