पोखरा, शनिबार, २० माघ २०८० । नेपाल सरकारका माननीय उपप्रधानमन्त्री एवं गृह मन्त्री नारायणकाजी श्रेष्ठबाट शनिबार गण्डकी प्रदेश प्रहरी कार्यालयको निरीक्षण भ्रमण सम्पन्न भएको छ ।
निरीक्षण भ्रमणका क्रममाउपप्रधानमन्त्री एवं गृह मन्त्री नारायणकाजी श्रेष्ठले गण्डकी प्रदेश प्रहरी कार्यालय अन्तर्गत रहेका विभिन्न शाखा, मातहतका सम्पुर्ण प्रहरी कार्यालयहरुको भौतिक संरचना, जनशक्ति व्यवस्थापन तथा प्रहरी गतिविधिबारे जानकारी समेत लिनुभयो ।
सो क्रममा उहाँले सरकारको प्रत्यक्ष उपस्थितिनै प्रहरी भएको चर्चा गर्दै जनताको संविधानको रक्षा र पालना तथा नागरिकको जिवन रक्षाको लागि सबै निकाय गम्भीर हुनुपर्ने बताउनुभयो ।
आत्महत्या, महिला तथा बालबालिका विरुद्ध हुने हिंसा प्रति राज्य अत्यन्तै संवेदनशील रहेको बताउँदै त्यस्ता हिंसा न्यूनिकरणको लागि गम्भीरता पूर्वक लिन समेत उहाँले उपस्थित प्रहरी अधिकृतहरुलाई निर्देशन दिनुभयो ।
प्रहरी राज्य र समाजको अभिन्न अंग रहेको चर्चा गर्दै मन्त्री श्रेष्ठले प्रहरीको साथ साथै नागरिकको भूमिकलाई समेत सहजता एवम् सफलताका साथ निर्वाह गर्न प्रहरी कर्मचारीहरुले सक्षमता प्राप्त गर्नेमा विश्वास व्यक्त गर्नुभयो ।
निरीक्षणमा नेपाल प्रहरी प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको समेत सहभागिता रहेको थियो ।
निरीक्षणकै अवसरमा बोल्दै प्रहरी महानिरीक्षक कुँवरले उपप्रधानमन्त्री एवं गृह मन्त्री श्रेष्ठको निर्देशनले आगामी दिनमा प्रहरी थप व्यावसायिक र उर्जावान हुने विश्वास व्यक्त गर्नुभयो ।
सो अवसरमा धन्यवाद ज्ञापन गर्दै प्रहरी नायव महानिरीक्षक बिकासराज खनालले मन्त्रीबाट भएको अत्यन्त सारगर्भित, समयसापेक्ष र व्यावसायिक निर्देशन कार्यान्वयनका लागि प्रतिबद्ध रहेको बताउनुभयो ।