September 10, 2024
राजनीति समाचार

गोरखा कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान माघ १३ गतेदेखि २६ गतेसम्म

गोरखा, बिहिबार, ११ माघ २०८० । नेपाली कांग्रेस गोरखाले यही माघ १३ गतेदेखि समुदायमा कांग्रेस अभियान सञ्चालन गर्ने भएको छ । कांग्रेसको केन्द्रीय निर्णयानुसार चितवनमा ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्न लागिएको हो ।

माघ १३ देखि २६ गतेसम्म कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्न लागिएको कांग्रेस गोरखाका सचिव कृण्णबहादुर आलेले जानकारी दिनुभयो । जिल्लामा तोकिएका केन्द्रीय प्रतिनिधिको उपस्थितिमा जिल्ला कार्यसमितिको विस्तारित बैठक बसी ‘समुदायमा कांग्रेस’ अभियानको प्रारुप तयार गरिने आलेले बताउनुभयो ।

अभियानलाई सार्थकरूपमा सफल पार्न जिल्लास्थित पालिकाको प्रत्येक वडामा नेपाली कांग्रेसका महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्ला पदाधिकारी र प्रत्यासी तथा जिल्लास्तरका वर्तमान एवं पूर्वनेतृत्वलाई वडा प्रतिनिधिका रूपमा खटाइने उहाँले जानकारी दिनुभयो ।

यस अभियानअन्तर्गत गोरखाका ११ पालिकाका सवै वडामा खुला छलफल तथा बहस कार्यक्रम राखी नागरिकको गुनासो सुन्ने र सुझाव सङ्कलन गरिने छ ।

अभियानकै क्रममा विकास निर्माण आयोजना, विद्यालय, स्वास्थ्यचौकी, वडा कार्यालयलगायत जनसरोकारका कामकारबाहीको अवलोकन गरिनेछ । यस अभियानबाट प्राप्त सुझावका आधारमा पार्टीको आगामी रणनीति र कार्ययोजनासमेत तय गरिने छ ।

Leave a Reply