बलिराजा होइन बलिहाङ
काठमाडौँ, शुक्रबार, २ कात्तिक २०८१ । बलिराजाले पश्चिम नेपालको कुन ठाउँमा कति वर्ष शासन गरेका थिए? उनको पुस्ताले कति वर्ष शासन गर्यो? त्यस्तो समृद्ध राज्य कसरी पतन भयो ? जान्न हुटहुटी बढ्यो । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले आदिवासीको मूर्त-अमूर्त संस्कृति सम्बन्धी बल्ढ्याङगढी वृत्तचित्रमा काम गर्ने अवसर जुरायो ।
नेपालको भूगोल र यहाँका आदिवासीको जीवनशैलीबाट निर्मित तिहार जस्ता चाडलाई राज्यसत्ता हातमा लिएका टाठाबाठाले आफ्ना खास स्वार्थका निम्ति हिन्दूकरण गर्दै लगे । त्यसैकारण होला, तिनले तिहारलाई आफ्नो मान्यतासँग जोड्न खोज्दा त्यो चाडको दर्शन र व्यवहार नै अमिल्दो हुन आउँछ ।
पाल्पाको इतिहास र गढी सम्बन्धी पुस्तकहरू अध्ययन र केही इतिहासकार, खोज अनुसन्धातासँगको भेटघाटले बलिराजा सम्बन्धी धूमिल मिथक छाँटिदै थियो ।
बल्ढ्याङगढी र बलिराजाबारे अध्ययन अनुसन्धान गरेका प्रा. राजाराम सुवेदीको शोधमाला जर्नलमा लेखिएको बाह्र मगरातको स्वर्णकालमा बल्ढेङगढी सभ्यताबारे लेखिएको छ। त्यसमा उनले लेखेका छन्, ‘कर्णाली प्रदेशको खस मल्ल साम्राज्यको शक्ति कमजोर भएपछि मगरको नायक बलिहाङ (बलिराजा) को चार हजार योद्धा भएको राज्यलाई मगर भाषामा बुलीह्वाङ भनियो । बुलीह्वाङ सेनाले निर्माण गरेको कटक किल्लालाई बलिहाङगढी भनियो। आजकल बल्ढेङगढी भनिन्छ। यो पाल्पा जिल्लामा पर्छ’ (‘मगर जातिको नालिबेली’ २०६३, पृष्ठ ८-९)।
नेपाली समाज र संस्कृतिका अनुसन्धाता मीन श्रीस मगरका अनुसार मगरात क्षेत्रको पहिलो शक्तिशाली बल्ढ्याङगढी राज्यको स्थापना विसं १४४८ तिर भएको थियो । करीब १५२ वर्ष अस्तित्वमा रहेको राज्यमा पाँच जना राजाहरूले राज्य गरेका थिए ।
किरातीहरूले बलिहाङ मगरात क्षेत्रमा प्रचलित बलिराजा नामले चिनिएका वास्तविक बलि राना मगर नै त्यस राज्यका संस्थापक राजा हुन् । दोस्रो अभय राना मगरको नाम देखिन्छ भने तेस्रो र चौथोको चाहिं इतिहासमा कतै उल्लेख भएको पाइएको छैन ।
अन्तिम राजा रनवीर राना मगर थिए। पाल्पाली राजा मुकुन्द सेनको नेतृत्वमा सात वटा राज्यको सेनाले पराजित गरेकोले बल्ढ्याङगढीको अस्तित्व १६१६ सम्म रहेको पाइन्छ (मगर जातिको इतिहास, पृष्ठ ८५)।
वृत्तचित्र बनाउने क्रममा बल्ढ्याङगढी पुगेर राजा बलि राना मगरका सन्तान र स्थानीयसँग कुराकानी गर्दा बलिराजा सम्बन्धी मिथक अझ स्पष्ट हुँदै गयो। बलिराजाका सन्तान अहिलेको बल्ढ्याङगढीबाट वल्लोपल्लो गाउँतिर बसाइँ सरेका थिए ।