काठमाडौँ, शुक्रबार, २ कात्तिक २०८१ । स्थानीय तहमा रिक्त ३९ पदका लागि आउँदो मंसीर १६ गते उपनिर्वाचन हुने भएको छ ।
मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले मङ्सिर १६ गते उपनिर्वाचन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताउनु भयो । निर्वाचन आयोगले गरेको सिफारिशका आधारमा उपनिर्वाचनको मिति तोकिएको सरकारका प्रवक्ता गुरुङले बताउनु भयो ।
यसअघि प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया सहितको आयोगको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उपनिर्वाचनको मिति तोक्न सिफारिश गरेको थियो ।
अहिले स्थानीय तहका ३९ पद रिक्त छन् । जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष तीन, वडाध्यक्ष नौ, नगरपालिका मेयर एक, उपमेयर एक र वडाध्यक्षका २१ पद रिक्त छन् ।
नेपालको संविधान तथा स्थानीय तह निर्वाचन ऐन, २०७३ मा पदावधि समाप्त नहुँदै पद रिक्त भएमा र एक वर्षभन्दा बढी समय बाँकी रहेको अवस्थामा उपनिर्वाचन गर्नुपर्ने व्यवस्था छ। त्यही व्यवस्था बमोजिम उपनिर्वाचनको तयारी गरिएको आयोगले जनाएको छ ।