ललितपुर, शनिबार, ८ मङ्सिर २०८१ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शहीद स्मारक ‘बी’ डिभिजन लिग १३ माघबाट सुरु गर्ने तयारी गरेको छ । सातदोबाटोस्थित केन्द्रीय कार्यालयमा भएको एन्फा र क्लबका पदाधिकारीको बैठकले १३ माघबाट लिग गर्ने निर्णय गरेको हो । लिगमा सहभागी हुन क्लबले १३ मंसिरसम्म दर्ता गर्नुपर्नेछ । खेलाडी दर्ताको अन्तिम मिति २४ मंसिर रहेको छ ।
बैठकले लिगको खेल तालिका १३ पुसमा सार्वजनिक गर्ने जनाएको छ । बैठकमा १४ मध्ये १० क्लबका पदाधिकारी उपस्थित भएनन् । १० क्लबका पदाधिकारीले बक्यौता रकम नदिँदासम्म लिगमा सहभागी नहुने अडान राखेका छन् ।
असन्तुष्ट १० क्लबका पदाधिकारीले बक्यौता फर्स्यौट भएमात्र एन्फाले बोलाएको बैठकमा सहभागी हुने जनाएका छन् । दुई वर्षदेखि पटक-पटक ‘बी’ डिभिजन लिगको मिति तय गरे पनि प्रतियोगिता आयोजना हुनसकेको छैन । एन्फाले मध्यपुर युथ एसोसिएसनलाई कारबाही गरेपछि बैठक सौहार्दपूर्ण हुनसकेको छैन । एन्फाले ०७९ र २०८० मा शहीद स्मारक ‘ए’ डिभिजन लिग सम्पन्न गरेको थियो ।