September 10, 2024
साहित्य

गोरखामा नेता तथा लेखक चिरञ्जीवी वाग्लेको ‘बहादुर शाह’ लोकार्पण

गोरखा, बुधबार, २३ फागुन २०८० । नेपाली काँग्रेसका नेता तथा लेखक चिरञ्जीवी वाग्लेको ‘बहादुर शाह’ नामक उपन्यास आज गोरखा सदरमुकाममा एक कार्यक्रम बिच लोकार्पण गरिएको छ । गोरखाबाट राज्य विस्तार थालेका पिता पृथ्वीनारायण शाहको कदमलाई निरन्तरता दिने बहादुर शाहबारे पुस्तक चर्चा गरिएको छ ।

पिता पृथ्वी नारायण शाहको निधनपछि राज्य विस्तार गर्ने कार्यभारलाई यिनले नै निरन्तरता दिएका थिए । आफ्नो नायबी कालमा बहादुर शाहले नेपालको नक्सालाई पूर्वमा टिष्टा नदी र पश्चिममा काँगडासम्म फैलाउन सफल भएको पुस्तकमा लेखकले समावेश गरेका छन् ।

तर, दरबारभित्रको षड्यन्त्रकै सिकार भई युवा अवस्थामै रहस्यमय मृत्यु भएका बहादुर शाहको अन्त्यसँगै नेपालको राज्य विस्तार पनि थामियो । दरबारभित्र हत्या हिंसा र षड्यन्त्रको शृंखला पनि बाक्लियो । नेपालको सिमाना खुम्चिन पुग्यो र राज्य कमजोर बन्दै गयो ।

बहादुर शाहको जीवनीमा आधारित ऐतिहासिक उपन्यास ‘बहादुर शाह’ को पाण्डुलिपि २०७६ सालमै तयार भए पनि पुनर्लेखन र सम्पादन प्रक्रियाले समय लिएको उपन्यासकार वाग्लेले बताए । यसैबीच आएको कोरोना महामारीले पनि यो पुस्तकको प्रकाशन तालिका लम्बिन पुगेको वाग्ले बताउँछन् ।

‘नेपालका कतिपय ऐतिहासिक पात्रहरूलाई गैरआख्यान पुस्तकमा पढ्दा लेखकीय आग्रहको झलक पनि भेट्दै आएको थिएँ,’ वाग्ले स्पष्ट पार्छन्, ‘म साहित्यमा रुचि राख्ने साहित्यकै विद्यार्थी भएको हुनाले आफूले जानेकै विधाबाट उपन्यासमार्फत बहादुर शाहको कथा प्रस्तुत गर्ने जमर्को गरेको हुँ ।’

‘मैले अघिल्लो पुस्तकमा पृथ्वीनारायण शाहको राज्य एकीकरणलाई समेटिसकेपछि त्यसलाई अघि बढाएका बहादुर शाहको कथा नभनिँदा इतिहास अधुरै रहन पुगेको महसुस भयो,’ वाग्ले भन्छन्, ‘त्यसबाहेक यो देशलाई असाध्यै माया गर्ने तर किनारामा पारिएका एक महत्वपूर्ण पात्र बहादुर शाहप्रतिको मेरो लगावको कारण नै यो पुस्तक लेख्न पुगेँ ।’

वाग्लेका अनुसार उनले यस पुस्तकको पाण्डुलिपि तयार पार्नासाथ उति बेलै संस्कृतिविद् तथा इतिहास अध्येता सत्यमोहन जोशीलाई पढ्न दिएका थिए । जोशीको हस्तलिखित ‘दुई शब्द’लाई उनीप्रतिको सम्झनास्वरूप पुस्तकको प्राक्कथनमा समावेश गरिएको छ ।

विशालकाय नेपालको निर्माणमा निर्वाह गरेको प्रमुख भूमिका सधैँ ओझेलमा परेको देखापर्दछ,’ जोशीले लेखेका छन्, ‘नेपालको राष्ट्रिय इतिहास र राजनीतिका विद्यार्थी र राष्ट्रप्रेमी पाठकहरूका लागि यो ग्रन्थ ज्यादै पठनीय र ज्ञातव्यको स्रोत साधन भएको छ ।’

उनले लेखेको ‘बहादुर शाह’ उपन्यासको ‘बहादुर शाह’ उपन्यासका बारेमा कार्यक्रममा प्रा.डा.नवराज कट्टेल, डा.लोकप्रसाद भट्टराई, विनोदकुमार भट्टराई र युदप्रसाद अधिकारीले समिक्षा गरेका थिए । लेखक वाग्लेको यो तेस्रो पुस्तक हो । यस अघि उनका ‘बन्धनशालामा खीर’ र ‘बलिदानले बनेको देश’ पुस्तक प्रकाशित भईसकेका छन् ।

नेपालको इतिहास पढ्दै आएका पाठकहरूका निम्ति बहादुर शाह साहसिक र स्वप्नद्रष्टा पात्र हुन् । योग्य पिताका सुयोग्य पुत्र अथवा अभागी राजकुमारका नाममा पनि उनलाई इतिहासमा उल्लेख गरिएको छ । कतिपय इतिहासकारले त उनलाई राष्ट्रिय विभूतिभन्दा माथिको योगदान दिएका तर विभूति नबनाइएका पात्र पनि भनेका छन् । पब्लिकेसन नेपाञ्लयले ‘बहादुर शाह’ प्रकाशन गरेको हो ।

गोरखा स्रग्रालय परिषरमा भएको लोकार्पण कार्यक्रम ऐतिहासिक क्षेत्र संरक्षण तथा बिकास समितिले आयोजना गरेको थियो । कार्यक्रममा गोरखा नगरपालिकाका मेयर कृण्णबहादुर राना मगरले समेत आफ्नो धारणा राखेका थिए ।

उपान्यासको जेष्ठ नागरिक नारायणभत्त अर्यालले गरेका हुन् ।

Leave a Reply