September 8, 2024
मनोरञ्जन

राष्ट्रियता र स्वाधीनताको विषयमा ‘काँडेतार’

काठमाडौँ, बुधबार, २ फागुन २०८० । नेपाली चलचित्र ‘काँडेतार’ को ट्रेलर सार्वजनिक भएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको ट्रेलर सार्वजनिक भएको हो । सार्वजनिक ट्रेलरमा सीमा रक्षाको विषय समेटिएको छ ।

राष्ट्रियता र स्वाधीनताको विषयमा ट्रलेर केन्द्रित छ । नेपालको सीमा भारतले मिचिरहेको अवस्थामा यसलाई रोक्न सीमामा काँडेतार लगाउनुपर्ने चलचित्रले वकालत गरेको छ ।

अभिनेता नबल खड्काको निर्देशन एवं शिवम अधिकारी र नबल खड्काको लेखन रहेको काँडेतार सामना फिल्मस प्रा.लि.को ब्यानरमा निर्माण गरिएको हो । चलचित्रमा नबल खड्का, गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरी र बाल कलाकारमा नादिया खड्का र सनया खड्कालगायतको अभिनय छ ।

नबल खड्का, माकिको राई र अञ्जु केसीको निर्माण रहेको चलचित्र काँडेतारको कार्यकारी निर्माता सत्यकला राई हुनुहुन्छ । राष्ट्रवादी, चेतनामूलक एवं ऐतिहासिक विषयवस्तुका चलचित्रहरू निर्माण गरी नेपाली चलचित्र क्षेत्रमा अलग पहिचान बनाउनुभएका नायक एवं निर्माता खड्काको काँडेतार राष्ट्रवादी धाराको एक सशक्त चलचित्रको रूपमा लिइएको छ ।

यो चलचित्र यही फागुन २५ गतेदेखि देशभरका सिनेमा घरमा प्रदर्शनमा आउँदैछ । देशका विभिन्न ठाउँमा च्यारिटी प्रदर्शन गरिएको यो चलचित्र अब भने हलमा सार्वजनिक हुनलागेको हो । ‘देशभरबाट प्राप्त उत्साहजनक प्रतिक्रियापछि हामी चलचित्रलाई हलमा ल्याउँदैछौं । अहिलेको सन्दर्भमा यो फिल्मको सन्देश र महत्व झन् बढेर गएको छ’, निर्देशक खड्काले भन्नुभयो । चलचित्र विकास बोर्डले यो चलचित्रलाई विशेष फिल्मको रूपमा घोषणा गर्दै १० लाख रुपैयाँ प्रोत्साहन शुल्क पनि प्रदान गरेको छ ।

Leave a Reply