काठमाडौँ, शुक्रबार, २ कात्तिक २०८१ । कर्मचारीतन्त्रलाई स्थायी सरकारका रूपमा लिइन्छ । कर्मचारीहरूले भित्री रूपमा चाहेनन् भने जनप्रतिनिधिहरू सफल हुन सक्दैनन् । जनप्रतिनिधिहरूलाई सफल बनाउन कर्मचारीतन्त्रको महत्त्वपूर्ण भूमिका रहने नेकपा एमालेकी सांसद बिजुला रायमाझी बताउँछिन् ।
‘कर्मचारी राष्ट्र सेवक हो भन्ने हिसाबले अघि बढ्यो भने देशमा जनताले दुःख पाउँदैनन्’, उनी भन्छिन्, ‘पछिल्लो समय कर्मचारीहरूमा सुधार आएको छ ।’ कर्मचारीले सेवा नै धर्म हो भन्ने भावनाले मुस्कानसहितको सेवा दिनुपर्ने उनको भनाइ छ । संसदीय भूमिका र कर्मचारी प्रशासनसँग सम्बन्धित रहेर नेकपा एमालेकी सांसद बिजुला रायमाझीसँग गरिएको कुराकानीको सम्पादित अंश ।
संसदमा आफ्नो उपस्थितिलाई कसरी लिनु भएको छ ?
सकेसम्म जनताका बोली बोल्ने, जनजीविकाका समस्याहरूलाई उठान गर्ने र कानून निर्माणमा अधिकतम प्रयत्न गर्ने प्रतिनिधि पात्रको कर्तव्यको रूपमा आफ्नो उपस्थितिलाई लिएको छु ।
कस्ता विषयवस्तुलाई प्राथमिकतामा राख्नु हुन्छ ?
वर्गीय आन्दोलनको प्रतिनिधिको रूपमा संसदमा पुगेको हुनाले समग्र नेपाली महिलाहरू, मजदुरहरू, किसानलगायतका समस्याहरू प्राथमिकतामा रहन्छन् । कहिलेकाहीँ जिल्लासँग सम्बन्धित समस्या पनि उठाउने गरेकी छु । प्रायः गरेर साझा मुद्दालाई नै प्राथमिकता दिएकी हुन्छु ।
सांसदको रूपमा आफूले खेलेको भूमिका प्रति सन्तुष्ट हुनुहुन्छ ?
पहिलो पटक सांसदको रूपमा भूमिका निर्वाह गर्दैछु । भूमिकालाई लिएर असन्तुष्टि हुनैपर्ने र पूर्ण सन्तुष्टि छु भन्नै पर्ने अवस्था छैन । संसदमा कुरा उठान गर्न हामीलाई तीन किसिमका समय उपलब्ध हुन्छन् । त्यो समयलाई अधिकतम प्रयोग गर्ने प्रयत्न गरिरहेकी छु ।
विधेयकमाथिको छलफलमा पनि जुन कामको लागि म आएको हो त्यो काममा केन्द्रित हुनुपर्छ भनेर अत्यन्तै सजक छु । संसदमा भूमिका निर्वाह गर्ने समय अझै पनि बाँकी रहेकोले त्यो अवधिसम्म आफ्नो कर्तव्य पुरा गर्दै जाँदा सन्तुष्टि मिल्न सक्छ । आफूले चाहेका सबै काम सफल हुन पनि सक्छन् नहुन पनि सक्छन् । तर, जनताका समस्या निरन्तर उठाइ रहनुपर्छ भन्ने कुरामा म सजक छु ।
संसदमा बोलेका कुरा कति सम्बोधन हुन्छन् ?
सम्बोधन भएका छन् । संसदमा उठाएका विषयहरू ठ्याक्कै आजको भोलि नै सम्बोधन नहुन पनि सक्छन् । कतिपय कुराहरू आजको भोलि नै सम्बोधन भए भनेर प्रत्यक्ष नदेखिन पनि सक्छन् । तर, सम्बोधन भएन भनेर कुरा उठाउन छोड्नु हुँदैन ।
सदनमा निरन्तररुपमा विभिन्न खालका प्रस्तुति हुन्छन् । आफ्नो दललाई माथि पुर्याउनका निम्ति दलको पक्षका बोल्ने कुरा हुन्छन् । व्यक्तिको पक्षमा बोल्ने कुरा हुन्छन् । आमजनताका विषय पनि हुन्छन् । त्यहाँ उठान गरेका विषयहरू तत्कालै सम्बोधन नभए पनि सरकारलाई दबाब दिने काम हुन्छ । आफूले बोलेका विषयहरू सम्बोधन भए पनि नभए पनि जनताले पठाएका प्रतिनिधिहरूले जनताका आवाज उठाउन छोड्नु हुँदैन ।
सांसदको काम विकास गर्ने कि कानून बनाउने ? के भन्नु हुन्छ ?
वास्तवमा संघीय सांसदको काम विधायिकी नै हो, कानून बनाउने नै हो । सदनमा प्रस्तुत भएका विधेयकमाथि सजक र सचेत भएर छलफलमा भाग लिने, संशोधन हाल्ने, आफ्ना विचार तथा विषयहरूमा अडानमा रहनुपर्ने हो ।
भूमिकाले कानून निर्माण नै हो । तर, जनताले विकासको पनि अपेक्षा गर्दछन् । प्रक्रिया बुझेकाले कानून निर्माण गर्ने थलोमा कत्तिको पहल कदमी लिएको छ भन्ने विषयलाई हेर्छन् भने आमजनताले विकास निर्माणसँगै टोल बस्तीका समस्यासँग पनि जोडिनु पर्छ भन्ने अपेक्षा राख्दछन् ।
खास गरी योजनासँग मात्रै जोडेर हेर्ने वर्ग पनि छ । त्यसरी हेरिनु हुँदैन । विकास निर्माणका लागि तीन तहका सरकार छन् । उनीहरूले पनि काम गर्दछन् ।
संघीय सांसद भनेको विधायिका नै हो र कानून निर्माणमा नै केन्द्रित हुनुपर्छ । नेपालको परिस्थिति र जनताको बुझाईले गर्दा विकास निर्माणसँग पनि जोडिनुपर्ने बाध्यता छ । जनताको प्रतिनिधि भएको हुनाले स्वतः जनजीविका र विकास निर्माणका कुरामा पनि जोडिनु पर्छ ।
कर्मचारीतन्त्र र सार्वजनिक प्रशासनप्रति तपाईँको बुझाई के छ ?
कर्मचारीतन्त्रलाई स्थायी सरकारको रूपमा लिइन्छ । निर्वाचनबाट आउने सरकार क्षणिक सरकार हो । अझै नेपालको राजनीतिक परिस्थिति हेर्दा धेरै वर्षदेखि स्थायी सरकार हुन सकेको छैन ।
कर्मचारी प्रशासनले नै देश चलाएको छ । बाहिर नेपालको सरकार प्रशासनिक हिसाबले कर्मचारीतन्त्रबाटै चलेको छ भन्ने पनि गरिन्छ । जनताप्रतिको सेवा र जनताका समस्याहरूलाई छिटो छरितो सुल्झाउनका निम्ति राजनीतिज्ञको भन्दा कर्मचारीको भूमिका ठूलो छ ।
कतिपय अवस्थामा कर्मचारीतन्त्रले भित्री रूपमा चाहेन भने जनप्रतिनिधिहरू पनि सफल हुन सक्दैनन् । जनप्रतिनिधिहरूलाई सफल बनाउने भनेको कर्मचारीतन्त्र र एउटा संरचना नै हो । अहिलेसम्म यही कुरा नै देखिएको छ ।
कर्मचारी राष्ट्र सेवक हो भन्ने हिसाबले अघि बढ्यो भने देशमा जनताले दुःख पाउँदैनन् । पछिल्लो समय कर्मचारीहरूमा धेरै सुधार आएको छ । जनतालाई अलमलाउने, काममा ढिलासुस्ती गर्ने जस्ता कुरामा कमी आएको छ । केही व्यक्तिगत प्रवृत्तिका कारण अझै पनि केही कुरामा अल्झन हुन सक्छन् । अझै पनि पूर्णरुपमा जनता सन्तुष्ट हुन बाँकी रहेको हुनाले सुधार गर्नुपर्ने धेरै बाँकी छ ।
कर्मचारीतन्त्रमा तपाईँले देख्नु भएका मुख्य समस्या के हुन् ?
कर्मचारीसँग सम्बन्धित कानून निर्माणमा ढिलाइ हुँदा केही समस्याहरू देखिएका छन् । संघीय संरचनाअनुसार कर्मचारी ऐन नहुँदा पुरानो राज्यसत्ताका आधारमा नै कर्मचारीतन्त्र चल्दा कर्मचारीहरूलाई अलमलमा पारेको छ । अधिकार प्रत्यायोजन गर्ने कुरामा पनि समस्या देखिएको छ ।
छलफलको क्रममा रहेको निजामती ऐन जारी भयो भने यसले पनि कर्मचारीतन्त्रमा देखिएका धेरै समस्याहरू समाधान गर्नेछ । केही कर्मचारीहरूमा आफ्नो भूमिका निर्वाह गर्ने भन्दा पनि रोजेको ठाउँमा सरुवा बढुवाका लागि समय र दिमाग खर्च गरेको, दौडधुप गर्ने गरेको पाइन्छ । सिस्टमबाट फाइल अघि बढेर मर्यादित ढंगबाट भन्दा पनि भनसुनको आधारमा भनेको स्थानमा सरुवा हुनका निम्ति केन्द्रित भएको जस्तो देखिन्छ । म त्यहाँ गएर के गर्न सक्छु भन्दा पनि म त्यहाँ गए भने कति कमाई हुन्छ भन्नेमा बढी ध्यान दिएको पाइन्छ ।
सार्वजनिक सेवा सुधारका लागि के गर्नुपर्छ, तपाईँका सुझाव के छन् ?
कर्मचारीमा मैले जनताको करबाट तलब खाएको छु र म जनताको सेवामा समर्पित हुनुपर्छ भन्ने भावना हुनुपर्छ । सेवा नै धर्म हो भन्ने भावनाले मुस्कानसहितको सेवा दिनुपर्छ ।
कर्मचारीमाथि जनताको भरोसा छ र हामीले जिम्मेवारी पुरा गर्नुपर्छ भन्ने कर्मचारीमा हुनुपर्छ । राजनीतिक उथलपुथल भए पनि, सरकार बने पनि नबने पनि कर्मचारीतन्त्र स्थायी सरकार हो र त्यो अनुसार नै कर्मचारीतन्त्र चल्नुपर्छ जिम्मेवार बन्नुपर्छ ।
सांसदसँग आम नागरिकको अपेक्षा के हुँदो रहेछ ?
सांसदसँग नागरिकको प्रमुख अपेक्षा रोजगारीसँग सम्बन्धित रहन्छ । हामीले भोट दिएर जिताएर पठाएपछि हाम्रा समस्या हल हुनुपर्छ भन्ने नागरिकको अपेक्षा हुन्छ ।
सांसदहरुले चाह्यो भने वा सांसदहरुले भन्यो भने जुन कुनै समस्याको पनि समाधान हुन्छ, काम बन्छ भन्ने मनोविज्ञान छ जनतामा । जनताको प्रतिनिधि भएपछि जनताका सबै काम सांसदले गर्न सक्नु पर्छ भन्नेहरू पनि छन् ।
सबै कुरा विकास र बजेटसँग जोड्ने गरिन्छ । बजेट ल्यायो भने राम्रो रोल खेलेको भन्ने बुझाई पनि छ । बजेट पायो भने जनताको नजरमा छिटो मूल्यांकन हुने पनि देखिएको छ ।
अन्त्यमा के भन्न चाहनु हुन्छ ?
दसैँ, तिहार र छठको अवसरमा सबैमा हार्दिक मंगलमय शुभकामना दिन चाहन्छु । बाढी पहिरोबाट मृत्यु भएकाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।
चाडपर्व मनाउने नाममा फजुल खर्च गर्नुको साटो बाढी पहिरो प्रभावितहरूलाई सहयोग गर्न अपिल गर्दछु । प्राकृतिक विपद् जुनकुनै ठाउँमा पनि आउन सक्छ त्यसैले विपदमा परेकाहरूलाई सहयोग गर्नुपर्छ ।