September 10, 2024
समाचार समाज

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय : बुद्धावस्था सुरक्षित नभएको गुनासो

काठमाडौँ, मंगलबार, २६ मङ्सिर २०८० । यौनिक तथा लैङ्गिक समुदायका जेष्ठ नागरिकले आफूहरुले धेरै उत्पीडन सहेको बताएका छन् । उनीहरु मंगलबार मितिनी नेपालले आयोजना गरेको कार्यक्रममा सरकारका नीति तथा कार्यकक्रममा समेत आफूहरुलाई नसमेट्दा जीवनको उत्तराद्ध कष्टकर बनेको गुनोसो गरेका हुन् ।

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका नागरिकले यो समुदायका युवाहरुले भन्दा विकराल परिस्थितीको सामना गरेर बाँचिरहेका मितिनी नेपालकी कार्यकारी निर्देशक सरिता केसीले बताइन् । उनीहरुले मानव अधिकार समेत उपभोग गर्न नपाएको गिरीको भनाई छ ।

‘ती समुदायका जेष्ठ नागरिकले राजनीतिक, आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकार लगायतका मानव अधिकारबाट बञ्चित हुनु परेको अवस्था समाजमा विद्यमान रहेको छ । हाम्रो जेनेरेसनले खुलेर बाँच्न पाएको भएपनि उहाँहरु आज पनि खुल्न सक्नु भएको छैन । कति घरबारविहीन हुनुहुन्छ । कतिलाई परिवारले घरबाट निकालेको अवस्था छ’ गिरीले सुनाइन् ।

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका जेष्ठ नागरिकका कथा समेटिएको पुस्तक समेत सार्वजनिक गरिएको छ । ‘हाम्रो जीवन, हाम्रा ब्यथाहरूः नेपालमा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका जेष्ठ नागरिक’ नाम दिइएको सार्वजनिक किताबमा समुदायका १० जेष्ठ नागरिकका कथा समेटिएका छन् ।

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका ३१ प्रतिशत जेष्ठ नागरिक विवाहबाट नै बञ्चित रहेको मितिनी नेपालको तथ्यांकले देखाएको छ । यो समुदायका ३३ प्रतिशत जेष्ठ नागरिक अहिले पनि एक्लै बस्दै आएका छन् ।

५३ प्रतिशत जेष्ठ नागरिक भने आफ्नो परिवारसँग बस्दै आएका छन्। उनीहरु यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका मानिसको हितका लागि खोलिएका संख्थामा त आउँछन्, उनीहरुले आफूलाई बुझेका पनि छन्। तर, परिवार छोड्नु पर्ने डरले आफ्नो यौनिकताका बारेमा परिवारमा जानकारी नदिएको बताउँछन्।

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका ५ प्रतिशत जेष्ठ नागरिक मात्रै कक्षा १२ सम्मको अध्ययन गरेका छन्। ७ प्रतिशत जेष्ठ नागरिकले एसईई परीक्षा पास गरेको तथ्यांकले देखाउँछ। बाँकीले विद्यालयस्तरीय पढाइ पनि पुरा गरेका छैनन्।

समुदायका २३ प्रतिशत जेष्ठ नागरिकले पूर्णकालीन रोजगारी गर्दै आएका छन् । १३ प्रतिशत जेष्ठ नागरिकले अहिले पनि यौन पेशा अपनाएका छन् । २४ प्रतिशत जेष्ठ नागरिक पूर्णरुपमा बेरोजगार रहेको बताइन्छ ।

यी मध्ये कतिले आफूजस्तै समुदायका व्यक्तिले गरेको आर्थिक सहायताबाट जीवन गुजारा गर्दै आएका छन्। १/१ प्रतिशत जेष्ठ नागरिकले जेष्ठ नागरिक भत्ता र निवृत्तिभरणले आफ्नो गुजारा चलाउँदै आएका छन् । समुदायका बाँकी ५१ प्रतिशत जेष्ठ नागरिकले पार्ट टाइम रोजगार गर्दै आएका छन् ।

यो समुदायका ७८ प्रतिशत जेष्ठ नागरिक अपाङ्गता भएका छन् । १२ प्रतिशत जेष्ठ नागरिकमा मानसिक अशक्तता (भावनात्मक समस्या) रहेको उल्लेख गरिएको छ । मितिनी नेपालले सार्वजनिक गरेको तथ्यांक अनुसार ५ प्रतिशत समुदायका जेष्ठ नागरिकमा पक्षघात तथा पुरानो ढाड दुखाईका कारण शारीरिक अपाङ्गता भएका छन् ।

समुदायका १ प्रतिशत जेष्ठ नागरिकमा कमजोर दृष्टि रहेको बताइएको छ । समुदायका ४ प्रतिशत जेष्ठ नागरिकले भने आफ्नो स्वास्थ्य अवस्थाका बारेमा कुनै जानकारी दिएका छैनन् । समुदायका धेरै जेष्ठ नागरिकले अस्पताल जान अप्ठ्यारो लाग्ने बताएका छन् । अस्पतालमा गरिने ब्यबहार र हेर्ने दृष्टिकोणका कारण आफूहरु अस्पताल जान नसकेको यो समुदायका जेष्ठ नागरिकले गुनासो गरेका छन् ।

अध्ययनमा समावेश भएका धेरै समुदायका जेष्ठ नागरिकले भावनात्मक र मानसिक स्वास्थ्य समस्यका कारण परिवार तथा आफन्तसँग दुरी बढाएको बताएका छन् ।

मंगलबार काठमाडौंमा भएको पत्रकार जमघटमा समुदायका जेष्ठ नागरिकले भने, ‘हाम्रो देशको संविधानले लैङ्गिक तथा यौनिक अल्पसंख्यक लगायतका सम्पूर्ण व्यक्तिलाई समान अधिकार र संरक्षण प्रदान गर्नु पर्छ । यी अधिकारको प्रभावकारी कार्यान्वयन र संरक्षणको सुनिश्चितता गर्नु राज्यको कर्तव्य हो ।’

उनीहरुले समुदायका जेष्ठ नागरिकलाई प्रभाव पार्ने थुप्रै मुद्दाहरु रहेको उल्लेख गरेका छन् । उनीहरुले आफ्नो बुद्धावस्था सुरक्षित नभएको गुनासो गरेका छन् ।

Leave a Reply