September 10, 2024
प्रवास

गोरखा समाज अष्ट्रेलियाको आयोजनामा अष्ट्रेलियामा ‘आमा सेमिनार’

अष्ट्रेलिया, मंगलबार, २६ मङ्सिर २०८० । गोरखा समाज अष्ट्रेलियाको आयोजनामा मानवसेवा आश्रमले अष्ट्रेलियामा ‘आमा सेमिनार’ गर्ने भएको छ । फेब्रुअरी १३ देखि मार्च १३ सम्म अर्थात नेपाली मिति अनुसार फागुन १ गतेदेखी ३० सम्म अष्ट्रेलियाको सातै प्रदेशमा आमा सेमिनार आयोजना हुने गोरखा समाज अष्ट्रेलियाका अध्यक्ष आनन्द श्रेष्ठले बताउनुभयो ।

मानवता, राष्ट्रियता, परोपकार, राष्ट्र प्रेम र आफूलाई जन्मदिने आमाबुबा र मातृभुमिप्रति महत्व बोध गराई, प्रेम, सद्भाव र करुणालाई जनजनमा पुर्‍याउने उद्देश्यले उक्त सेमिनार अष्ट्रेलियाको विभिन्न शहरमा हुने भएको हो ।

नेपालबाट विदेशिने क्रम बढ्दै गईरहेको बेला विदेशमा रहेका नेपालीलाई देश र देशप्रतिको माया, सद्धभाव र स्नेह बढाउने लक्ष्यसहित मानवसेवा आश्रमले विदेशीभुमिमा समेत आमा सेमिनार गर्न लागेको जनाएको छ । नेपालका विभिन्न जिल्ला र शहरहरुमा आमा सेमिनार गर्दै आएको आश्रमले गत महिना बेलायतमा सफतलापुर्वक आमा सेमिनार सम्पन्न गरेको थियो ।

आश्रमका अनुसार अष्ट्रेलिया लगायत अमेरीका, क्यानडा, बेल्जियम, जर्मनी, फ्रान्स, नेदरल्याण्ड, पोर्चुगल, जापान, हङकङ र कोरिया लगायतमा राष्ट्रहरुमा आमा सेमिनार भव्यता साथ गर्ने तयारी भइरहेको जनाएको छ ।

विगत १५ वर्षदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रशिक्षण दिँदै आएका संस्थाका केन्द्रिय अध्यक्ष रामजी अधिकारीले आमा सेमिनारको प्रस्तुती गर्ने छ ।

१ महिनासम्म अष्ट्रेलियामा हुने आमा सेमिनारमा अष्ट्रेलियामा रहेका सम्पुर्ण नेपालीहरुको प्रत्यक्ष उपस्थिती सहित यसको लाभ लिने अनुमान गरिएको छ । सडकमा रहेका बा(आमाको सेवा तथा संरक्षणमा जुटेको मानवसेवा आश्रमले जन्मदाताप्रति सन्तानको दायित्व, सामाजिक दायित्व बोध गराउन र समाजमा सकारात्मक सन्देश दिन उक्त कार्यक्रम गर्न लागेको हो ।

यद्यपि, यस अघिपनी गोरखा समाज अष्ट्रेलियाको समन्वयमा मानवसेवा आश्रमले अष्ट्रेलियामा श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ आयोजना गरेको थियो । उक्त महायज्ञबाट मानवसेवा आश्रम गोरखा शाखाको भवननिर्माणको लागि विउँपूजीका रुपमा १२ लाख सहयोग गरेको थियो ।

गोरखा समाजले सेमिनारको अघिल्लो दिन मानवसेवा आश्रम गोरखा शाखाको भवननिर्माण सहयोगार्थका लागी अष्ट्रेलिया निवासी नेपालीहरुमाझ गाला डिनर समेत आयोजना गर्ने जनाएको छ ।

गोरखा समाज अष्ट्रेलियाले यस अघि समेत अष्ट्रेलियामा नयाँ वर्ष, चाडवर्ष लगायत विभिन्न रोजगारमुलुक कार्यशाला, आफ्नो भाषा, कला, धर्म, सँस्कार र सँस्कृतिलाई संरक्षण र प्रबर्द्धन गर्दै भाबि पुस्तालाई यसको महत्व प्रत्याभूति गराउने जस्ता कार्यक्रम गर्दै आईरहेको छ ।

यता मानवता प्रवद्धन महाअभियानमा लागेको मानवसेवा आश्रमको लक्ष्य २०८२ सालसम्म सहयोगापेक्षी बेवारिसे सडक मानवमुक्त नेपाल निर्माणको लक्ष्य लिएको छ ।

Leave a Reply