गोरखा, शनिबार, ३ चैत्र २०८० । राष्ट्रिय भुमि आयोग जिल्ला समिति गोरखाले उत्तरी क्षेत्रको हुलचुकमा बसोबास गरेको भुमिहीन ८ दलित परिवारलाई लालपुर्जा बितरणको तयारी पुरा गरेको छ ।
आयोगको जिल्ला समितिले आज सदरमुकाममा पत्रकार सम्मेलन गर्दै धार्चे गाउँपालिका–१ को हुलचुकमा बसोबास गर्दै आएको ८ दलित परिवारलाई चैत्र तेस्रो साता भित्रै लालपुर्जा बितरणको तयारी पुरा भएको जानकारी दिएको हो ।
जग्गा पाउनेहरुमा धार्चे गाउँपालिका–१ हुलचुक निवासी मंगले बिक, राजु बिक, सन्ते विश्वकर्मा, आइत सिं बिक, रमेश कामी, राजन बिक, कुमार बिक र रामबहादुर कामी रहेका छन् ।
आयोगका तर्फबाट जिल्ला अध्यक्ष कमला नहर्कीले पत्रकारहरुलाई जानकारी दिदै चैत्र २ गते ७ दिने अन्तिम सूचना समेत प्रकाशन भएकोले अबको २ साता भित्रै सम्वन्धीत स्थानमा पुगेर लालपुर्जा बितरण गर्ने बताउनुभयो । उहाँले धार्चे गाउँपालिकाबाट कुल १३ जनाले जग्गा प्राप्तीका लागि आवेदन दिएकोमा ४ जनाको पुख्यौली जग्गा देखिएको र १ जनाले दावी नै गर्न नआएकोले ८ घर परिवारलाई जग्गा बितरणको लागि तयारी पुरा भएको बताउनुभयो ।
आयोगको जिल्ला समितिले ११ वटै स्थानिय तहमा भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अब्यवस्थित बसोबासीका लागि लगत संकलनका लािग २ पटकसम्म ३५ दिने सूचना जारी गरीसकेको छ । अध्यक्ष नहर्कीले जिल्ला भित्रको ११ स्थानियमा १५८ भूमिहिन दलित, १५७ भुमिहिन सुकुम्बसी र ३ हजार २१४ घर परिवार अब्यस्थित बसोबासीको लगत संकलन भएको पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो ।
आयोगले त्यस्ता परिवारलाई आवास वा कृषि खेती प्रयोजन मध्ये कुनै एक प्रयोजनका लागि मात्र जग्गा उपलब्ध गराउने गर्दछ । जस अन्तरर्गत आवासका लागि ३४० बर्ग मिटर अर्थात १० आना, २ पैसा ३ दाम र कृषि प्रयोजनका लागि ३ हजार बर्ग मिटर अर्थात ५ रोपनी, १४ आना, १ पैसा १ दाम जग्गा पाउने छन् ।