September 8, 2024
समाचार समाज

समुदायमा विभेद र हिंसा भोग्न बाध्य : निर्देशक सरीता के.सी

काठमाडौँ, सोमबार, ७ फागुन २०८० । लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजनामा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको विषयमा अन्तरक्रिया कार्यक्रम काठमाडौँमा सम्पन्न भएको हो ।

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको मुद्धाहरु जस्तै राजनीतिक सहभागिता, स्वास्थ्य, शिक्षा, रोजगारी, यौनिक तथा लैंगिक अल्पसंख्यक महिला र ज्येष्ठ नागरिकको विषयमा मितिनी नेपालकी कार्यकारी निर्देशक सरीता के.सी.ले प्रस्तुतिकरण गर्नु भएको थियो ।

उहाँले राजनीतिक वा नीतिगत तहमा समुदायको उपस्थिति नभएकोले समुदायले अझ विभेद र हिंसा भोग्नु परेको बताउनु भयो । साथै समुदायको यौन तथा प्रजनन् स्वास्थ्यको विषय लगायत आत्मिय सम्बन्धमा हुने हिंसा, बच्चा ग्रहणका लागि काउन्सिलिङ, आई.भि.एफ. प्रविधि, महिलामात्र महिनावारी हुन्छन् भन्ने गलत बुझाई आदिका बारेमा जानकारी दिनु पर्ने जोड दिनु भयो ।

कार्यक्रममा निल हीरा समाजबाट भुमिका श्रेष्ठले पनि प्रस्तुतिकरण गर्नु भएको थियो । यसै गरी लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको सम्बन्धमा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सामाजिक समावेशीकरण तथा सामाजिक सुरक्षा शाखाका उपसचिव दशरथराम ओडले प्रस्तुतिकरण गर्दै समुदायका विषयमा राज्यका नीतिगत व्यवस्था तथा प्रयासहरुबारे छलफल गर्नु भयो ।

खुल्ला छलफलबाट अघि बढेको कार्यक्रममा सहभागिहरुले मन्त्रालयलाई विभिन्न प्रश्न एवम् जिज्ञासाहरु राखेका थिए । अन्तरक्रिया कार्यक्रममा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधि, राष्ट्रिय महिला आयोग, कर्मचारी, लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय, मिडियाकर्मी गरी ९० जनाको सहभागिता रहेको थियो ।

Leave a Reply