September 10, 2024
समाचार समाज

बृद्धाभत्ता लिएर वडाध्यक्ष श्रेष्ठ घरघरमा

गोरखा, शनिबार, ५ फागुन २०८० । गोरखाको भीमसेन थापा गाउँपालिका–१ मसेल स्थित माँझथोकका टेकबहादुर श्रेष्ठ उमेरले ९४ बर्ष पुग्नुभयो । जेष्ठ नागरिकहरुलाई सरकारले जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता दिने व्यवस्था अनुसार उहाँले पनि २४ बर्षदेखि सामाजिक सुरक्षा भत्ता लिदै आउनु भएको छ ।

वडाध्यक्ष विकास श्रेष्ठको नेतृत्वमा वडाका कर्मचारी सहितको टोली बिहिवार सामाजिक सुरक्षा लिएर उनै ९४ बर्षका श्रेष्ठको घरमा पुग्यो । घरबाहिर रहेको खाटमा बसीरहनु भएका उहाँ खुशीले गदगद् मात्र हुनु भएन, सकीनसकी उठेर वडाध्यक्ष श्रेष्ठलाई गर्लम्म अंगालो हालेर धाप मार्नुभयो र भन्नुभयो हाम्रो सेवा गरीरहनु भएको छ तपाईको भलो होस् ।

वडाध्यक्षसहितको टोलीले बैकिङ लगायतका सवै कागजपत्र मिलाएर चालु आर्थिक बर्षको दोस्रो त्रैमासिक अन्र्तगत प्राप्त गर्ने १२ हजार रुपैया हातमा थमाइदिएपछि बृद्ध श्रेष्ठ फेरी लठ्ठी टेकेर फुर्तिलोसंग उठेर फनफनी नाँच्दै खुशी व्यक्त गर्नुभयो । उहाँ भत्ता पाएर मात्र होइन जनप्रतिनिधिले घरमै ल्याएर कागजपत्र मिलाएर भत्ता उपलब्ध गराएकाले खुशी हुनुभएको हो ।

सरकारले बैंकिङ प्रणाली मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेपछि सकीनसकी भत्ता बुझ्न बैंकसम्म धाउनुपर्ने बाध्यताले हैरान भएका जेष्ठ नागरिकहरुलाई घरघर र टोलटोलसम्म जनप्रतिनिधि, वडाका कर्मचारी र बैंकका कर्मचारी आएर सेवा दिन थालेसंगै राहत पुगेको छ ।

‘‘भत्ता बुझ्न कसरी पुग्ने होला चिन्ताले सधै सताउने गथ्र्यो, जेष्ठनागरिक श्रेष्ठले भन्नुभयो, ‘‘हामीजस्ता हिडेर जाउजाउ गर्न नसक्नेहरु, भत्ता बुझ्न बैंकमा लामो समयसम्म लाइनमा बस्नुपर्दा भत्ता बुझ्ने बेला भयो कि निक्कै हैरानी खेप्नु पथ्र्यो तर अहिले त बैंकको सवै कागजात सहित घरमै भत्ता बुझ्न पाएपछि खुशी नहुने कुरै भए नि ।’’

बिहिवार घर बाहिर प्लास्टिकको टाट ओछ्याएर भुइमा पल्टिरहनुभएकी मसेल खगिथोककी १०३ बर्षकी मममाया धिताल नजिकै पुगेर वडाध्यक्ष श्रेष्ठले आमा कस्तो छ तपाईलाई हामी भत्ता लिएर आएका छौ भनेर बोलाउनुभयो । उठ्न बस्न समेत निक्कै सकस पर्ने बृद्धा धितालले आर्शिवाद दिदै कागजपत्रमा ल्याप्चे लगाउनुभयो ।

कागज पत्र सवै मिलाएपछि वडाध्यक्ष श्रेष्ठले उहाँलाई पनि तीन महिनाको भत्ता वापतको १२ हजार रुपैया हातमा थमाइदिनुभयो । हातमा पैसा लिदै बृद्धा धितालले भन्नुभयो, ‘‘तपाईले जितेर आएपछि हामीलाई धेरै सजिलो भएको छ सवैले तपाईले जस्तै जनताको सेवा गर्दिए कस्तो हुन्थ्यो होला ।’’
२०७९ सालमा बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनका बेला गरेको प्रतिवद्धता अनुसार वडा भित्रका रहेका अशक्त, अपांगता भएका र हिडडुल गर्न नसक्नेहरुका लागि घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको वडाध्यक्ष श्रेष्ठ बताउनुहुन्छ ।‘‘मेरो वडामा ४५ जना भन्दाबढी लाभग्राहीको घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्नुपर्छ, उहाँले भन्नुभयो, ‘‘हिडडुल गर्नसक्ने बाँकी रहेका लाभग्राहीहरुलाई भने टोलटोलमा घुम्ती सेवा मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएका छौ ।’’

बैंकमा पर्याप्त कर्मचारी नहुँदा सवैको अशक्त, अपांगता भएका र हिडडुल गर्नै नसक्ने लाभग्राहीहरुलाई मात्र वडाको कर्मचारी समेत परिचालन गरी घरघरमा सेवा दिदै आएको उहाँको भनाई छ । ‘‘घरघरमा सामजिक सुरक्षा भत्ता लिएर पुग्दा जेष्ठनागरिकहरुको खुशीको कुनै सिमा नै हुँदैन, वडाध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘‘हामीले बैंकिङ भौचर मार्फत लाभग्राहीलाई भुक्तानी दिने र ल्याप्चे लगाएर आवश्यक सवै प्रक्रिया पूरा गरेर घरघरमा भत्ता वितरण गर्दै आएका छौ ।’’

वडाध्यक्ष श्रेष्ठले जेष्ठ नागरिकहरुको नियमित रुपमा घरघरमा पुगेर स्वास्थ्य जाँच समेत गर्दै आएको उहाँले बताउनुभयो । ‘‘प्रत्येक बृद्धबद्धाहरुलाई घरमै चिकित्सकहरु लगेर व्लड प्रेसर सुगर जाँच गरिदिने, औषधीहरु सेवन गर्नुपर्नेहरुलाई निशुल्क उपलब्ध गराउने पनि गर्दै आएका छौ, वडाध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘‘म आफुपनि स्वास्थ्यकर्मी भएकाले सजिलो भएको छ ।’’

Leave a Reply