काठमाडौँ, सोमबार, ९ पौष २०८० । लिभिङ विथ आइसिटीले आयोजना गरेको आठौँ संस्करणको ‘अपग्राड आइसिटी अवार्ड २०२३ इन एसोसिएसन विथ इन्ड्राइभ’ शुक्रबार सम्पन्न भएको छ ।
एक दर्जन बढी प्रि–इभेन्ट र पाँच महिनादेखिको छनोट प्रक्रिया र एक महिनासम्म टेलिभिजन कार्यक्रमपछि आयोजना भएको ग्राण्ड फिनालेमा १४ विधामा अवार्ड र सातै प्रदेशका उत्कृष्ट स्टार्टअपलाई सम्मान गरिएको छ ।
सात सय बढीको अनलाइन आवेदनबाट विभिन्न पाँच चरणको छनोटपछि विजेता छनोट गर्दै अवार्ड प्रदान गरिएको हो । उक्त समारोहमा अन्तर्राष्ट्रिय अवार्डका रूपमा आयोजित ‘साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड २०२३’ को पनि विजेता घोषणासँगै पुरस्कृत गरिएको छ । प्रविधि क्षेत्रका अग्रजलाई सम्मान र नयाँलाई प्रोत्साहनको अवसरका रूपमा आयोजना भएको कार्यक्रममा सो क्षेत्रका आठ सयभन्दा बढीको सहभागिता थियो । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उद्घाटन गर्नुभएको कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महत, कर्णाली प्रदेशका मन्त्री कृष्णबहादुर जिसी, इनड्राइभका एसिया प्यासिफिक पिआर प्रमुख पभिट नन्दका साथै श्रीलंका, भारत, बंगलादेश, भुटान र बेलायतबाट सहभागी आएका थिए ।
यस वर्षको पायोनियर आइसिटी अवार्ड २०२३ पहिलो इ-कमर्स सञ्चालक बालकृष्ण जोशीले प्राप्त गर्नुभएको छ । एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२३ सुनैना घिमिरे पाण्डे, प्रोफेसनल एक्सिलेन्स आइसिटी अवार्ड २०२३ एनरेन अध्यक्ष लोचनलाल अमात्य, आन्टरप्रेनर्स आइसिटी अवार्र्ड इन्फिकेयरका सिइओ अनुप शेरचन, नेपाली डायस्पोरा आइसिटी अवार्ड २०२३ प्राध्यापक डा. सुरेश मानन्धरले प्राप्त गरेको आयोजकले जनाएको छ ।
संस्थागत अवार्ड विधामा डिजिटल गभर्नेन्स अवार्ड यस वर्ष नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले प्राप्त गरेको छ भने डिजिटल सर्भिसेस आइसिटी अवार्ड २०२३ तिलगंगा आँखा प्रतिष्ठान, डिजिटल एजुकेसन आइसिटी अवार्ड (पब्लिक सेक्टर) तनहुँको सत्यदेवी माध्यमिक विद्यालय र डिजिटल एजुकेसन आइसिटी अवार्ड (प्राइभेट सेक्टर) काठमाडौंको अध्ययन स्कुलले प्राप्त गरेको छ ।
स्टार्टअप र इन्नोभेसनका विधामा यस वर्ष ‘इनड्राइभ स्टार्टअप आइसिटी अवार्ड २०२३’ यार्सा टेकले प्राप्त गरेको छ भने प्रडक्ट आइसिटी अवार्ड क्युआरपिएले प्राप्त गरेको छ । राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२३ ब्ल्यांकसर, हाम्रो पे पब्लिक च्वाइस आइसिटी अवार्ड २०२३ ‘मनिमित्र’ ले प्राप्त गरेको छ । दक्षिण एसियाली मुलुक लक्षित साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड २०२३ को उपाधि भुटानको समूह मिडिया टेकले प्राप्त गरेको छ ।
यसबाहेक लिभिङ विथ आइसिटीले सातै प्रदेशका सात उत्कृष्ट स्टार्टअपलाई समेत आइएफएन प्रोभिन्स स्टार्टअप आइसिटी रिकग्निसन २०२३ बाट सम्मान गरेको छ । जसका लागि केही महिनाअघि सातै प्रदेशमा स्टार्टअप मिटअप तथा अन्तरक्रिया सञ्चालन गरिएको थियो । यस वर्ष कोशी प्रदेशबाट ट्र्याक अन नेपाल, मधेश प्रदेशबाट एड्स बी मिडिया, बागमती प्रदेशबाट हर्टसन टेक्नोलोजी, गण्डकी प्रदेशबाट रेष्ट्रो एक्स, लुम्बिनी प्रदेशबाट टुना टेक्नोलोजी, कर्णाली प्रदेशबाट बायो कर्णाली एरोमा प्रालि र सुदूरपश्चिम प्रदेशबाट निम इन्फोसिस प्रोभिन्स स्टार्टअप आइसिटी रिकग्निसन २०२३ बाट सम्मानित भएका छन् ।
नागरिक एपले केही समयअघि प्राप्त गरेको वल्र्ड समित (डब्ल्युएसए) अवार्डलाई मन्त्री रेखा शर्माले हस्तान्तरण गर्नुभएको थियो । गभर्नेन्स सिटिजन सर्भिस एप्लिकेसनको प्रतिस्पर्धमा नागरिक एपले ४० बढी देशलाई पछि पार्दै डब्ल्युएसए अवार्ड प्राप्त गरेको थियो । आइसिटी अवार्डले विश्वका विभिन्न प्रतिष्ठित अवार्डसँग पनि सहकार्य गरेको आइसिटी अवार्डका अध्यक्ष तथा डब्ल्युएसएका नेसनल एक्सपर्ट राजन लम्सालले बताउनुभयो ।
वुमन आइकन आइसिटी अवार्ड विजेतालाई एनसेलले तीन लाख नगद पुरस्कार दिएको छ भने स्कुल व्यवस्थापन सफ्टवेयर वेदले डिजिटल एजुकेसन आइसिटी अवार्ड २०२३ (पब्लिक सेक्टर) विजेतालाई पूर्णरूपमा निःशुल्क आफ्नो सफ्टवेयर उपलब्ध गराउने भएको छ । सम्पूर्ण विजेतालाई बगभीले एक वर्षसम्म निःशुल्क साइबर सुरक्षा सेवा उपलब्ध गराउने भएको छ भने राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड विजेतालाई लर्ड बुद्ध एजुकेसन फाउण्डेसनले मास्टर्स इन आइटीका लागि सात लाख छात्रवृत्ति प्रदान गरेको छ ।