गोरखा, बिहीबार, ४ पौष २०८१ । धार्चे गाउँपालिकाले चालु आर्थिक बर्षका योजना कार्यान्वयन गर्नका लागि गठित उपभोक्ता समितिलाई अभिमुखिकरण गराउन थालेको छ । समितिका पदाधिकारीहरुलाई आइतवारबाट अभिमुखिकरण तालिम दिन सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत काजिमान सुनारले बताए ।
‘हिजो वडा नम्वर १, ३ र ७ का उपभोक्ता समितिका पदाधिकारीलाई अभिमुखिकरण गरायौँ,’ उनले भने, ‘आज वडा नम्वर २ र ६ का समिति पदाधिकारीहरुलाई तालिम दियौँ, भोलि बाँकी वडाका समितिलाई दिन्छौ ।’ उनीहरुलाई उपभोक्ता समितिको काम, कर्तव्य र अधिकार, योजना सम्झौता र भुक्तानी प्रक्रिया, डोर हाजिरी र दररेट लगायतका बारेमा अभिमुखिकरण गराइएको सुनारले जानकारी दिए ।
कार्यक्रममा प्राविधिक शाखा, योजना शाखा र लेखा शाखाका कर्मचारीका साथै प्रमुख प्रशासकीय अधिकृत सुनारले सहजिकरण गरेका थिए । यो बर्ष उपभोक्ता समिति मार्फत गर्नुपर्ने कुल १ सय १० वटा योजना रहेको पालिकाले जनाएको छ । योजना कार्यान्वयनका लागि १ सय १० वटै उपभोक्ता समिति गठन भइसकेको छ ।
तिनै समितिका पदाधिकारीहरुलाई अभिमुखिकरण गराइएको हो । उक्त योजनाहरु डेढ लाखदेखि २० लाख सम्मका रहेको सुनारले बताए । ढल निकास, सडक स्तरोन्नती, खानेपानी आयोजना, सार्वजनिक शौचालय, गोरेटो बाटो निर्माण लगायतका योजना रहेको बताइएको छ ।