गोरखा, बुधबार, १८ पौष २०८० । उत्तरी गोरखाको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङको सक्रियता राजनीतिकसंगै कृषि पेशामा पनि उत्तिकै छ । राजनीतिमा लागेर २०७९ बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्षमा विजयी भएपछि सिंगो धार्चेको विकास र सम्बृद्धिको जिम्मेवारी बोकेर हिडिरहनु भएका उहाँ राजनीतिक मात्र होइन कृषि पेशामा पनि उत्तिकै सक्रिय र लोभ लाग्दो मेहनत गर्नुहुन्छ ।
धार्चे गाउँपालिका–३, स्थित खोर्लाबेसीमा रहेकोे ‘धार्चे रेन्वे ट्राउट एण्ड अर्गानिक होम’ सञ्चालन गर्दै आउनु भएका अध्यक्ष गुरुङले दिनहुँ पालिकाको सम्पूर्ण जिम्मेवारी पुरा गरेर बाँकी रहेको विहान र बेलुकीको अधिकांस समय त्यहीँ फार्ममा बिताउनुहुन्छ । त्यसैबाट हुने आम्दानीले आफ्नो र सिंगो परिवारको जिविकोपार्जन राम्रोसंग चल्दै आएको उहाँ बताउनुहुन्छ ।
पालिकाको केन्द्र रहेको माछिखोलाबाट करिब वीस मिनेटमा पुग्न सकिने खोर्लाबेसीमा रहेको अर्गानिक फार्ममा उहाँ सकभर हरेक साँझ बासबस्न पग्नुहुन्छ र फार्ममा रहेका माछा पोखरी डुलेर दिनभरीका थकाई मेट्नुहुन्छ । खोर्लाबेशीमा गुरुङले करिब १२ रोपनी क्षेत्रफलको जमिनमा नौ वटा पोखरी निर्माण गरेर व्यवसायिक रेन्वो ट्राउट माछा पालन गर्दै आउनु भएको हो ।
‘‘धार्चेमा धेरै चिसो पानी बगिरहेको छ, उहाँले भन्नुभयो, ‘‘यसलाई उपयोग गर्नुप¥यो भनेर व्यवसायिक रुपमा रेन्व्रे ट्राउट माछा पालन गर्न सुरु गरिएको हो ।’’ बाहय् पर्यटकलाई लक्षित गरेर २०६७ सालमा निर्माण गरिएको अर्गानिक होमलाई रुपान्तरण गरेर अहिले साँझेदारीमा ट्राउट एण्ड अर्गानिक होम सञ्चालन गरेको गुरुङले बताउनुभयो ।
ट्राउट एण्ड अर्गानिक होममा उत्पादित रेन्वो ट्राउट माछा प्रतिकिलो १७ सय रुपैयामा बिक्री हुने गरेको उहाँको भनाई छ । ‘‘अर्गानिक होममा नै पकाएर खाने पर्यटक तथा पाहुनाहरुले ट्राउट माछा प्रतिकिलो २ हजार रुपैया प्रतिकिलो मूल्य तिनुपर्छ, गुरुङले भन्नुभयो, ‘‘घर लैजानेहरुले प्रतिकिलो १७ सय रुपैयामा पाउछन् ।’’
आजभोली मनास्लु पदयात्रामा जाने आउने पर्यटकहरु समेत ट्राउट एण्ड अर्गानिक होममा बसेर ट्राउट माछाको स्वाद चाखेर मात्र फर्कने गरेको उहाँले बताउनुभयो । ‘‘दैनिक करिब ६÷७ किलो माछा बिक्री हुन्छ, उहाँले भन्नुभयो, ‘‘माघ महिनामा तातोपानी मेलाको समयमा त दैनिक दुईतीन क्विन्टलसम्म पनि बिक्री हुँदै आएको छ ।’’
फार्मको उत्पादनले स्थानीय बजारमा नपुग्ने समेत गुरुङले बताउनुभयो । ‘‘ट्राउट माछा पाल्नका लागि १४ देखि १८ डिग्री उपयुक्त तापक्रम हो, उहाँले भन्नुभयो, ‘‘अहिले ट्राउट एण्ड अर्गानिक होमबाट वार्षिक २० देखि २५ क्विन्टल उत्पादन हुन्छ यसबाट राम्रो आम्दानी हुँदै आएको छ ।’’ उत्पादित माछा अधिकांस स्थानीय बजारमा खपत हुने गरेको भएपनि केही भने आरुघाट बजार बिक्री हुने गरेको छ ।
रेन्वो ट्राउट माछा दुई बर्षमा ३ सय ग्रामसम्मको हुने र अन्य माछाको तुलनामा अन्यन्तै स्वादिष्ट हुने भएकाले पनि ग्राहकहरुको रोजाई पर्ने गरेको गुरुङले बताउनुभयो । उहाँले अर्गानिक फार्ममा माछा पालन वाहेक माछाको भुरा उत्पादन गर्ने ह्याचरी सञ्चालन गरिएको छ भने एरोविक कफी खेती र लोकल कुखुराको पालन समेत गर्दै आउनुभएको छ ।
‘‘धार्चेमा चिसो पानी भएकाले ट्राउट माछा पालनको प्रंसस्त सम्भावना रहेको छ, उहाँले भन्नुभयो, ‘‘धार्चेका किसानहरुलाई हौसला प्रदान गर्नका फार्ममा नै भुरा उत्पादनका लागि ह्याचरी समेत सञ्चालन गरिएको छ ।’’ फार्म सञ्चालनका लागि करिब तीन करोड रुपैयाका लगानी भएको उहाँले जानकारी दिनभयो ।
‘‘ट्राउट एण्ड अर्गानिक होममा माछाका लागि दाना उत्पादन गर्ने गर्नका लागि एक जना तालिम प्राप्त व्यक्तिलाई शेयर सदस्यको रुपमा राखिएको छ, उहाँले भन्नुभयो, ‘‘सामुहिक रुपमा कमाउने र रोजगारी प्रदान गर्ने उद्देस्य पनि छ ।’’ ‘‘वाहिरबाट आउने पर्यटकले बोकेर ल्याएर फोहोर फाल्ने ठाउँ मात्र धार्चेलाई बनाउनु हुँदैन, गुरुङले भन्नुभयो, ‘‘धार्चेको उत्पादनले बजारलाई आत्मानिर्भर बनाउनुपर्छ ।’’
अहिले सञ्चालन गरिएको ट्राउट एण्ड अर्गानिक होम बाह्य भन्दापनि आन्तरिक पर्यटकलाई लक्षित गरी सञ्चालन गरिएको उहाँको भनाई छ । ग्रामिण परिवेश भएकाले धार्चेमा सानो लगानीमा तर सफा र स्वच्छ संरचना निर्माण गरेर पर्यटकलाई आर्कषित गर्नुपर्ने उहाँले बताउनुभयो । ‘‘धार्चे आउने पर्यटकलाई यहीँको उत्पादनको स्वाद चखाउन सके स्थानीय किसानले उत्पादन गरेको बस्तु बिक्री पनि हुने र किसानले पैसा पाउने अवस्था सृजना हुन्छ, गुरुङले भन्नुभयो,‘‘ त्यसोगर्दा स्थानीय किसानहरुको आयआर्जन बृद्धि गर्न मद्दत पुग्छ भन्ने विश्वास छ ।’’
फार्मबाट अहिले बार्षिक १ लाख ट्राउट माछाको भुरा उत्पादन गर्न सकिने अध्यक्ष गुरुङले बताउनुभयो । ‘‘फार्मका लागि आवश्यक पर्ने ३० हजारदेखि ३५ हजारसम्म मात्र माछाको भुरा उत्पादन गर्ने गरिएको छ, उहाँले भन्नुभयो, ‘‘भुराको माग भए त एकलाखसम्म पनि उत्पादन गर्न सकिन्छ ।’’
एउटा उमेर पुगेका माछाबाट १५० ग्राम अण्डा उत्पादन हुन्छ भने एकग्राम अण्डाबाट १६ वटा भुरा उत्पादन हुने गुरुङको भनाई छ । फार्ममा अहिले भुरा उत्पादनका लागि ६ सयवटा पोथी माछा रहेको छ । फार्म मार्फत धार्चेका किसानहरुलाई माछा पालनमा प्रोत्साहनका लागि तालिम सञ्चालन गर्ने तयारी गरेको छ ।