लण्डन, मंगलबार, ३ पौष २०८० । गोरखा जिल्ला गुरुङ समाज युकेको ल्होछार कार्यक्रममा नेपालबाट गायक सविन गुरुङ र गायिका निर्जला गुरुङको प्रस्तुति रहने छ ।
शनिबार ३० डिसेम्बरमा फेल्थाम लण्डनमा हुने कार्यक्रममा प्रस्तुति दिन गोरखा जिल्ला गुरुङ समाज यूकेको निमन्त्रणमा सविन र निर्जला बेलायत आउन लागेका हुन् । आयोजक गोरखा जिल्ला गुरुङ समाज यूके अध्यक्ष गौतम गुरुङका अनुसार उनीहरुले बेलायत आउन भिसा प्राप्त गरिसकेका छन् ।
सविन गुरुङ मौलिक गीत र लोकदोहोरी क्षेत्रमा परिचित छन् । गोरखामा जन्मिएका सविन उद्घोषण कला पनि भएका व्यक्ति हुन् ।
पछिल्लो पुस्तामा लाइभ दोहोरीबाट चिनिएकी छिन् निर्जला । दुवै कलाकारले आफूहरु बेलायत आउन भिसा पाएकोले उत्साही रहेको प्रतिक्रिया जनाएका छन् ।
गुरुङ समुदायले यस वर्ष बिरालो बर्ग बिदाइ र मुप्री ल्हो (गिद्ध बर्ग) को स्वागत गरी ल्होछार/ल्होसार मनाउँदै छन् । तमुहरुले नेपाली मितिअनुसार हरेक वर्ष पुस १५ लाई नयाँ वर्ष सुरुआतको दिन मान्ने चलन छ ।