September 8, 2024
खेलकुद

ओलम्पिक खेलाडीलाई गण्डकी सरकारको सम्मान तथा स्वास्थ्य बीमा

पोखरा, बुधबार, २३ फागुन २०८० । गण्डकी प्रदेशबाट ओलम्पिक खेलमा सहभागी भएका खेलाडीलाई गण्डकी प्रदेश सरकारले सम्मान गरेको छ । मासिक ५ हजार रुपैयाँका दरले (वार्षिक ६० हजार रुपैयाँ) सहित प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार खेलाडीलाई सम्मान गरेका हुन् ।

सम्मानीत हुने खेलाडीमा बाग्लुङकी भगवती खत्री, गोरखाका टिकाबहादुर बोगटी, ऋषिराम प्रधान, ज्ञानबहादुर बोहोरा, तनहुँका सिताराम शाही, राजेन्द्रबहादुर भण्डारी, कास्कीका मनिषा अधिकारी, नारायणबहादुर गुरुङ र नवलपुरका तिलकराम थारु छन् । ओलम्पियनलाई सम्मान गर्दै मुख्यमन्त्री पाण्डेले सरकार र खेलाडीबिचको सम्बन्ध खेल खेलिरहेका बेला मात्र नभई सँधै रहनुपर्ने बताए ।

‘हिजो राष्ट्रका लागि खेल्नुभएका खेलाडी आज को कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, राज्यले उहाँहरुलाई सम्झनुपर्छ भन्ने लागेर प्रदेश सरकारले यो कार्यक्रम संचालन गरेको हो,’ मुख्यमन्त्री पाण्डेले भने । यो कार्यक्रमलाई आगामी वर्षहरुमा पनि निरन्तरता दिने सरकारको योजना रहेको उनले बताए ।

यसबाहेक गण्डकी प्रदेश सरकारले खेलाडी कल्याणकारी कार्यक्रम अन्र्तगत यसवर्ष प्रदेश खेलकुद परिषद्मा सुचिकृत पाँचसय ९४ जना र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा सहभागी एकसय जनाको स्वास्थ्य बीमा पनि गरेको छ । खेल क्षेत्रको विकास, खेलाडीको सम्मान र नयाँ पुस्तालाई खेलतर्फ आकर्षित गर्न प्रदेश सरकारले खेल मैदान स्तरोन्नती, विद्यालय, जिल्ला स्तरीय प्रतियोगिता लगायतका कार्यक्रम संचालन गर्दै आएको प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव श्रीधर शर्माले बताए ।

Leave a Reply