लुम्बिनी, शनिबार, २६ फागुन २०८० । हिजोआज हुक्काको सेवन फेसन जस्तै बनेको छ । भेटघाटमा मनोरञ्जनको रुपमा लिने जमात ठूलो छ । पछिल्लो समय हुक्का युवायुवतीहरुमा अत्यन्तै लोकप्रिय बन्दै गएको पाइन्छ । रेष्टुरेन्ट तथा बारमा गएपछि हुक्का सेवन गर्दै सामाजिक सञ्जालमा तस्बिर राख्ने प्रवृत्ति पनि मौलाउँदै गएको देखिन्छ । यो कति हानिकारक छ, यसले शरीरमा पुर्याउने घातक असरबारे धेरैजना अनभिज्ञ छन् भने कतिपयहरु भ्रममा ।
यसको लत गम्भीर बन्दै गएको छ । हुक्काको सिसामा रहेको पानीले हानिकारक तत्वहरुलाई छान्ने काम गर्छ भन्ने कथन सत्य नभएको स्वास्थ्य क्षेत्रका विज्ञहरु बताउँछन् । उनीहरुका अनुसार चुरोट भन्दा कम असर गर्छ भन्ने गलत धारणा र विभिन्न स्वादका हुक्का सेवनले युवा पुस्ताहरुको आकर्षण गरे पनि बालबालिकाहरुको स्मरण शक्तिमा प्रत्यक्ष असर पुर्याउँछ ।
डाक्टरका अनुसार प्रतिघण्टा हुक्का सेवन गर्दा एक सयदेखि दुई सय खिल्ली चुरोट सेवन गर्नु बराबर हुन्छ। हुक्कामा निकोटिन, भारी धातु, कार्बनमोनोअक्साइड, कार्सिनोजेनको मात्रा अत्यधिक हुन्छ, जसले स्वास्थ्यमा गम्भीर असर गर्छ ।
वरिष्ठ मुटु तथा छाती रोग विशेषज्ञ डाक्टर कृष्ण खनालले भने, ‘अत्यधिक हुक्का सेवनले संक्रमणको सम्भावना बढ्नुको साथै मुटु सम्बन्धी रोग, पाठेघरको क्यान्सर, फोक्सो सम्बन्धी रोग, मुत्रथैली, स्तन, मुख, र अन्ननली समेतलाई असर पुर्याउँछ । धूमपान गर्ने व्यक्तिको अकालमै मृत्यु हुने सम्भावना धूमपान नगर्ने व्यक्तिको भन्दा २ देखि ३ गुणा बढी हुन्छ। निष्क्रिय धूमपान गर्ने व्यक्तिमा मुटु सम्बन्धी रोग र फोक्सोको क्यान्सर हुने उच्च जोखिम हुन्छ।’
‘हुक्का ४ देखि ५ जनाभन्दा धेरै व्यक्तिहरुले सामूहिक रुपमा लिने भएकाले एक व्यक्तिमा भएको रोग अर्को व्यक्तिमा सजिलै संक्रमण र पाइपको सफाई नगरेमा विभिन्न प्रकारका सरुवा रोगको खतरा उच्च हुन्छ। चुरोटभन्दा ३ गुणा निकोटिन, १० गुणा कार्बनमोनोअक्साइड, २५ गुणा टार, ५० गुणा लिडको मात्रा हुन्छ’, वरिष्ठ डा. खनालले भने ।
हुक्का सेवन अन्य सूर्तीजन्य पदार्थजस्तो हानिकारक होइन भन्ने गलत विश्वास र भ्रमका कारण युवामाझ पछिल्लो समय लोकप्रिय बन्दै गएकाले हुक्काले ज्यानै लिने रोगहरु उत्पन्न गराउन सक्ने जोखिमलाई प्रवाह नगरी यसका प्रयोगकर्ता दिनहुँ बढ्दै गएको पाइएको छ ।
यसो भन्छन्, स्वास्थ्य जानकार
चुरोट, बियर तथा वाइन पिएको फोटो देखाउन लाज मान्नेहरु हुक्का पिएको फोटो भने सामाजिक सञ्जालमा अपलोड गर्ने प्रवृत्ति बढ्दै गएको छ । जसले गर्दा किशोरकिशोरीहरु प्रभावित भएर हुक्काको कुलतमा लाग्ने गरेको देखिन्छ । रेष्टुरेन्टहरुमा १५ देखि २५ वर्ष उमेर समूहका युवायुवतीहरुले नियमित हुक्काको प्रयोग गर्ने गरेको एक सर्वेक्षणले देखाएको स्वास्थ्य जानकार चुडामणि पोख्रेल बताउँछन् ।
उनका अनुसार हुक्काले दीर्घकालीन असरहरु दम, मुटुसम्बन्धी रोग, श्वासप्रश्वाससम्बन्धी रोग, मुख, घाँटी, पेटको क्यान्सर, पल्मोनरी इन्फेक्सनजस्ता रोगहरु लाग्ने सम्भावना हुने मृत्युदरको मात्रा बढाउने गर्छ ।
हुक्कामा निकोटिन मात्र होइन, विभिन्न क्यान्सरजन्य पदार्थ रहेको अनुसन्धानबाट पत्ता लागिसकेको छ। हुक्कामा सूर्तीलाई तातो बनाई धुँवा उत्पन्न गर्न बलिरहेको चार्कोल प्रयोग गरिन्छ, यसमा अतिरिक्त अन्य विषाक्त तत्वहरु पनि हुन्छन् ।
हुक्कामा निकोटिन, तार, कार्बनमोनोअक्साइड, आर्सेनिक, बेन्जिन, लिड, क्रोमियम, कोबाल्ट, निकेल, एक्रोलिन जस्ता हानिकारक तत्व प्रयोग गरिएको हुन्छ । जसले मानव स्वास्थ्यका लागि गम्भीर समस्याहरु उत्पन्न गराउने जानकार पोख्रेलको भनाइ छ ।