September 8, 2024
साहित्य

साहित्य सुधा नेपालको पाँचौं वार्षिकोत्सव सम्पन्न

काठमाडौँ, बिहिबार, १० फागुन २०८० । साहित्य सुधा नेपालको पाँचौं वार्षिकोत्सव सम्पन्न भएको छ । साहित्य सुधा नेपालकी अध्यक्ष कल्पना काफ्लेको अध्यक्षता तथा नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वउपकुलपति प्राडा विष्णुविभु घिमिरेको प्रमुख आतिथ्यमा वार्षिकोत्सव सम्पन्न भएको हो ।

वार्षिकोत्सवको अवसरमा महाकाव्यकार सीता भट्टराईलाई हरिभक्त साहित्य सुधा सम्मान तथा पुरस्कार-२०८० बाट सम्मान गरिएको थियो । कार्यक्रमका अध्यक्ष कल्पना काफ्ले, पुरस्कारका संस्थापक अध्यात्म चिन्तक कवि हरिभक्त सिग्देल र प्रमुख अतिथि प्राडा विष्णुविभु घिमिरेले नगद राशि १५ हजार रुपैयाँका साथ दोसल्ला ओढाएर एकैसाथ स्रष्टालाई सम्मान गर्नुभएको थियो ।

साठीको दशकदेखि साहित्य साधनामा लाग्नुभएकी उहाँले छन्द कविता, गद्य कविता, उपन्यास, समालोचना तथा बालसाहित्यमा कलम चलाउनुभएको छ । उहाँका कला र भावको संगम, भद्रा घले सेवा र साधना, चिन्तनसँगको यात्रा, को हो आफ्नो, फूलको साथी हामी, मुक्तिनाथ बाबा, मैले पढेका कथा, शिवगोपाल रिसालको महाकाव्यमा वेदान्त दर्शन, रामप्रसाद ज्ञवालीको कवितामा वर्गद्वन्द्व र समानता जस्ता दर्जनौं कृति प्रकाशित छन् ।

कार्यक्रममा प्राडा प्राज्ञ देवी नेपालले सम्मानित स्रष्टाबारे बोल्नुभएको थियो । उहाँले कवि भट्टराई सुझाव लिएर कार्यमा रूपान्तरण गर्ने सचेत लेखक भएको बताउनुभयो । त्यस्तै, वरिष्ठ समालोचक प्राडा रामप्रसाद ज्ञवालीले सम्मानित स्रष्टालाई शुभकामना दिँदै सम्मानित स्रष्टा जस्तोसुकै अप्ठयारोमा पनि संघर्ष गर्न पछि नहट्ने र समग्रमा उहाँको जीवनी नै पठनीय रहेको बताउनुभयो ।

कवि कृष्णदेव रिमालले सञ्चालन गरेको कार्यक्रममा कृष्णप्रसाद प्रसाईं, जानुका गुरागाईं, दुर्गाप्रसाद सिग्देल, पवित्रा दाहाल, पूजन मिश्र, बोधराज पौडेल, लक्ष्मण गाम्नागे, विष्णुप्रसाद आचार्य र श्रीराम राईले कविता तथा मुक्तक वाचन गर्नुभएको थियो ।

कार्यक्रममा अध्यक्ष काफ्लेले वाचकहरूलाई आ-आफ्ना फोटोसहितको कप उपहारको रूपमा प्रदान गर्नुभएको थियो । पुरस्कारका संस्थापक अध्यात्म चिन्तक कवि हरिभक्त सिग्देलले संस्थाका अध्यक्ष काफ्लेको उद्धारवादी सोच तथा क्रियाशीलताबाट प्रभावित भएर पुरस्कारको स्थापना गरेको बताउनुभयो ।

कार्यक्रममा वरिष्ठ पद्य कवि प्रहृलाद पोख्रेल र मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेले पनि आ-आफ्नो मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा गत साल सम्मानित स्रष्टा तथा महाकाव्यकार चन्द्रप्रसाद न्यौपाने, सल्लाहकार तथा मुक्तककार रमेश पौडेल, लीलाध्वज थापा प्रतिष्ठानका संस्थापक अध्यक्ष विजयध्वज थापा, मुक्तककार सुनिल अधिकारी, प्राडा गोविन्दमानसिंह कार्की, सिस्नुपानीका अध्यक्ष लक्ष्मण गाम्नागे, डा.वासुदेव काफ्लेलगायत व्यक्तित्वको उपस्थिति रहेको थियो ।

‘साहित्यको संवद्र्धन, हाम्रो अभियान’ भन्ने नाराको साथ स्थापना भएको संस्थाको साधारणसभाबाट कल्पना काफ्लेको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित भएको छ । संस्थाका उपाध्यक्षमा गणेश मार्मिक घिमिरे, सचिवमा कृष्णदेव रिमाल, कोषाध्यक्षमा इन्दिरा दाहाल निर्वाचित हुनुभएको छ । त्यस्तै सदस्यहरूमा राजेन्द्र घिमिरे, मुकेश रिजाल, पवित्रा दाहाल, डिल्लीप्रसाद मूलतिहुन र जानुका गुरागाईं निर्वाचित हुनुभएको छ । प्राडा रामप्रसाद ज्ञवाली र प्राडा देवी नेपाल संरक्षक रहेको संस्थाका परिकल्पनाकार कवि मनीषा प्रसाईं हुनुहुन्छ ।

Leave a Reply