Skip to content Skip to sidebar Skip to footer

एन्फामा सिस्नेरी घटनाका पीडित परिवारको धर्ना

काठमाडौँ, शुक्रबार, ७ मङ्सिर २०८१ । सिस्नेरी घटनाका पीडित परिवारले न्यायको माग गर्दै बिहीबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा धर्ना दिएका छन् । गत असोज ११ गते देशभर भएको अविरल वर्षका कारण एन्फाले मकवानपुरस्थित सिस्नेरीमा सञ्चालन गरेको एकेडेमीबाट सुरक्षित स्थानमा सर्ने क्रममा आएको पहिरोमा परी ६ जना बालकले ज्यान गुमाएका थिए ।

घटनामा परी प्रियान्स आचार्य, अनुपम घलान, विकल रेग्मी, साइमन योञ्जन, आदित्य बलम्पाखी र विवश बानियाँको मृत्यु भएको थियो । सिस्नेरीको घटना फगत प्राकृतिक प्रकोपमात्र थिएन । त्यहाँ एकेडेमीमा थुप्रै लापरबाही भएको र त्यही लापरबाहीका कारण ६ अबोध बालकले ज्यान गुमाउनुपरेको विश्लेषणहरू पनि आइरहेका थिए ।

संघीय संसद् चलेको थिएन । तथापि समितिमार्फत् यो घटनामाथिको छलफल संसद्सम्म पुग्यो । आफ्ना अबोध सन्तानले अनाहकमा ज्यान गुमाउनुपरेको विषयले संसदीय छलफलमै प्रवेश पाएपछि अभिभावकलाई सन्तान गुमाए पनि कम्तीमा न्याय पाउने आशा थियो । यही आशा बोकेर प्रहरी, एन्फा, राष्ट्रिय खेलकुद परिषद्, युवा तथा खेलकुद मन्त्री हुँदै प्रधानमन्त्रीसम्म न्यायको भिख माग्दै धाउनमै अभिभावकहरूले झण्डै दुई महिनाको समय खर्चिए ।

यसअघि अभिभावकले अब नबोली न्याय नपाउने ठहर गर्दै मंगलबार पत्रकार सम्मेलन गरेका थिए । जहाँ सिस्नेरी घटनामा ज्यान गुमाएका सबै ६ खेलाडीका अभिभावक थिए । बारम्बार न्यायको माग गर्दा पनि सुनुवाइ नभएपछि उनीहरूले एन्फा मुख्यालयमा धर्ना दिएका हुन् । धर्नाका क्रममा सातदोबाटोको माहोल केही तनावपूर्ण बनेको थियो ।

धर्नाका क्रममा प्रहरीले हस्तक्षेप गर्दा केहीबेर धकेलाधकेल भएको थियो । केही अभिभावकलाई प्रहरीले लछारपछारसमेत गरेका थिए । पीडितहरू भित्र पस्न खोज्दा प्रहरीले गेटमा रोकेका थिए । एन्फाले पीडित परिवारलाई आठ लाख रुपैयाँ राहत दिने घोषणा गरेको छ । तर, पीडितहरूले आर्थिक सहायताभन्दा पनि घटनाको यथार्थ बाहिर ल्याएर दोषीलाई कारबाही हुनुपर्ने बताइरहेका छन् ।

एन्फाले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ स्थित वत्सला माविमा ४० जना बालकहरूलाई फुटबल प्रशिक्षणका लागि क्याम्पमा राखेको थियो । दुई महिनाअगाडि देशभर बाढीपहिरो आउँदा कुलेखानीको बाँध फुट्न सक्ने भन्दै त्यहाँबाट केही बालकहरू सुरक्षित स्थानतर्फ भागेका थिए । तर, बाटोमा उनीहरूलाई पहिरोले पुरेको थियो ।

यसैबीच खेलाडीका परिवारले बिहीबार एन्फा मुख्यालयमा ताला लगाएका थिए । तर, एन्फा पदाधिकारीबाट कुनै पनि प्रतिक्रिया नआएपछि उनीहरूले करिब तीन घण्टापछि ताला खोलेका थिए ।

Leave a comment

ipmSamachar is an online news platform that focuses on providing people with information on almost all national and international sectors.

 

Contact Us

DOI No.: 856/075/076

  • Phone: 01 – 5253452
  • Phone: 9849699411 | 9803507666
  • Email: ipmsamachar@gmail.com
  • Office Address: Lalitpur, Nepal
 

Our Team

  • ·Bibek Lama | Press Representative
    (Executive Director)
  • ·Ram Chandra Shrestha
  • ·Raju Miya | Chief Editor
  • ·Sahil Khadka | Video Editor
  • ·Rajan Pariyar (Dubai)

i.Phoolbari Media Network Pvt. Ltd. © 2016 – 2025. All Rights Reserved.

Sign Up to Our Newsletter

Be the first to know the latest updates

[yikes-mailchimp form="1"]