नन्दकृष्ण जोशी
काठमाडौँ, शुक्रबार, २७ पौष २०८० । तत्कालीन राजा नरभूपाल शाहका चारवटी रानीमध्ये पाल्पाका राजा गन्धर्व सेनकी छोरी कौशल्यावतीका गर्भबाट विसं १७७९ पुस २७ गते पृथ्वीनारायण शाहको जन्म गोरखामा भएको थियो । उनलाई सौतेनी आमा चन्द्रप्रभावतीले स्नेहपूर्वक लालनपालन गरिन् । गुरुहरू अर्याल, पण्डित र जोशीले सानैमा रामायण, महाभारत चाणक्य नीतिलगायतका धर्मशास्त्रका पुस्तकहरू पढाए । त्यसबेला सानो उमेरमै विवाह गर्ने प्रचलन थियो । चौध वर्षको उमेरमै मकवानपुरका राजा हेमकर्ण सेनकी छोरी इन्द्रकुमारीसँग पृथ्वीनारायण शाहको प्रथम विवाह भयो । अहिलेको जस्तै त्यसबेला पनि पहाड र तराईको विवाहको प्रचलनमा केही फरकपन थियो ।
विवाह गरेपछि दुलही नलिएर घर फर्केका उनी पुनः दुलही लिन भनी केही दिनपछि मकवानपुर गए । त्यसबेला पनि विवाहमा दाइजोमा दिने वचन गरेका केही सामग्री नपाएपछि जेठान दिगबन्ध सेनसँग झगडा गरी पुनः गोरखा फर्केका उनले ठूलो अपमान सम्झेँ । तिष्ठुङ, पालुङ र चन्द्रागिरिबाट काठमाडौं उपत्यकाको सौन्दर्य अवलोकन गर्दै फर्कने क्रममा उपत्यकाको हराभरा सौन्दर्यले उनमा उपत्यकामा राज गर्ने सोच पलायो ।
उनीसँगका भानु जैशी, कुलानन्द जैशीलगायतका व्यक्तिले उपत्यकाका तीन शहरको परिचय पनि गराए । सोही कुरा पृथ्वीनारायण शाहको दिव्योपदेशमा वर्णन गरिएको पाइन्छ । आफ्ना पिताको निधनपछि २० वर्षको कलिलो उमेरमै पृथ्वीनारायण शाह गोर्खाका राजा भए । नरभूपाल शाहमा पनि आफ्नो राज्य विस्तार गर्ने सोच नभएको होइन । नुवाकोटसँग उनले युद्ध गरेका थिए तर असफल भए । पिताको चाहनालाई पछि पृथ्वीनारायणले पूरा गरेका थिए ।
नुवाकोट, उपत्यका र अन्य पूर्वाञ्चलतिरका सबै भूभाग कब्जा गरी बृहत् नेपाल एकीकरण गर्नका लागि पृथ्वीनारायण शाहले १६ वर्षदेखि ३० वर्ष उमेरसम्मका सबै जातिका पुरुषलाई अनिवार्य सैनिक सेवामा भर्ना गर्न लगाए ।
इतिहासकारका अनुसार बाबा गोरखनाथले उनलाई ६ वर्षको उमेरमै राज्य विस्तारसम्बन्धी आशीर्वाद दिँदै, ‘तेरो पाउले कुल्चेको भूभागमा तेरो अधिकार रहनेछ’ भनेका थिए रे । इतिहासलाई केलाएर हेर्दा पृथ्वीनारायण शाहलाई यो आशीर्वाद लागेको जस्तो देखिन्छ । उनको जीवनी र राज्य एकीकरण गरेको इतिहास पढ्दा बढो अनौठो लाग्छ । इतिहास अनुसार तत्कालीन पाल्पाका युवराज उद्योतसेन उनका मामा थिए । मामाले उपत्यका विजय गर्नका लागि केही राजनीतिक अर्ती दिए । जसअनुसार गोरखासँगै जोडिएको लमजुङसँग मैत्रीसम्बन्ध राख्नुपर्ने सल्लाह मामा उद्योतले दिए । उनले ‘लमजुङ भन्याको गरुड हो, गोर्खा भन्याको सर्प हो, नेपाल (काठमाडौं उपत्यका) भन्याको भ्यागुता हो । पहिले गरुडको आँखा छल्नु अनि सर्पले भ्यागुतो समात्न सक्छ’ भनेका थिए ।
आफ्ना मामाको अर्तीअनुसार पृथ्वीनारायण शाहले तत्कालीन गोर्खाका राजा रिपुमर्दन शाहसँग आफ्ना सहयोगी कालु पाण्डेको मदतले चेपे नदीको किनारामा मित्रताको सम्बन्धमा आधारित राजनीतिक सन्धि गरे । भनिन्छ चेपे नदीको मित्रताको सन्धि नै कालान्तरमा पृथ्वीनारायण शाहलाई उपत्यका विजयी गराउने सूत्र बन्न गयो । उक्त सन्धिका चारवटा सूत्रहरू दुवै राजाले पालना गरे । उपत्यकामाथि विजयी बन्न कूटनीतिमा चतुर पृथ्वीनारायण शाहले भक्तपुरका तत्कालीन राजा रणजित मल्लाका छोरा वीरनरसिंह मल्लसँग मित लगाए । काठमाडौं र पाटनका राजा हरूले भक्तपुरका राजालाई ससाना कुरालाई लिएर झगडा गर्ने, एकल्याउने गरेका थिए । गोरखाका राजासँगको मित्रताले रणजित मल्ल खुशी भएका थिए ।
त्यो खबर पाएर कान्तिपुरका राजा जयप्रकाश मल्लले पनि पृथ्वीनारायण शाहसँग मित लगाउने इच्छा व्यक्त गरे । उक्त खबर उनलाई सुखद रहृयो । इतिहासविद् बालचन्द्र शर्माका अनुसार कान्तिपुरसँग पनि उनको मित्रता कायम भएको देखिन्छ । उपत्यकाका राजाको मित्रतासँगै ससाना राज्यलाई एकीकरण गर्ने उनको अभियान दोस्रो सूत्रका रूपमा सहायक सिद्ध भएको मानिन्छ । इतिहास भन्छ, त्यसबेला नुवाकोट कान्तिपुरका राजा जयप्रकाश मल्लको अधीनमा थियो । गोरखा दरबारमा रहेका मगर र पन्तबीचको झगडाका कारण इसं १७४३ मा भएको नुवाकोटसँगको लडाइँमा गोरखाली फौजले हार व्यहोर्नु पर्यो ।
पृथ्वीनारायण शाहको दोस्रो बिहे भारतको बनारसमा भएको थियो । नुवाकोटमाथि भएको युद्धमा पराजयको बदला लिन उनले ससुरालीबाट प्रशस्त मात्रामा हतियार खरिद गरी गारेखा पुर्याए । अग्लो स्थानमा रहेको नुवाकोटलाई उनले घेरामा राखे । बर्खामासमा त्रिशूली तरेर भेष बदल्दै कालु पाण्डेको चातुर्यमा पृथ्वीनारायणको साहसले लडाइँबाट नुवाकोट हात पारे । गोरखाली सेनाबाट भागेर जयप्रकाश मल्लको सेनामा गएका जयन्त रानालाई पक्रेर पृथ्वीनारायण शाहले छाला काडी हत्यासमेत गरिदिए । यस्तै घटना कीर्तिपुरको प्रथम पटकको लडाइँ भएको बल्खु खोलामा कालु पाण्डे शिवरामसिंह बस्नेतसहित गोर्खाली ४०० फौजको क्षतिको बदला उनले कीर्तिपुरको तेस्रो पटकको लडाइँमा जित हात पारे ।
नुवाकोट, उपत्यका र अन्य पूर्वाञ्चलतिरका सबै भूभाग कब्जा गरी बृहत् नेपाल एकीकरण गर्नका लागि पृथ्वीनारायण शाहले १६ वर्षदेखि ३० वर्ष उमेरसम्मका सबै जातिका पुरुषलाई अनिवार्य सैनिक सेवामा भर्ना गर्न लगाए । ज्योतिष कुलनन्दको ठह¥याइ अनुसार सन् १७६८ २६ सेप्टेम्बरमा उपत्यकामाथि आक्रमण गर्ने निर्णय भयो । तुलराम पाण्डे, वंशराज पाण्डे, केहरसिंह बस्नेतको नेतृत्वमा एक हजार जति गोर्खाली सेना कीर्तिपुरमा भेला भए । तीनतिरबाट उपत्यका आक्रमण गर्ने निधो गरे । नरदेवीबाट पृथ्वीनारायण शाहको नेतृत्वमा, दोस्रो दलले भीमसेनस्थानबाट र तेस्रो दलले टुँडिखेलतिरबाट आक्रमण गर्ने योजना बनाए ।
काठमाडौंका अन्तिम राजा जयप्रकाश मल्लदेखि उनका सेना पनि विदेशी सेनालाई बढी सेवा दिएको भनी त्यसबेला रिसाएका थिए । उनले आर्थिक समस्या समाधान गर्न गुठीमा राखेको सम्पत्ति पनि झिकिसकेका थिए । एक किसिमले आर्थिक मन्दी पनि जयप्रकाश मल्ललाई परिसकेको थियो । यस कामबाट कान्तिपुरका जनता उनीदेखि रुष्ट थिए भन्ने कुरा इतिहासविद्ले बताएका छन् । यी विविध कारणले गोरखाली फौजका अगाडि जयप्रकाश मल्लका सेनाको केही जोर चलेन । आखिर हार स्वीकारे । काठमाडौं विजय गरेको दश दिनपछि ललितपुरका राजा र काजीलाई आत्मसमर्पण गर्न पृथ्वीनारायण शाहले अराए । सो अनुसार त्यहाँका काजीहरूले उनको आज्ञा पालना गर्दै आत्मसमर्पण गरे ।
काठमाडौंका राजा जयप्रकाश र ललितपुरका राजा तेजनरसिंह मल्ल भक्तपुरका राजा रणजित मल्लकहाँ शरण लिन पुगे । पृथ्वीनारायण शाहले उनलाई फिर्ता पठाउन अराए पनि भक्तपुरका राजाले शरणमा आएकालाई मरण दिन हुन्न भनी वचन दिए । १ हजार ५०० जति गोरखाली सेनाले भक्तपुरमाथि आक्रमण गरे । भक्तपुरका पनि ५०० सेना सोको मुकाबिला गर्न अघि सरे तापनि गोरखाली फौजको अगाडि केही चलेन । तीन दिनसम्म लडाइँ चल्यो । शरण लिन गएका राजासहित भक्तपुरका राजा रणजित मल्ल पनि दरबारबाट भर्याङ चढी शहर बाहिर निस्कने क्रममा थिए । आखिरमा भक्तपुर दरबारको झ्यालबाट आफ्नो सेतो पगरी बाहिर देखाएर आत्मसमर्पणको संकेत दिए ।
गोरखाली सेनाका सेनापति सुरप्रताप शाहले गोरखाली सेनालाई आक्रमण बन्द गर्ने संकेत दिए । यसरी विसं १८२५ मा इन्द्र जात्राको दिनमा उपत्यकामा पृथ्वीनारायण शाह र उनका फौजले विजय हासिल गरे । भक्तपुर विजय गरेपछि उनी काठमाडौंलाई आफ्नो राजधानी बनाएर परिवारसहित बस्न थाले । पृथ्वीनारायण शाहले व्यक्तिको र राजा हरूको उचित कदर गर्न पनि जानेको कुरा उनका विचारबाट प्रष्टिन्छ ।
एक ठाउँमा उनले- ‘तेजनरसिंह मल्ललाई मूर्ख, जयप्रकाश मल्ललाई वीर र रणजित मल्ललाई विद्वानको उपमा दिएका थिए ।’ नेपाल राष्ट्रको एकीकरणमा जीवन बिताएका बडामहाराजाले जिन्दगीको उत्तरार्धमा सन् १७७४ डिसेम्बरमा नुवाकोट दरबारमा बसेर आफ्ना भाइ, भारदार र कर्मचारीलाई बोलाई अनेकौं अर्ती, उपदेश र देशका बारे गहन विचार हरू सुनाए । जसलाई उनका ‘दिव्योपदेश‘ पनि भनिन्छ । ती दिव्योपदेश १८औं शताब्दीमा जति सान्दर्भिक थिए २१औं शताब्दीमा पनि उत्तिकै मननीय छन् । ‘घुस दिन्या र घुस लिन्या देशका शत्रु हुन्’ भनेका छन् । यसैगरी राज्यविस्तार सम्बन्धी उपदेशमा ‘मेरा साना दुःखले आज्र्याको मुलुक होइन, सबै जातको फूलबारी हो, सबैलाई चेतना भया ।’ भनेका छन् ।
विलाशिताको जिन्दगीबाट सधैं टाढा रहने पृथ्वीनारायण शाहलाई बृहत् नेपालको एकीकरणको पूरै जिन्दगी समर्पण गरेकाले उनी नेपालका राजा मात्र होइन बडामहाराजाधिराज पदवीबाट सम्मानित हुन पुगे । उनी राजा हुँदा गोरखाको सिमाना चेपे नदीदेखि धादिङसम्म मात्र सीमित थियो । उनले यसलाई बढाएर पूर्वमा मेची नदीसम्म पुर्याए । पश्चिममा गढवाल र सतलजसम्म नेपालको विस्तार उनका छोरा बहादुर शाहले गरेको इतिहासमा उल्लेख छ । पृथ्वीनारायण शाहले राजनीतिक एकीकरणमात्र गरेनन् प्रशासनिक, आर्थिक र सांस्कृतिक एकीकरण पनि गरेका थिए । उनी महान् कूटनीतिज्ञका साथै ठूला राजनीतिज्ञ पनि थिए ।
नेपाल धेरै विद्वान, विदुषी र राजनेता हरू जन्माउने मुलुक हो । इतिहासका कालखण्डमा ती विशिष्ट व्यक्तित्वले राष्ट्रका प्रति ठूलो गुन लगाएका छन् । नेपाल एकीकरणको अभियानमा पृथ्वीनारायण शाहको योगदान पनि अविस्मरणीय रहृयो ।
स्थानीय जनतालाई हात लिन उनी सिपालु थिए । नेपालको इतिहासमा राष्ट्रियताको जग बसाल्ने श्रेय बडामहाराजधिराजलाई जान्छ । उनले राजनीतिक र कूटनीटिक क्रियाकलापको परिणाम नेपालीलाई विदेशीको गुलामी बन्नु परेन, सार्वभौम सम्पन्न राष्ट्रका स्वतन्त्र नागरिक भएर बस्ने सूत्र दिलाए ।
‘नेपाल दुई ढुंगाबीचको तरुल हो’ उनको यो महान् वाणीले उत्तरको चीन र दक्षिणको भारतसँग नेपालीले सदैव असल छिमेकीको सम्बन्ध कायम राख्नुपर्छ भन्ने अर्ती दिलाउँछ । त्यसबेला इष्ट इण्डिया कम्पनीको शासनका जानकार भएका कारण नै उनले, ‘यिनीहरू सियो भएर प्रवेश गर्छन् हात्ती भएर निस्कने रणनीति अङ्ग्रेजहरूको रहेको छ’ भनेका छन् । राज्य विस्तारका क्रममा बडामहाराजाधिराजले आफ्ना सहयोगी हरू कालु पाण्डे, तुलाराम पाण्डे, वंशराज पाण्डे, अभिमानसिंह बस्नेत, केहरसिंह बस्नेत, शिवरामसिंह बस्नेत र श्रीहर्ष पन्त जस्ता कुशल व्यक्तिको उचित कदर गरेका थिए । यसै गरी उनको दरबारमा विद्वान हरू शक्ति बल्लभ, ललित बल्लभ, कुलानन्द, शिवानन्द र वेणुधरजस्ता व्यक्तिको कदर हुने गथ्र्यो ।
‘जाई कटक नगर्नु झिकी कटक गर्नु, चीनका बादशाहसित ठूलो घाहा राख्नु’ भन्ने अर्ती दिने उनले आफ्नो शासन कालमा कसैलाई काखा र कसैलाई पाखा पारेनन् । लडाइँ कालमा खस भाषाको पनि विस्तार भएको पाइन्छ । कर्णालीको सिंजा प्रान्तबाट उत्पत्ति भएको खस भाषा उनको पालामा गौरवका साथ बोल्ने गरिन्थ्यो, जसरी वर्तमान अवस्थामा पनि सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका नरनारीले बोलेर नेपाली खस भाषाको श्रीवृद्धि गरिराखेका छन् ।
‘प्रजा मोटा भया दरबार बलियो हुन्याछ, राजाले सिपाही र दुनियाँलाई हात लिइराख्नु, कसैको मोलाहिजामा लाग्न नदिनु नुनको पछि लाग्नु’ आदि जस्ता उपदेशले वर्तमान कालको शासन प्रणालीप्रति पनि सजक गराएको पाइन्छ । राष्ट्र निर्माणका महान् नायक उनलाई नेपालका मात्र होइनन् विदेशी विद्वान् हमिल्टनजस्ताले पनि कदर गर्थे । राष्ट्र निर्माणको बाँकी कार्य आफ्ना उत्तराधिकारी प्रतापसिंह शाह र बहादुर शाहलाई जिम्मा लगाए । यस्ता महान् व्यक्तिको नुवाकोट नजिकै देवीघाटमा ज्वरोका कारण सन् १७७५, १० जनबरी अर्थात् विसं १८३२ पुस २५ गतेका दिन ५२ वर्षको उमेरमा निधन भयो ।
नेपाल धेरै विद्वान, विदुषी र राजनेताहरू जन्माउने मुलुक हो । इतिहासका कालखण्डमा ती विशिष्ट व्यक्तित्वले राष्ट्रकाप्रति ठूलो गुन लगाएका छन् । नेपाल एकीकरणको अभियानमा पृथ्वीनारायण शाहको योगदान अविस्मरणीय रहृयो भने नेपाली भाषाको उन्नयनका लागि आदिकवि भानुभक्त आचार्यलाई भुल्न सकिँदैन । यसैगरी स्व.कृष्णप्रसाद कोइरालाका छोरा बीपी कोइरालालाई लोकतन्त्र र समाजवादका शिखरपुरुष सम्झेर चीरकालसम्म नेपाली हरूले सम्झिरहनेछन् । त्यसैले हरेक वर्ष पुस २७, असार २९ र साउन ६ गते नेपालीहरूका लागि अविस्मरणीय दिनहरू हुन् ।