काठमाडौँ, नेपालले सन् २०२४ को सेप्टेम्बरमा चार दशकयताकै ऐतिहासिक वर्षा र उच्च तापक्रमको सामना गरेको छ ।
जल तथा मौसम विभागको प्रारम्भिक प्रतिवेदनले सेप्टेम्बरमा देशभर औसतका तुलनामा १७०.१ प्रतिशत वर्षा भएको देखाएको छ । सेप्टेम्बरमा सरदरमा २४२.९० मिलिटिर वर्षा हुने गरेकोमा यो वर्ष भने ४१३.१ मिलिमिटर पानी परेको थियो। यो सन् १९८१ यता सेप्टेम्बर महीनामा सबैभन्दा धेरै मापन गरिएको वर्षा हो ।
यो महीना बागमतीदेखि सुदूरपश्चिमसम्मका विभिन्न भूभागमा ४०० मिलिमिटरभन्दा बढी वर्षा भयो। सबैभन्दा बढी वर्षा हेटौंडामा ७७८.७ मिलिमिटर रेकर्ड गरियो। एकै दिन उच्च वर्षाको रेकर्ड पनि यही महीना कायम भएको थियो ।
सेप्टेम्बर २८ मा दामन स्टेशनमा २४ घन्टाको अवधिमा ४१० मिलिमिटर वर्षा मापन गरिएको थियो। जुन यो महीनाको सबैभन्दा ठूलो एकदिने वर्षा थियो ।
मनसुनको अन्त्यतिर बाङ्लादेश र पश्चिम बंगाल नजीक गहिरो न्यूनचापीय प्रणालीले नेपालमा अत्यधिक वर्षा निम्त्याएको थियो । मनसुन सकिने वेला भएको असाधारण वर्षाले जलवायु परिवर्तनका संकेतलाई अझ स्पष्ट बनाएको छ। यो वर्षाले देशको मध्य र पूर्वी भागमा जनधनको ठूलो क्षति गराएको छ ।
वर्षा मात्रै होइन, सेप्टेम्बरमा तापक्रमले पनि देशका अधिकांश भागमा नयाँ उचाइ कायम गर्यो। लहानमा २३ सेप्टेम्बरमा ३९.५ डिग्री सेल्सियसको सर्वाधिक तापक्रम मापन भयो । विभागले सेप्टेम्बर महीनामा देशका अधिकांश भूभागको औसतका तुलनामा बढी अधिकतम तापक्रम रेकर्ड भएको जनाएको छ । सेप्टेम्बरमा देशका अधिकांश स्थानमा न्यूनतम तापक्रम पनि औसतभन्दा बढी पुगेको देखायो। यसले दिउँसो र राति बढी तातो अनुभूति भयो ।
यो महीनाले धेरैलाई प्रश्न उठाउन बाध्य बनाएको छ- के यो चरम वर्षा र तापक्रमको वृद्धि जलवायु परिवर्तनको दिगो प्रभावका रूपमा देखा परेको हो ? देशका ग्रामीण तथा शहरी क्षेत्रमा पनि यसको प्रत्यक्ष असर देखिन थालेको छ । अत्यधिक वर्षाले धेरै ठाउँमा बाढी र पहिरो निम्त्याएको छ, जसले कृषि, पूर्वाधार र जीविकोपार्जनलाई नराम्ररी प्रभावित गरेको छ ।
यस घटनाले नेपाल सरकारलाई विपद् व्यवस्थापन र जलवायु अनुकूलनमा पुनर्विचार गर्न घचघच्याएको छ । आज मात्रै विश्व ब्यांकले नेपाललाई आपत्कालीन प्रतिकार्य र विपद् प्रतिरोधात्मक क्षमतामा सुधार गर्न १५ करोड अमेरिकी डलर (करीब २० अर्ब रुपैयाँ) ऋण दिन स्वीकृति जनाएको छ ।